संघीय राजधानी काठमाडौंमा आगामी कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ। काठमाडौंको बानेश्वर बेक्वेटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरूको सहभागिता रहनेछ।
लिभिङ विथ आइसिटीले यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढी स्टार्टअप तथा आइडियाहरूलाई छनौट गरिसकेको छ। काठमाडौंमा आयोजना हुने स्टार्टअप फेस्ट यस वर्षको आठौं कार्यक्रम हो। जसमा काठमाडौं बाहिरका ४० बढी स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ सहित १०० बढी स्टार्टअप, प्रोडक्ट र इन्नोभेसनहरूले सहभागिता जनाउने छन्। यस फेस्टमा विभिन्न संस्थाहरूले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरू समेत प्रदर्शनमा रहनेछन्। काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढी स्टार्टअप र आइडियाका संस्थापकहरूलाई किंङ्स कलेजले ३ दिनको बुटक्याम्प सञ्चालन गर्नेछ।
यसैगरी विभिन्न आइटी कम्पनीमा भिजिट र मेन्टरिङका सेसनहरू पनि सञ्चालन हुनेछन्। फेस्टमा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूले पनि सहभागिता जनाउनेछन्। उनीहरूलाई अवलोकनकर्ताले प्रत्यक्ष भोटिङ गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ।
उत्कृष्ट ५ को छनौटको लागि उनीहरू सोही दिनको प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसनमा पनि सहभागी हुनेछन्। स्टार्टअप तथा इन्नोभेसनहरू वेवसाइट मार्फत दर्ता गर्न सकिने प्रबन्ध गरिएको छ।
उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटिएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन्।
उत्कृष्ट १२ प्रडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सीआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कुल वक्र्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन्।
विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याट्रब, कमर्सियालाइजेसन अफ अटोनोमस इगल आई अन म्यान्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारङ्ग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली पर्न सफल भएका छन्।
प्रकाशित: २८ आश्विन २०७९ ०४:१६ शुक्रबार