केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन्। राजनीति शास्त्रमा स्नातकोत्तर गरेका लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन्।
तीन वर्षअघि आधिकारिक रूपमा व्यावसायिक फार्म (मुन्धुम भेडापालन फार्म) दर्ता गरेर भेडापालन शुरू गरेका लक्ष्मणको फार्ममा अहिले २५० भेडा छन्। रु. २० लाखमा एक सय ८० भेडाको मल्ला खरिद गरेर व्यावसायिक भेडापालन शुरू गरेका उनको फार्मबाट वार्षिक आम्दानी रु. १० लाखभन्दा बढी हुने गरेको बताइएको छ।
२०५८ देखि राजनीतिमा समेत सक्रिय रहेका लक्ष्मण अहिले ३७ वर्षको भए। नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीको जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्म भएका लक्ष्मण अहिले नेकपा (माओवादी केन्द्र) केपिलासगढी गाउँपालिका कार्यसमितिका सचिव पनि हुन्।
‘राजनीतिलाई पेशा हैन, सेवा गर्ने माध्यम बनाउनुपर्छ,’ भन्ने सन्देश युवा पुस्तालाई दिने लक्ष्मणलाई आफ्नै दुई भाइले समेत सहयोग गर्दै आएका छन्। बुबा तीर्थमणि र आमा गोरी साम्पाङका जेठा छोरा लक्ष्मणलाई २८ वर्षीय भाइ किशोर र २२ वर्षीय भैराज साम्पाङले सहयोग गर्दै आएका हुन्। किशोरले एसएलसी र भैराजले एसइई गरेका छन्।
भेडापालनबाट राम्रो आम्दानी हुने देखेपछि पछिल्लो समय युवा पुस्तामा विदेश जानुभन्दा यहीं बसेर व्यवसाय गर्ने सोच बढ्न थालेको छ। उनीहरू तीन दाजुभाइसँगै फेदीकै स्थानीयवासी २५ वर्षीय तीलविक्रम राई र १९ वर्षीय कल्याण राईसमेत पछिल्लो समय उक्त फार्ममा आबद्ध भएर व्यावसायिक भेडापालनमा लागेका छन्।
उनीहरु पाँचै जना अहिले पालैपालो भेडीचोकमा बसेर आफ्ना भेडाको हेरचाहमा जुट्ने गरेका छन्। उनीहरूको भेडीचोक हिउँदको समयमा बेंसी क्षेत्रको रावा फाँट तथा स्थानीय बासिन्दाको खेतबारी र वर्षाको समयमा लेकाली क्षेत्र मयुङका फाँटहरूमा चरनका लागि पुर्याउने गरिएको छ।
भेडीचोक बेंसी झरेको समयमा आफ्नो खेतबारी मल्न भेडीचोक राख्न स्थानीय बासिन्दाले तँछाडमछाड गर्ने गर्दछन्। भेडाको मल अरूको भन्दा कडा र मलिलो हुने भएकाले लेकाली क्षेत्रमा राखिएका भेडीचोकहरूमा पुगेर स्थानीय बासिन्दाले भेडाको बर्कुला समेत ल्याएर आफ्नो खेतबारीमा लगाउने गरेका छन्।
भेडापालनका लागि जिल्लाको वातावरण उपयुक्त तथा पर्याप्त मात्रामा घाँसे मैदानहरू रहेकाले आधिकारिक रूपमा फार्म दर्ता गरेर व्यावसायिक भेडापालन शुरू गरिएको लक्ष्मण बताउँछन्। ‘भेडाको साँढ, पाठापाठी, ऊन र घिउ चोकबाटै बिक्री हुन्छ। अन्य पशुपालनभन्दा भेडा पाल्न सजिलो र छिटो समयमै राम्रो आम्दानी समेत दिन्छ’, लक्ष्मणले भने, ‘श्रम अर्थात् व्यवसाय गर्न कुनै पनि सजिलो भने छैन। श्रमलाई सम्मान र आफूले गरेको पेशा तथा व्यवसायमा आत्मसन्तुष्टि लिन सक्नुपर्छ।’
स्नातकोत्तर गरेको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमा चाहना रहे पनि उनीहरूको चाहना विपरीत आफू भेडापालन व्यवसायमा लागेको लक्ष्मणले बताए। ‘सानैदेखि राजनीतिमा लागियो। म स्वतन्त्रतामा रमाउने मान्छे। सरकारी जागिरमा स्वतन्त्रता हुँदैन’,उनले भने। अहिले धेरै व्यक्तिले राजनीतिलाई पेशा बनाएकामा असन्तुष्टि जनाउँदै उनी भन्छन्, ‘राजनीति पेशा हैन, सेवा गर्ने माध्यम हो। सेवा गर्न आर्थिक अवस्था राम्रो हुनुपर्छ। कुनै पनि व्यक्तिको आम्दानी राम्रो नभई राजनीति सम्भव छैन। राजनीतिलाई अगाडि बढाउन जोसुकैको पनि आम्दानी स्रोत हुनैपर्छ। भेडापालन व्यवसायबाट आएको आम्दानी घर खर्च र राजनीतिमा लगानी गर्दै आएको छु।’
जिल्लामा एउटा भेडाको साँढ रु. ५० हजारसम्म, मासु प्रतिकेजी रु. आठ सय, ऊन प्रतिकेजी रु. पाँच सयसम्म र घिउ प्रतिकुरुवा रु. चार हजारसम्ममा बिक्री हुने गरेको छ। जिल्लामा उत्पादित भेडाको साँढ, ऊनबाट बनेका विभिन्न प्रकारका राडीपाखी र घिउ जिल्लाबाहिर निर्यात हुने गरेको छ। भेडाको घिउ औषधिजन्य प्रयोजनमा समेत उपयोग गर्ने गरिन्छ।
फेदीकै पृथीराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रवीण गुरुङ, सोही नगरपालिका–१० खार्मीका शशिकुमार राई, वडा नं १२ जापलाका इन्द्रमान राई, वडा नं १३ नुनथलाका गोपाल राई लगायतका युवाले पनि जिल्लामा व्यावसायिक रूपमा भेडापालन शुरू गरेका छन्। खार्मीका ३६ वर्षीय शशिकुमारले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर पाँच वर्षपछि गाउँ फर्किएपछि व्यावसायिक रूपमा भेडापालन शुरू गरेका हुन्।
विदेशमा अरूको खटनमा काम गर्नुभन्दा आफ्नै देशमा स्वतन्त्रतापूर्वक परिश्रम गर्ने सोचले विदेशबाट फर्किएर आएपछि भेडापालन व्यवसाय शुरू गरेको शशिकुमारले बताए। ‘अरूको देशमा जत्तिको दिनरात नभनी खट्ने हो भने आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘विदेशमा सिकेको सीप तथा समयको महत्त्व व्यवहारमा उतार्न आफ्नै देशमा आएर भेडापालन व्यवसाय शुरू गरेको हुँ। आफ्नो देशमा स्वतन्त्रतापूर्वक आफ्नो अनुकूलमा श्रम गर्न पाउँदा गर्व लागेको छ। सोचेभन्दा आम्दानी पनि बढी नै भइरहेको छ।’
जिल्लामा भेडापालन व्यवसाय संकटमा पर्दै गएको अवस्थामा पछिल्लो समय युवा पुस्ताले यस व्यवसायलाई व्यावसायिक रूप दिन थालेपछि आशा जागेको छ। परम्परागत प्रणालीमा पालिंदै आइएको भेडापालन व्यवसायलाई युवापुस्ताले आधुनिक रूप दिएका छन्। उनीहरूले भेडाका लागि भेडीचोक (भेडा तथा आफू बस्ने ठाउँ) सुधार, भेडाका लागि आवश्यक औषधि उपचारको व्यवस्था, नश्ल सुधार (उन्नत जातका पाठापाठी उत्पादन गर्न अपनाइने विधि) तथा भेडाको बीमा समेत गर्ने गरेका छन्। यति मात्र नभई उनीहरूले व्यावसायिक भेडापालन गर्दा अपनाउनुपर्ने विधि तथा सावधानी लगायतका विषयमा विभिन्न ठाउँ पुगेर विज्ञबाट तालिम समेत लिएका छन्।
जिल्लामा यसअघिसम्म गुरुङ समुदायले मात्र व्यावसायिक रूपमा भेडापालन गर्दै आएकामा अहिले सबै जातजातिले पाल्न थालेका छन्। थोरै संख्यामा रहेको गुरुङ समुदायका युवा पुस्ता वैदेशिक रोजगारीको सिलसिलामा विदेश पलायन हुनुका साथै बुढापाकाहरूको हातखुट्टा चल्न छाडेपछि भेडापालन व्यवसाय संकटमा पर्दै गएको थियो।
चरन क्षेत्रको अभावका कारण अधिकांशले भेडापालन व्यवसाय छाडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृष्ण गुरुङले बताए। ‘हाम्रा पुर्खाहरूले लेकाली क्षेत्रको हिमालपारिसम्म तथा उदयपुरको चारकोसे झाडीसम्म भेडीचोक पुर्याउने गर्नुहुथ्यो’, कालिका मावि नेर्पाका शिक्षक समेत रहेका गुरुङले भने, ‘पछिल्लो समय सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जले चरन क्षेत्र प्रतिबन्ध गरेको छ। चरन अभावकै कारण अधिकांशले आफ्नो पुख्र्यौली पेशा छाड्दै गएका छन्। पछिल्लो समय आफ्नो संस्कार जोगाउन मात्र एकदुई वटा भेडा पाल्ने गरिएको छ।’
व्यावसायिक भेडापालनका लागि जिल्लाका मयुङ, टेम्के, सेल्मे, रुपाकोट, मेरुङ, रावाढाप, साप्सुढाप, गर्जुरेढाप, मुडे, तावाभञ्ज्याङ, खिदिमाको माथिल्लो भाग, कपासेभञ्ज्याङ लगायतका ठाउँ उपयुक्त मानिन्छन्। ती ठाउँहरू जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलसमेत भएकाले त्यस क्षेत्रमा पालिएका भेडाका बथान त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको माध्यमसमेत बन्ने गरेको छ।
पर्यटकीयस्थलका चरण क्षेत्रहरूमा चर्दै गरेका भेडाका बथानले आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउने गर्दछ। भेडीचोकमा हुर्किंदै गरेका भेडाका पाठापाठी खेलाउन पाउँदा जो कोहीको मन फुरुङ्ङ हुने गर्छ।
व्यावसायिक भेडापालनमा लागेका जिल्लाका कृषकले आफूहरूको व्यवसायलाई प्रवर्द्धन गर्न अहिलेसम्म राज्यको कुनै चासो नरहेको बताएका छन्। उनीहरूले आफूहरूको भेडापालन व्यवसायका लागि बीमामा छुट, चरनका लागि खर्क (भेडा चराउने ठाउँ) मा तिर्दै आएको खर्चरी (शुल्क) मा छुट तथा औषधि उपचारमा राज्यको सहयोग आवश्यक रहेको बताएका छन्।
व्यावसायिक पशुपालन तथा कृषि व्यवसायमा लागेका युवालाई प्रोत्साहन गर्न जिल्लाका दश वटै स्थानीय तहले चालू आर्थिक वर्षमा नीति तथा कार्यक्रम समेत ल्याएका छन्। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेट क्षेत्र नै निर्धारण गरेर कृषि व्यवसाय तथा पशुपालनका क्षेत्रमा लगानी गर्ने तयारी गरेको छ।
लेकाली भेकका स्थानीय बासिन्दाका लागि भेडा, खसीबाख्रा, गाईभैंसी लगायतका पशुपालन, कछाडका लागि तरकारी तथा फलफूल र बेंसी क्षेत्रका स्थानीय बासिन्दाका लागि अन्नबाली उत्पादनमा आवश्यक सहयोग गर्ने गरी पकेट क्षेत्र निर्धारण गरिएको यस नगरपालिकाका उपप्रमुख विशन राईले बताए। ‘नगरपालिकालाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षबाटै निरन्तरता दिने गरी नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेका छौं’, उनले भने, ‘रोजगारीको सिलसिलामा विदेश पलायन हुने युवा पुस्तालाई पशुपालन तथा कृषि उपज उत्पादनमा लगाएर गाउँमै रोजगारी सिर्जना गर्ने नगरपालिकाको लक्ष्य छ। यो नीति तथा कार्यक्रम चालु आर्थिक वर्षबाटै कार्यान्वयन हुनेछ।’
कृषि तथा पशुपालन पकेट क्षेत्र विकासका लागि नगरपालिकाबाट चालु आर्थिक वर्षमा खर्च गर्ने गरी रु.एक करोड ७० लाख बजेट विनियोजन गरिएको जनाइएको छ। नगरमा उत्पादित कृषि उपज तथा मासु र दूधजन्य पदार्थ बाहिरी जिल्ला समेत निर्यात गर्ने नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रकाशित: २३ आश्विन २०७९ ०७:०० आइतबार