१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नागढुंगा–नौबिसे सुरुङ मार्गमा पहिरो

निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङ मार्गअन्तर्गतको फिनिसिङ भइसकेको खण्डमा करिब एक सय मिटर आन्तरिक पहिरो (इन्टर्नल टनेल स्कुजिङ) गएको छ।

आयोजनाका अनुसार यसअघि नै सुरुङ खनेर फिनिसिङ गरिसकेको मुख्य सुरुङ मार्ग र वैकल्पिक (इभाक्युसन) तर्फ गरी करिब एक सय मिटर आन्तरिक पहिरो गएको हो।  

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर माधवप्रसाद अधिकारी निर्माणाधीन सुरुङ मार्गमा स्कुजिङ (आन्तरिक पहिरो) गएकाले निर्माण अवधि केही समय लम्बिने बताउँछन्। ‘पहिला सुरुङ खनेर फिनिसिङ गरिसकेको ठाउँमा एक सय मिटरजति इन्टर्नल पहिरो गएको छ,’ उनले भने, ‘फिनिसिङ गरिसकेको भागमा पहिरो गएकाले सुरुङको साइज बढेको छ। यसअघि राखेको सपोर्ट सिस्टम कामै नलाग्ने भएको छ। त्यसैले पनि अब नयाँ सपोर्टिङ सिस्टम राखेर सुरुङलाई जोगाउनुपर्ने अवस्था आएको छ।’  

अधिकारीले पहिरो गएको खण्डको सुरुङको सपोर्टिङ सिस्टमका लागि आवश्यक उपकरण तथा निर्माण सामग्री थाइल्यान्डबाट मगाउनुपर्ने भएकाले केही समय लाग्ने बताए। ‘निर्माण कम्पनीले थाइल्यान्डबाट उपकरण तथा निर्माण सामग्री मगाएर आवश्यक सपोर्टिङ सिस्टम तयार पार्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसका लागि निर्माण कम्पनीले आवश्यक उपकरण तथा निर्माण सामग्रीको आयात र अन्य प्रक्रिया पूरा गर्न केही समय बढी लाग्ने देखिन्छ।’  

अधिकारीले सुरुङ मार्गमा आन्तरिक समस्या आएसँगै तोकिएको समयसीमाभित्रै सुरुङमार्ग निर्माण सम्पन्न नहुने सम्भावना बढेको बताए। ‘आन्तरिक पहिरो गएसँगै आयोजनाको म्याद अनौपचारिक रूपमा ९÷१० महिना थप गर्नुपर्ने निर्माण कम्पनीको भनाइ छ। अहिलेसम्म आधिकारिक रूपमा महिना तोकेरै यति थप गर्न भनेर निवदेन दिएको अवस्था छैन,’ उनले भने, ‘निर्माण कम्पनीबाट आवश्यक क्षतिको अध्ययन गरेर सम्भवतः छिट्टै म्याद थप गर्न प्रस्ताव हुनेछ।’

सुरुवाती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्छ। पछिल्लो समय देखिएको समस्याका कारणले यो आयोजना तोकिएको समयसीमाभित्रै नबन्ने लगभग निश्चितजस्तै भएको छ। सुरुङ मार्गमा क्षति भएसँगै यसको लागत र समयसीमा दुवै बढ्ने भएको छ। आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर अधिकारीले सुरुङ मार्गमा क्षति भएसँगै आयोजनाको लागत एकदेखि दुई प्रतिशत र आयोजना निर्माण अवधि पनि बढ्न सक्ने बताए।

मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म १५ सय ९३ मिटर खन्ने काम भएको छ। आयोजनाले मंगलबार सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार मुख्य सुरुङको काठमाडौंतर्फ ७ सय ८३ मिटर र धादिङतर्फ ८ सय १० मिटर खनिएको छ। इभाक्युएसन टनेलतर्फ १७ सय ९९ मिटर खनिएको छ। जसमध्ये काठमाडौंतर्फ ९६६ मिटर र धार्दिङतर्फ ८ सय ३२ मिटर खनिएको हो। आयोजनाका अनुसार मुख्य सुरुङ मार्ग, इभाक्युएसन टनेल, वर्किङ अडिट र क्रस प्यासेजतर्फको मात्रै भौतिक प्रगति ६५.३० प्रतिशत भएको छ। टनेलको भुइँ ढलान भने ७ सय ९३ मिटर अर्थात् २८.२० प्रतिशत सकिएको छ। आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ४४ प्रतिशत र समष्टिगत वित्तीय प्रगति ४७ प्रतिशत छ।

धादिङ र काठमाडौंतर्फ ५–५ सय मिटर सडक, दुई फ्लाइओभर र सुरुङ मार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ।  

यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। सुरुङ मार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङ मार्गको शिलान्यास गरे पनि सुरुङ खन्ने काम झण्डै १४ महिनापछि सुरु भएको थियो।

प्रकाशित: २६ आश्विन २०७९ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App