१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराबाट हुने एक सय उडान प्रभावित

वर्षाले विमानस्थलको भजिबिलिटी घट्दो

पोखरा विमानस्थलबाट उडानको तयारीमा रहेका हवाईजहाज। लगातारको झरीले चार दिनको अवधिमा पोखराबाट कम्तीमा एक सय (एकतर्फी) उडान रद्द भएका छन्। फाइल तस्बिर/ नागरिक

लगातारको झरीले चार दिनदेखि पोखराको हवाईसेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्। पोखराबाट विभिन्न गन्तव्यसम्म हुने हवाई उडान झरीका कारण चार दिनदेखि प्रभावित बनेको हो।

दसैंको टीकाको दिन असोज १९ गते (बुधबार) देखि हवाई सेवामा अवरोध आउन थालेको थियो। गत बुधबार र बिहीबार पोखराबाट कुनै पनि गन्तव्यका लागि उडान भएनन्। शुक्रबार ढिला गरी विमानस्थल खुल्दा आधाभन्दा कम संख्यामा मात्र उडान भए। शनिबार पोखराबाट ठूला सहरसम्म उडान भए पनि हिमालपारिको जिल्ला मुस्ताङको उडान भने हुन सकेन।

यतिबेला ठाउँठाउँमा पहिरो खस्दा मुस्ताङ आउजाउमा स्थलमार्ग पनि सहज छैन। हवाई यातायात पनि हुन नसक्दा मुस्ताङ यात्रामा रहेका पाहुना अप्ठेरोमा परेका छन्। नियमितबाहेक पोखराको आकाशमा पर्यटक उडाउने अल्ट्रालाइट र हेलिकोप्टर उडानसमेत प्रभावित भएको छ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अुसार एक दिनमा ठुला आकारका विमानको उडान संख्या ३५ वटा (एकतर्फी) हाराहारीमा हुन्छन्। पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र जोमसोमसम्म नियमित उडान हुन्छन्। झरीको पहिलो दिन गत बुधबार कुनै पनि उडान भएनन्। त्यस्तै अवस्था बिहीबार पनि भयो। बिहीबारका सबै उडान रद्द भए। शुक्रबार भने ढिलागरी विमानस्थल खुल्दा आधाभन्दा कम संख्यामा मात्र उडान भएका थिए। ३५ वटामध्ये शुक्रबार जम्मा १४ वटा उडान भएका थिए। शनिबार पोखराबाट ठुला सहरसम्म हुने उडान नियमित भए पनि जोमसोमका उडान हुन सकेनन्। जोमसोमसम्म तारा र समिटले दैनिक ९–१० वटा उडान भर्छन्।

‘झरीले गर्दा यो अवधिमा ठुला विमानको कम्तीमा एक सय (एकतर्फी) उडान हुन सकेनन्। दोहोरो गर्दा दुई सय उडान हुन्छन्,’ सुवेदीले भने, ‘कम्तीमा १२ हजार यात्रुको यात्रा प्रभावित भएको छ। यो सबै निरन्तरको झरीले हो। त्यसबाहेक पोखराको आकाशमा उडान हुने अल्ट्रालाइट र हेलिकोप्टरको उडान पनि धेरै नै संख्यामा हुन सकेनन्।’ हेलिकोप्टर र अल्ट्रालाइट उडान संख्या भने पाहुनामा आधारित हुने भएकाले संख्या यकिन हुँदैन। तर दसैंका दिनदेखि चार दिनसम्म प्रभावित भएको उनले बताए।  

निरन्तर झरी सुरु भएपछि पोखरामा उडान अवरुद्ध हुन थालेको थियो। त्यसको प्रभाव शनिबारसम्म पनि रहिरहेको उनले बताए। पोखराबाट बुद्ध, यती, श्री, गुण एयरलाइन्सले काठमाडौंसहित ठुला सहरमा उडान गर्छन् भने समिट र ताराले जोमसोमका लागि उडान भर्छन्। सबैभन्दा बढी बुद्धले दिनमै पोखराबाट विभिन्न गन्तव्यमा १६ वटासम्म उडान गर्दै आएको छ। अहिले पोखराबाट बुद्धले मात्र काठमाडौं बाहेकका सहरमा नियमित उडान गरिरहेको छ। दसैंको बिदामा घुम्न आउन चाहेका आन्तरिक पाहुना उडान प्रभावित भएसँगै रोकिएका थिए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले चारदिने झरीले साहसिक पर्यटकीय गन्तव्यमा समेत मार परेको बताए। ‘झरीले हवाई मार्ग पनि अवरुद्ध रह्यो। स्थलमार्ग पनि सकसपूर्ण थियो। काठमाडौं–पोखरा १३/१४ घण्टाको यात्रा रह्यो। यस्तो अवस्थामा पर्यटकीय गतिविधि हुनै सक्दैनन्,’ उनले भने, ‘झरीले पर्यटनका सबै गतिविधि ठप्प भए। होटल रेस्टुरेन्टलाई पनि उत्तिकै मार परेको छ।’ पोखरा अल्ट्रालाइटका सञ्चालकसमेत रहेका श्रेष्ठका अनुसार यो बेलाको बिदामा आएका आन्तरिक पाहुना पोखराको आकाशमा अल्ट्रालाइटमा सयर गर्दथे। तर झरीका कारण कुनै पनि हवाई गतिविधि हुन सकेनन्। त्यस्तै प्याराग्लाइडिङ, टे«किङ, हाइकिङसहित गतिविधि पनि हुन नसकेको उनले बताए।

पोखरा विमानस्थलमा हवाई उडान र अवतरण हुन कम्तीमा ५ हजार मिटर भिजिबिलिटी चाहिन्छ। तर वर्षा र कुहिरोले गर्दा पोखराको भिजिबिलिटी २ हजार मिटरसम्म झरेको सुवेदीले बताए। पोखरामा यो बेला बेलुकी साढे ५ बजेसम्म मात्र हवाई उडान सञ्चालन हुन्छ।

पोखरामा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रविधिमा आधारित भएर मात्र उडान हुन्छ। भिएफआरमा पाँच किलोमिटर दुरीको ग्राउन्ड भिजिबिलिटी हुनुपर्छ। तर वर्षा र कुहिरोले पोखरा विमानस्थलको भिजिबिलिटी घटेको सुवेदी बताउँछन्। हवाई उडड्यन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियमअनुसार उडान र अवतरण सञ्चालन हुन्छ। एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्र्युमेन्ट फ्लाइट रुल (आइएफआर) हुन्छ।

सामान्य अवस्थामा भिएफआरबाट उडान–अवतरण गरिन्छ। यस नियमअनुसार भिजिबिलिटी पाँच किलोमिटर आवश्यक पर्छ। यो नियमअनुसार विमानको उडान–अवतरण छिटो हुन्छ। किनकि यसमा विमानको ककपिटमा बसेका पाइलटले आफैंले हेरेर कन्ट्रोल टावरसँगको समन्वयमा विमान उडान–अवतरण गराउन सक्छन्।  

तर मौसम बिग्रँदा र तुवाँलो लाग्दा भिएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआरबाट उडान गर्छन्। यसका लागि काठमाडौंमा २ किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ। आइएफआरमा ढिला उडान–अवतरण हुने पदाधिकारी बताउँछन्। प्रविधिमा आधारित रहेर उडान गर्ने भएकाले आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ। तर, पोखरामा भने भिएफआरबाट मात्र उडान र अवतरण हुने हुँदा भिजिबिलिटी घट्दा यहाँबाट हुने हवाई सेवा पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ।

प्रकाशित: २३ आश्विन २०७९ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App