१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कर्णाली र कोसी कोरिडोरको ट्रयाक खन्ने काम अझै सकिएन

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तरदक्षिण लोकमार्ग अन्तर्गतका कर्णाली कोरिडोर र कोसी कोरिडोरको ट्रयाक खन्ने कामले गति लिन सकेको छैन। एक दशक अघिदेखि कर्णाली र कोसी कोरिडोरमा ट्रयाक निर्माण गर्ने काम सुरू गरिए तापनि अहिलेसम्म ट्रयाक  खन्ने कामको गति निकै सुस्त देखिन्छ। सरकारले उत्तर-दक्षिण (कर्णाली कोरिडोर) लोकमार्ग अन्तर्गत खुलालु (सिमिकोट)-हुम्ला खण्डमा करिब १९६ किलोमिटर र हिल्सा-सिमिकोट खण्डमा (हुम्ला) ८८ किलोमिटर ट्रयाक  सडक निर्माण गर्ने लक्ष्य राखेको थियो।

यो आयोजना आर्थिक वर्ष २०६९/७० देखि सुरू भई आर्थिक वर्ष २०७९/८० मा सम्पन्‍‌न हुने लक्ष्य राखिएको छ तर तोकिएको समयभित्रै यो खण्डको ट्रयाक निर्माण हुने देखिँदैन। कर्णाली करिडोर अन्तर्गत ६ किलोमिटर ट्रयाक खन्ने काम अझै बाँकी छ। सरकारले यो कोरिडोर अन्तर्गत २ सय ६९ किलोमिटर ट्रयाक खन्ने लक्ष्य राखेको थियो तर अहिलेसम्म २ सय ६३ किलोमिटर सडक खण्डको ट्रयाक खुलेको छ।

भौगोलिक जटिलताको कारणले पनि सोचेअनुरूप ट्रयाक खन्ने कार्यले गति लिन सकेको छैन। उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय आयोजना निर्देशक श्यामबहादुर खड्काले भौगोलिक विकटता र हिउँपर्ने मौसमको कारणले पनि ट्रयाक खन्ने काम सोचेअनुसार प्रगति हुन नसकेको बताए।

‘पहाडी भीरपहिरोमा ट्रयाक खन्ने काम निकै जटिल प्रकृतिको हुने गर्छ,’ उनले भने–‘अर्काेतर्फ हिउँद याममा हिउँ पग्लिएर पनि ट्रयाक खन्ने काममा समस्या उब्जिने काम गर्छ ।’ आयोजनाका निर्देशक खड्काले ट्रयाक खन्ने कामलाई प्रथामिकतामा राखेर अघि बढाउने दाबी गरे। सरकारले कर्णाली करिडोर अन्तर्गतको हिल्सा-सिमिकोट खण्डको ट्र्याक निर्माण गर्ने ठेक्का नेपाली सेनालाई दिएको छ।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म कर्णाली कोरिडोरको समष्टिगत भौतिक प्रगति ३१.२० प्रतिशत रहेको छ। यो कोरिडोरमा हालसम्म एक अर्ब २९ करोड अर्थात् ३१.४६ प्रतिशत वित्तीय खर्च भएको छ। २ सय ६९ किलोमिटरमध्ये अहिलेसम्म २६३ किलोमिटर सडक खण्डको ट्रयाक खुलिसकेको छ। खुलालु-सल्लिसल्ला १२३ किलोमिटर नेपाली सेनाले खनेको हो। कर्णाली कोरिडोर आयोजनाले गत आवमा १० किलोमिटर ट्रयाक खन्ने र २ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा ६ किलोमिटर ट्रयाक खन्ने काम र एउटा पुल निर्माणको काम सकिएको छ।

कर्णाली करिडोर आयोजनाको लागि गत वर्षमा ३९ करोड ३८ लाख ४२ हजार रूपैयाँ बजेट विनियोजन गरिएकोमा सो अवधिमा १६ करोड ५२ लाख रूपैयाँ बजेट खर्च भएको थियो।

ठेक्का सम्झौतामा यो आयोजना आर्थिक वर्ष २०६५/६६ मा सुरू भई आर्थिक वर्ष २०७०/७१ मा सम्पन्‍‌न हुने लक्ष्य राखिएकोमा अहिले आर्थिक वर्ष २०७९/८० मा सम्पन्‍‌न हुने गरी म्याद थप गरिएको छ। तैपनि आयोजनाको प्रगति उत्साहजनक देखिएको छैन।

कोसी कोरिडोरको १२ किलोमिटर ट्रयाक खन्नै बाँकी

सरकारले कोसी कोरिडोर अन्तर्गत खाँदबारीदेखि किमाथांकासम्मको १६२ किलोमिटर सडकको ट्रयाक खोलेर स्तरोन्नति गर्ने लक्ष्य राखेको थियो। यो कोरिडोरको हालसम्मको समष्टिगत भौतिक प्रगति ३८.६० प्रतिशत भएको छ। कोरिडोरको हालसम्म ४ अर्ब २८ करोड अर्थात् ३५.८७ प्रतिशत वित्तीय प्रगति भएको छ। १ सय ६२ किलोमिटरमध्ये अहिलेसम्म एक सय ५० किलोमिटर सडकको ट्रयाक खन्ने काम सकिएको छ।

त्यसैगरी यो खण्डको ५५ किलोमिटर सडक ग्राभेल भइसकेको छ। यो सडक अन्तर्गत ८ वटा पुलको निर्माण सम्पन्न भएको छ। बाँकी रहेको १२ किलोमिटर सडकको ट्रयाक खन्ने काम नेपाली सेनाले गरिरहेको छ।

कोसी कोरिडोरले गत आर्थिक वर्षमा ८३ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोमा सो अवधिमा ८४ प्रतिशत अर्थात् ७० करोड रूपैयाँ खर्च गरेको थियो। कोसी कोरिडोरले गत आवमा १० किलोमिटर सडक ग्राभेल र ४ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा भने ५ किलोमिटर सडक ग्राभेल र ४ वटा पुल निर्माणको काम सम्पन्न भएको छ। यो आयोजनाले तेह्रथुम जिल्लाको बसन्तपुरदेखि उत्तरी सिमाना किमाथांकासम्म १ सय ६२ किलोमिटर सडक निर्माण एवं स्तरोन्‍नति गर्ने लक्ष्य लिएको छ।  

प्रकाशित: ३१ आश्विन २०७९ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App