रोङ गाउँपालिका–६ मा रहेको झन्डीडाँडा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ। करसोङ पदमार्गले छोएको, तराई र पहाडको पायक पर्ने स्थानमा रहेकाले पनि झन्डीडाँडामा पर्यटकको आउ–जाउ बाक्लिएको छ।
‘गाजलेथुम्का’ पनि भनिने झन्डीडाँडालाई करसोङ पदमार्गको मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास गरिँदैछ। १ हजार ३ सय ९६ मिटर उचाईमा रहेको यो डाँडाबाट सूर्याेदयको दृश्य चित्ताकर्षक देखिन्छ। कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला नियाल्न सकिने यो डाँडाबाट हिमालदेखि पहाड र तराईसम्मको भू–भागको दृश्य सुन्दर देखिन्छ। स्थानीय होमस्टे व्यवसायी विशाल राईले झन्डीडाँडामा अचेल इलाम, झापा र नेपालका विभिन्न जिल्लामात्र नभइ भारतको पश्चिम बंगालबाटसमेत पर्यटक आइरहेको बताए। ‘पर्यटकीय सिजन सुरु भएपछि झन्डीडाँडामा पनि पर्यटक धेरै आउन थालेका छन्,’ उनले भने, ‘पदमार्गमा यात्रा गर्दै झन्डीबाट दृश्यावलोकन गर्नु पर्यटकको रोजाइमा पर्न थालेको छ।’
असोजदेखि जेठसम्म सूर्याेदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो। चुरे क्षेत्रमा यति उचाईको डाँडो प्रायः नहुने भएकाले पनि पर्यटकमा झन्डीडाँडाप्रति आकर्षण बढेको हो। पर्यटनमा नेपालकै प्रसिद्ध मानिने कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–सहर यहाँबाट देखिन्छन्। भारतका दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदीसमेत यहाँबाट देख्न सकिने अर्का व्यवसायी प्रजुन राईले बताए।
तराई, भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पनि पर्यटक झन्डीडाँडा आउने गरेका छन्। मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा रहेको झन्डीडाँडा झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तरमा छ। कोलकाताबाट ६ सय २ किलोमिटरमा रहेको यो ठाउँ आइपुग्न बागडुग्रा विमानस्थलबाट ४३ किलोमिटर यात्रा गर्नुपर्छ। यहाँ वनभोजको पनि राम्रो सम्भावना रहेको पर्यटक बताउँछन्। मेची राजमार्गको हासपोखरीबाट पदमार्गमा यात्रा गर्दै रम्भ्याङमा बास बसेर भोलिपल्ट बिहान झन्डीडाँडाबाट दृश्यावलोकन गरी त्यही पदमार्गबाट झापा पुग्न सकिने प्रजुनले बताए। ‘पदमार्गका अन्य भागमा दर्जनौं महत्वपूर्ण ठाउँ पनि छन्,’ उनले भने, ‘हासपोखरीबाट पैदलयात्रा गर्ने पर्यटक ज्यादै खुसी भएर रम्भ्याङ आइपुग्छन् र होम–स्टेमा बास बस्छन्।’
पछिल्लो समय आन्तरिक पर्यटक धेरै आकर्षित गरिरहेको झन्डीडाँडा घुम्न आएकाहरू यहाँको सौन्दर्यमा रमाउँछन्। र, यो ठाउँको प्रशंसा गरेर फर्किने गरेका छन्। भर्खरै यहाँ आइपुगेका हरिगोपाल कर्माचार्यले झन्डीडाँडालाई ‘प्राकृतिक भ्युटावर’को उपमा दिए। उनले भने, ‘नेपालमा झन्डीडाँडाजस्तो पर्यटकीयस्थल पनि रहेछ, यो धेरैलाई थाहा नहुन सक्छ,’ उनले भने, ‘मानिसहरू लाखौं रुपैयाँ खर्चेर घुम्न भन्दै विदेश जान्छन् तर देशभित्रै रहेका यस्ता अर्गानिक ठाउँमा केही सय रकम खर्चिन सक्दैनन्।’ उनले झन्डीडाँडा घुम्न पाउँदा अत्यन्त मोहित भएपछि सामाजिक सञ्जालमा समेत झन्डीडाँडाबाटै प्रत्यक्ष भिडियो प्रसारण गरेका थिए। तराईतिरबाट विद्यालय समूह, युवा समूह, देउसी समूहहरू दिनभरिको गर्मी छल्न र वनभोज खान ट्र्याक्टर, पिकअप र जिप लिएर आउन थालेका छन्।
झन्डीडाँडा वनभोज, खेलकुद, साहसिक खेललगायतका लागि पनि सम्भावनायुक्त छ। गतवर्ष यहाँ गरिएको प्याराग्लाइडिङको परीक्षण सफल भएको छ। प्याराग्लाइडिङले चाहिँ झापा र इलामकै पर्यटनलाई जोड्ने स्थानीय व्यवसायी बताउँछन्। झन्डीडाँडाबाट प्याराग्लाइडिङमा चढी मिनी माउन्टेन झर्ने रुट बन्नसके त्यहाँबाट झापाका सुविधासम्पन्न होटल पुगेर बास बस्न सकिने सम्भावना छ।
झन्डीडाँडा स्थानीय किरात राईको इतिहाससँग जोडिएकाले यहाँ सांस्कृतिक पर्यटनको सम्भावना पनि देखिएको छ। किरातका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रूपमा झन्डीडाँडालाई लिइन्छ। स्थानीय जानकार रन्जित राईका अनुसार उहिले किरातीहरूले उँधौली, उँभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा सकेर यहाँ ध्वजापताका गाढ्ने चलनले डाँडाको नाम नै झन्डीडाँडा रहेको हो। किरात समुदायले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्नेगरेको छ।
रोङ गाउँपालिकाले केही वर्षयता यो क्षेत्रमा पदमार्गको पूर्वाधार विकास गरेको हो। पदमार्गका विभिन्न २० ‘पोइन्ट’लाई महत्वका साथ आकर्षक बनाउने योजना गाउँपालिकाको छ। यी पोइन्टमध्ये झन्डीडाँडा मुख्य पोइन्टका रूपमा रहेको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले बताए। झन्डीडाँडामा धरहराको संरचना तयार गरिएको छ। डाँडासम्म पुग्ने ठाउँमा सिँढी र रेलिङ बनाइएको छ। प्रतीक्षालय बनाइएको छ भने बिजुली, पानी र शौचालयको सुविधा थपिएको छ। ‘समुद्री सतहको ५ सय मिटरदेखि एक हजार ८ सय मिटर उचाईसम्ममा निर्माण गरिएको करसोङ पदमार्गमा पर्ने मुख्य गन्तव्य नै झन्डीडाँडा हो,’ अध्यक्ष स्याङ्बोले भने, ‘पर्यटकलाई एड्भेन्चर टुरिज्मको अनुभव गराउन यो पदमार्ग र गन्तव्यहरूको पूर्वाधार विकास गरिँदैछ।’ यहाँको पूर्वाधार विकासका लागि संघीय सरकारले समेत लगानी गरेको छ।
गाउँपालिकाले झन्डीडाँडा क्षेत्रमा रक क्लाइम्बिङ, जिपलाइन र प्लाराग्लाइडिङजस्ता साहसिक खेलका लागि लगानी सम्मेलन नै आयोजना गर्ने जनाएको छ। लगानी बोर्डले यो क्षेत्रका लागि ‘बिजनेस प्लान’ बनाउँदैगरेको अध्यक्ष स्याङ्बो बताउँछन्। करसोङ पदमार्गमा हासपोखरी, गुगल पोइन्ट, देवानगढी, गिद्धेभिर, दैले, हल्लने ढुंगा, धजे भञ्ज्याङ, चिलाउने गोलाई, पाण्डव डोल, सत्तालसिंह टाकुरा, गुरदुमडाँडा, खालिङ्गा, गोकुलटार, निन्दा गेट, जस्केलो सामुदायिक होम–स्टे, भीमसेन ढुंगा र ब्युटी बोर्डर पनि २० पोइन्टभित्र छन्।
यो पदमार्गमा झापा र भारतका पर्यटकसमेत रमाइलै रमाइलो ठाउँ भएर कन्यामसम्म आउन–जान सक्छन्। यही रुटमा अहिले पनि साइकल गुडाएर झापादेखि पाथीभरा मन्दिर आउ–जाउ गर्न सकिन्छ। यसलाई ‘माउन्टेन बाइक ट्रेल’का रूपमा अघि सारिएको अध्यक्ष स्याङ्बोले बताए।
गाउँपालिकाको वडा ६ वडाध्यक्ष सत्यम राईले कृषि र संस्कृतिलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्नेगरी पदमार्गको योजना ल्याइएको र मुख्य पोइन्ट चाहिँ उनकै वडामा रहेको झन्डीडाँडा नै भएको बताए। उनले २९ किलोमिटर पदमार्गमध्ये करिब १९ किलोमिटर तयार भइसकेको पनि जानकारी दिए। ‘यो पदमार्ग निर्माण सम्पन्न हुँदा रोङ गाउँपालिका र इलाम जिल्लामात्र नभइ झापासमेतलाई पर्यटनमा फाइदा पुग्छ,’ उनले भने, ‘विशेषगरी कृषि र पर्यटनलाई जोड्नु हाम्रो लक्ष्य हो।’ उनले झन्डीडाँडाले पर्यटक आकर्षित गर्दा सँगै रहेका रम्भ्याङ र सलकपुरलाई प्रत्यक्ष फाइदा पुग्ने बताए।
प्रकाशित: १२ कार्तिक २०७९ १२:२२ शनिबार