मिठो खाने लोभमा परम्परागत उत्पादनलाई उपभोक्ताले भुल्दै गएको पनि उनीहरु बताउँछन्। अनुसन्धानकर्ताका अनुसार कोदो, जौ, फापर, कागुनो, चिनो, लट्टे, गहत जस्ता बाली लोप हुँदै जान थालेका छन्। स्वास्थ्यवर्द्धक र अन्तर्राष्ट्रियस्तरमा समेत बजार सम्भावना रहेका यी बाल संरक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ। पर्याप्त उत्पादन गर्न सके यी बालीबाट कृषकले धेरै लाभ लिन सक्ने अनुसन्धानकर्ताले बताए।
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) का अनुसन्धानकर्ता सुजल स्थापितका अनुसार हिमाली र पहाडी भेगमा पर्याप्त उत्पादन हुने यी बाली अहिले खेती हुनै छाडेको छ। 'यी बाली मानव स्वास्थ्यका हिसाबले निकै महŒवपूर्ण छन्। 'लट्टेमा प्रयाप्त प्रोटिन पाइन्छ। त्यस्तै कागुनोको प्रयोगले रगतमा ग्लुकोजको मात्रा बढाउँछ,' उनले भने, 'गहतमा फलामको खाद्यतत्व पाइन्छ। यी बाली मानव स्वास्थ्यको लागि निकै फाइदाजनक छन्।'
उपभोक्ताका लागि उचित भए पनि पहिचान, उपयोग र अनुसन्धान नहुँदा लोप हुन लागेको उनले अनुसन्धानबाट पाएको बताए। 'हिमाली भेगमा उत्पादन हुने लट्टे शरीरको लागि निकै फाइदाजनक छ। त्यस क्षेत्रका कृषकले यसको महŒव कम बुझेकाले खेती गर्न छाडेका छन्,' उनले भने, 'जोखिममा परेका यी बाली संरक्षण गर्दै उत्पादन बढाए बजार अभाव हुँदैन। जुनसुकै बेला जहाँ पनि बेच्न सकिन्छ। नेपालमा मात्र महŒव कम भएको हो। विदेशमा ठूलो माग छ।'
उनका अनुसार पोहोर डोटीबाट करिब ३५ टन लट्टे भारत निर्यात भएकोमा अहिले ६८ टन पुगेको छ। प्रतिकिलो ५० देखि ६० रुपैयाँमा बिक्री हुने यो स्थानीयले नुनसँग साट्छन्। उनका अनुसार डोटीका १३ वटा संकलन केन्द्रमार्फत जिल्लाको लट्टे संकलन गरेर भारतमा बिक्री गरिन्छ। पछिल्लो समय भारतीय व्यापारी लट्टे खोज्दै डोटीसम्म पुग्न थालेका छन्।
लमजुङ र कास्कीमा हुने कागुनो बिस्तारै हराउँदै गएको छ। लमजुङका केही कृषकले यसको व्यावसायिक खेती गरे पनि फस्टाउन नसकेको उनले बताए। उपभोक्ताले चामलको स्वादमा भुलेर परम्परागत बाली बिर्सिंदा उत्पादनमा पनि असर पर्न थालेको स्थापितले बताए।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का प्रजनन विज्ञ मदन भट्टका अनुसार जलवायु परिवर्तनले अबका वर्ष धान, मकै, गहुँ उत्पादनमा ह्रास आउने भएकोले त्यो बेला पानी कम लाग्ने बालीको महत्व बढ्दै जानेछ। 'कम पानी भएको सुक्खा ठाउँमा फापर, कोदो, लट्टे जस्ता बाली उत्पादन हुन्छ। त्यसैले पनि भविष्यमा यिनको महत्व बढ्दै जानेछ,' उनले भने, 'जलवायु परिवर्तनले बढी पानी लाग्ने बालीको उत्पादन घट्ने हुँदा सुक्खा जग्गामा खेती हुनेको माग बढ्दै जानेछ।'
उचित मूल्य, औषधीको गुण र पोषण तत्वका लागि यी बाली निकै नै उपयोगी भएको उनको भनाइ छ। 'चिनी र वासनायुक्त खानामा अहिले उपभोक्ता पल्किएका छन्। तर यी बालीको फाइदा चिनी र वासनायुक्त भन्दा धेरै छ,' उनले भने, 'चिनीयुक्त खानाले घरघरमा मधुमेहका बिरामी उत्पादन गरिरहेको छ। त्यसैले अब उपभोक्ता सचेत हुने बेला आएको छ।'
उपभोक्ताको कम रोजाइ र स्वादमा परेका यी खाद्यबालीको दानादानामा पोषक तत्व र औषधी रहेको भट्टको भनाइ छ। 'सरकारले खाद्य सुरक्षाको लागि मात्र धान, मकै र गहुँ उत्पादनमा प्राथमिकता दिनुपरेको हो। नत्र यी बाली कम मूल्यवान छैनन्। उत्पादन गर्न सक्नुपर्योि बजार अभाव हुनेवाला छैन,' उनले भने, 'प्राथमिकतामा नपरेका यस्ता बालीको माग स्वदेशमा भन्दा विदेशमा बढी छ।'
प्रकाशित: १८ फाल्गुन २०७१ २२:२५ सोमबार





