coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निगमले यात्रुलाई बिचल्ली पारेको प्राधिकरणको आरोप

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान स्वीकृति नपाएको अवस्थामा यात्रुहरूलाई विमानस्थल बोलाएर नेपाल वायुसेवा निगमले बिचल्ली पारेको आरोप लगाएको छ।

क्यानले सोमबार विज्ञप्ति जारी गर्दै निगमले आइतबार अनुमति नपाएको दिल्ली उडान गर्ने भन्दै यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोलाएर अलपत्र पारेको आरोप लगाएको हो। यसका बारेमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै क्यानले निगमलाई स्पष्टीकरण पनि सोधेको जनाएको छ। निगमले आइतबार आरए २१७/२१८ काठमाडौं–दिल्ली–काठमाडौं उडान अनुमति नपाए पनि उक्त उडानका यात्रुलाई समयमै खबर गरेर वैकल्पिक व्यवस्था नगरेको र उल्टै यात्रुलाई विमानस्थलमा बोलाएर गैरकानुनी तवरबाट बोर्डिङ पास समेत उपलब्ध गराएको आरोप प्राधिकरणले लगाएको छ। प्राधिकरणका अनुसार गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थल सुरक्षा व्यवस्थाको उल्लंघन गरेको भनी निगमलाई स्पष्टीकरण सोधिएको छ।  

यस्तै प्राधिकरणले शिकागो महासन्धि तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड््डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमवली, २०५८ को पालना गर्न निर्देशन दिएको छ। प्राधिकरणको अनुमति बिना नेपालको हवाई क्षेत्रमा उडान तथा अवतरण तथा टिकट बिक्री वितरण नगर्न तथा नगराउन पनि प्राधिकरणले सम्पूर्ण वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ। निगमले यात्रुहरूलाई विमानस्थलमा बोलाएर बोर्डिङ पास समेत उपलब्ध गराइसकेपछि प्राधिकरणले अनुमति नदिँदा उडान रद्द भएको निगमका प्रवक्ता अर्चना खड्काले बताइन।  

प्रवक्ता खड्काले नेपाल नागरिक उड्डयन प्राधिकरणले जाडोयाम ९विन्टर सेड्युल० का लागि जारी गरेको उडान अनुमतिमा आइतबार र शुक्रबार दिउँसो अनि सोमबार र बिहीबार बिहानको उडानमा कटौती गरेकाले निगमले सोमबार बिहानको नियमित उडान रद्द गर्नु परेको हो।

यस्तै निगमले सोमबार नै विज्ञप्ति जारी गरी विशेष कारणले आइतबार दिउँसो र सोमबार बिहानको उडान रद्द भएको भन्दै यात्रुहरूमा परेको असुविधाप्रति दुःख व्यक्त गरेको छ।  

विज्ञप्तिमा निगमले आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहने प्रतिवद्धता समेत गरेको छ। उडान रद्द भएको कारण गन्तव्यमा पुग्न नसकेको यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबाट उडान व्यवस्थापन गरिने जानकारी विज्ञप्तिमा छ।  

पछिल्लो समय निगम र प्रधिकरण बीच आन्तरिक द्वन्द्व बढेको छ। यसले यात्रुहरू मर्कामा परेका छन्। हाल निगमले कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा दिँदै आएकोमा गत भदौ १५ मा विमानस्थल सुरक्षा समितिको बैठकले विभिन्न आपत्ति जनाउँदै वैकल्पिक कमर्सियल ग्राउण्ड व्यवस्थाका लागि क्यानलाई अनुरोध गरेको थियो।  

विमानस्थल सुरक्षा समितिले ंविमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवामा आपत्ति जनाउँदै वैकल्पिक सेवा दिने कम्पनीको व्यवस्था मिलाउन क्यानलाई अनुरोध गरेकोमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सीमित पूर्वाधार तथा संरचनागत सुविधाहरू उपयोग गरेर राष्ट्रिय ध्वजावाहकले स्तरीय सेवा प्रदान गरी ग्राउण्डिङ सेवा दिइरहेको बताए। उनले यसका लागि निगमले आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थलको आफ्नै स्तोरोन्नति सँगसँगै नेपाल वायुुुसेवा निगमद्वारा आफ्नो सेवाको स्तोरोन्नति गर्न सक्ने र सोही अनुसारका सेवा–स्तरोन्नतिका कार्यहरू भइरहेको जनाए। उनले भने ‘विमानस्थल ग्राउण्डिङ सेवा राष्ट्रिय ध्वजावाहकको नैसर्गिक अधिकार हो । आफ्नो सेवा सुविधा स्तरीय बनाउने हो। दिइरहेको सेवा खोसेर होइन ।’  

सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या र गुनासाहरू आएको कुरालाई खण्डन गर्दै कार्यकारी अध्यक्ष अधिकारीले विमानस्थल सुरक्षा समितिको उक्त निर्णयले राष्ट्रिय ध्वजावाहकलाई अनावश्यक विवादमा तानेको बताए। उनले सेवा प्रदायकलाई सेवा स्तरोन्नतिको लागि प्रेरित गरेको खण्डमा मात्र सेवाको स्तर बढ्ने हुँदा समस्याको समाधान बैकल्पिक सेवा प्रदायक नभएको बताए। 

प्रकाशित: १५ कार्तिक २०७९ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App