९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

फूलमा आत्मनिर्भर हुँदै: तिहारमा ९० प्रतिशत माला स्वदेशी

अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ। नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ।

विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थान भएको हो। मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ। भाइटीका (तिहार) मा करिब २४ लाख माला बिक्री हुने अनुमान छ। करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मिनबहादुर तामाङले बताए। ‘मुलुक फूल मालामा क्रमशः आत्मनिर्भर हुँदैछ,’ तामाङले भने, ‘यो वर्षको तिहारमा बिक्री हुनेमध्ये ९० प्रतिशत स्वदेशी हो।’ फ्यानका अनुसार घरायसी प्रयोजनका लागि लगाइएको फूल र मालाको विवरण यसमा समावेश गरिएको छैन। तिहारमा मखमली र सयपत्री मालाको माग उच्च हुन्छ।

सरकारले कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने बताइरहँदा करिब ३ लाख माला भने विदेशबाट आयात हुने फ्यानले जनाएको छ। सयपत्री मालाको होलसेल मूल्य ५० देखि ५५ रूपैयाँ गोटामा बिक्री भएको छ भने खुद्रा मूल्य ९० देखि १ सय रूपैयाँमा बिक्री भएको छ। त्यसैगरी, मखमली माला होलसेल गोटाको ४० देखि ५० रूपैयाँ र खुद्रा ७० देखि ८० रूपैयाँमा कारोबार भइरहेको फ्यानले जनाएको छ। गत आर्थिक वर्ष ०७८/७९ मा नेपालमा करिब सवा २ अर्ब रूपैयाँको फूल मालाको कारोबार भएको थियो। कोभिडपछि फूलको कारोबारमा केही कमी आएको छ। आव ०७७/७८ मा २ अर्ब ६३ करोडको कारोबार भएको थियो।

मुलुकमा १ सय ६० हेक्टरमा फूल खेती गरिँदै आएको छ। फूलखेतीमा करिब ४५ हजारले रोजगार पाएका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ लगायत ४१ जिल्लामा पुष्पखेती भएको छ। नेपालमा व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल पाइन्छ।

यतिखेर किसानलाई फूलका माला बेच्न भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै किसानलाई बारीमा रोपेको मखमली, सयपत्री, गोदाबरीलगायत फूल टिपेर माला बनाएर बजारमा बेच्छन्। काठमाडौं उपत्यकामा पनि फूल खेती फस्टाउँदै गएको छ। भक्तपुरको ताथली र गुन्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, बागेश्वरी लगायत ठाउँमा पनि फूल खेती गरेका छन्। चितवन, मकवानपुर, धादिङ लगायत जिल्लामा पनि खेती हुन्छ। मकै, बोडी, भटमास लगायत गेडागुडी बारीमा मखमली फूल रोप्न मिल्ने भएकाले किसानले लाभ लिएका छन्।

किसानले फूल बेचेर ५० हजारदेखि ३ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको भक्तपुरका किसान बताउँछन्। केही माला विदेशबाट आयात भए पनि विदेश पनि निर्यात हुने गरेको छ। यहाँ उत्पादन भएको मखमली फूलको माला अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा लगायत देशमा निर्यात हुने गरेको छ। नेपालमा आयात हुने फूल भारत, अमेरिका, चीन लगायतका देशबाट आउने गरेको छ।

माला आयातमा रोक

स्वदेशी फूल उत्पादनले मुलुक मालामा आत्मनिर्भरताको बाटोमा हिँडिरहेको बेला विदेशबाट फूल आयात भएर किसान मर्कामा पर्न सक्ने देखिएपछि सरकारले सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाएको छ।

धमाधम माला भारतबाट आयात भएपछि सयपत्री फूलका मालाको आयातमा रोक लगाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालय माताहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको जनाएको छ। भारतबाट माला धेरै आयात हुने देखेपछि फ्यानले माला आयातमा रोक लगाउन लविङ गरिरहेको थियो। यसले यहाँका किसानलाई राहत भएको छ। ‘विदेशी माला आयात बन्द गर्न अनुरोध गरेका थियौं,’ अध्यक्ष तामाङले भने, ‘सरकारले हाम्रो मागको सुनुवाई गरेको छ।’

पुष्प मेला: ४४ हजारद्वारा अवलोकन

काठमाडौं-फूलको व्यापार प्रवर्द्धन गर्न आयोजना गरिएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतवार सम्पन्न भएको छ। नेपाल फ्लोरिकल्चर एशोसिएसन(फ्यान ) र पुष्प प्रवर्द्धन केन्द्रले संयुक्त आयोजनामा गरेको प्रदर्शनीमा ४४ हजारले अवलोकन गरेको आयोजकको दाबी छ। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासहित प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमा करिब ८२ लाख रूपैयाँको कारोबार भएको फ्यानका अध्यक्ष तामाङले बताए।

ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरिएको प्रदर्शनीमा ४९ औं व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल र ४ वटा सूचनामूलक स्टल गरी ५५ वटा प्रदर्शनी कक्ष राखिएको थियो। प्रदर्शनीमा सहभागी नर्सरी फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ।  

प्रकाशित: ७ कार्तिक २०७९ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App