१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनकोसी मरिन आयोजनाको सुरुङ खन्न थालियो

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टिबिएम)बाट सुरुङ खन्न शुक्रबारदेखि सुरुवात गरिएको छ। तोकिएको समयभन्दा झण्डै डेढ वर्ष ढिलो गरी टिबिएम मेसिनबाट आयोजनाको सुरुङ खन्न थालिएको हो।  

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बरालले टिबिएम मेसिन जडान गरेर शुक्रबारदेखि आयोजनाको १३.३ किलोमिटर सुरुङ खन्ने काम सुरुवात गरिएको बताए।

‘दुई वर्षभित्रै १३.३ किलोमिटर सुरुङ सम्पन्न गर्ने लक्ष्यसहित खन्ने काम सुरु गरेका छौं,’ उनले भने ‘यो मेसिनले मासिक ५ सय मिटर सुरुङ खन्ने लक्ष्य राखिएको छ।’ चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले तोकिएको समयभित्रै टिबिएम ल्याउन नसक्दा आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको थियो।  

निर्माण व्यवसायी र आपूर्तिकर्ता विदेशी कम्पनीबीचको सम्झौता अनुसार खरिद आदेश भएको १५ महिनाभित्र उक्त मेसिन आपूर्ति गर्ने व्यवस्था रहेको थियो। आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९ को मे मा ठेक्का सम्झौता भएको थियो। कोभिड १९ को कारणले टिबिएम मेसिन निर्माण गर्न र नेपाल भित्र्याउन नसक्दा आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको थियो। ठेक्का सम्झौता १३.३ किलोमिटर लामो सुरुङ सन् २०२५ को अगष्ट अर्थात् ५२ महिनाभित्र निर्माण गर्ने सम्झौता भएको थियो। यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ। आयोजना र चिनियाँ ठेकेदार कम्पनीबीच मूल्यअभिवृद्धिकर भ्याटबाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। त्यसैगरी आयोजनाको हालसम्म साढे तीन अर्ब रूपैयाँ खर्च भइसकेको छ। सिन्धुलीस्थित मरिन खोलामा खसाइ रौतहट र सर्लाहीको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु‍र्याउने तथा ३१ मेगावाट विद्युत् उत्पादनसमेत गर्ने उद्देश्यले २०७३ सालमा सुरु गरिएको थियो।

मन्त्रिपरिषद्को २०७६ माघ ६ गते बसेको बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो।आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रूपैयाँ रहेको छ। महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले टिबिएम मेसिन ल्याउन ढिलासुस्ती भएकाले सुरुङमार्ग निर्माणको समय र लागत बढ्ने हुँदा सम्झौताअनुसारको अवधिमा टनेल निर्माण कार्य सम्पन्न गर्न आयोजना व्यवस्थापनको ध्यान दिनुपर्ने औंल्याएको थियो।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते आयोजनाको शिलान्यास गरेका थिए। आयोजनाको प्याकेज दुईमा हेडवक्र्स, पावरहाउस, सर्टसाफ्ट, विपी राजमार्गमध्ये एक किलोमिटर सडक लगायतका पूर्वाधार निर्माणको लागि ठेकेदार कम्पनीको पूर्व योग्यता छनोटको काम भइरहेको जनाएको छ।  

आयोजनाले आगामी पुस महिनासम्म योग्य ठेकेदार कम्पनीको छनोट गर्ने समयसीमा तोकेको छ । यसमा ठेकेदार कम्पनीको प्राविधिक मूल्यांकन मात्रै गरिन्छ।  

प्राविधिक मूल्यांकनमा छनोट भएका कम्पनीमध्येबाट आर्थिक प्रस्तावमा छनिएको कम्पनीले मात्रै ठेक्का हात पार्नेछ । आयोजनाले हेडवक्र्स, पावरहाउस लगायतका पूर्वाधार निर्माणका लागि २५ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। 

प्रकाशित: ३० आश्विन २०७९ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App