लगातारको झरिले चारदिनदेखि पोखराको हवाई सेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्। पोखराबाट विभिन्न गन्तव्यसम्म हुने हवाई उडान झरिका कारण चारदिनदेखि प्रभावित बनेको हो।
दसैंको टीकाको दिन असोज १९ गते (बुधबार) देखि हवाई सेवामा अवरोध आउन थालेको थियो। गत बुधबार र विहीबार पोखराबाट कुनैपनि गन्तव्यमा उडान भएनन। शुक्रबार ढिलागरि विमानस्थल खुल्दा आधा भन्दा कम संख्यामा मात्र उडान भए। शनिबार पोखराबाट ठुला सहरसम्म उडान भएपनि हिमालपारिको जिल्ला मुस्ताङसम्मको उडान भने हुन सकेन।
यतिबेला ठाउँठाउँमा पहिरो खस्दा मुस्ताङ आउजाउमा अहिले स्थलमार्ग पनि सहज छैन। हवाई यातायात पनि हुन नसक्दा मुस्ताङ यात्रामा रहेका पाहुना अप्ठेरोमा परेका छन्। नियमित बाहेक पोखराको आकाशमा पर्यटक उडाउने अल्ट्रालाइट र हेलिकप्टरको उडान पनि यो अवधिमा प्रभावित भएको छ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अुसार एकदिनमा ठुला आकारका जहाजको उडान संख्या ३५ वटा (एकतर्फी) हाराहारीमा हुन्छन। पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र जोमसोमसम्म नियमित उडान हुन्छन्। झरिको पहिलो दिन गत बुधबार कुनैपनि उडान भएनन। त्यस्तै अवस्था विहीबार पनि भयो। विहीबारका सबै उडान रद्द भए। शुक्रबार भने ढिलागरि विमानस्थल खुल्दा आधाभन्दा कम संख्यामा मात्र उडान भएका थिए। ३५ वटा मध्ये शुक्रबार जम्मा १४ वटा उडान भएका थिए। शनिबार पोखराबाट ठुला सहरसम्म हुने उडान नियमित भएपनि जोमसोमका उडान हुन सकेनन। जोमसोमसम्म तारा र समिटले दैनिक ९–१० वटा उडान भर्छन।
‘झरिले गर्दा यो अवधिमा ठुला जहाजको कम्तिमा एकसय (एकतर्फी) उडान हुन सकेनन्। दोहोरो गर्दा दुईसय उडान हुन्छन,’ सुवेदीले भने, ‘कम्तिमा १२ हजार यात्रुको यात्रा प्रभावित भएको छ। यो सबै निरन्तरको झरिले हो। त्यसबाहेक पोखराको आकाशमा उडान हुने अल्ट्रालाइट र हेलिकप्टरको उडान पनि धेरै नै संख्यामा हुन सकेनन।’ हेलिकप्टर र अल्ट्रालाइट उडान संख्या भने पाहुनामा आधारित हुने भएकोले संख्या यकिन हुँदैन। तर, दसैंका दिनदेखि चारदिनसम्म प्रभावित भएको उनले बताए।
निरन्तर झरि सुरु भएपछि पोखरामा उडान अवरुद्ध हुन थालेको थियो। त्यसको प्रभाव शनिबारसम्म पनि रहिरहेको उनले बताए। पोखराबाट बुद्ध, यती, श्री, गुण एयरलाइन्सले काठमाडौं सहित ठुला सहरमा उडान गर्छन भने समिट र ताराले जोमसोमका लागि उडान भर्छन। सबैभन्दा बढी बुद्धले दिनमै पोखराबाट विभिन्न गन्तव्यमा १६ वटासम्म उडान गर्दै आएको छ। अहिले पोखराबाट बुद्धले मात्र काठमाडौं बाहेकका सहरमा नियमित उडान गरिरहेको छ। दसैंको बिदामा घुम्न आउन चाहेका आन्तरिक पाहुना उडान प्रभावित भएसँगै रोकिएका थिए।
पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले चारदिने झरिले साहसिक पर्यटकीय गन्तव्यमा समेत मार परेको बताए। ‘झरिले गर्दा हवाई मार्ग पनि अवरुद्ध रह्यो। स्थलमार्ग पनि सकसपूर्ण थियो। काठमाडौं–पोखरा १३÷१४ घण्टाको यात्रा रह्यो। यस्तो अवस्थामा पर्यटकीय गतिविधि हुनै सक्दैनन,’ उनले भने, ‘झरिले गर्दा पर्यटनका सबै गतिविधि ठप्प भए। होटल रेस्टुरेन्टलाई पनि उत्तिकै मार परेको छ।’
पोखरा अल्ट्रालाइटका संचालक समेत रहेका श्रेष्ठका अनुसार यो बेलाको बिदामा आएका आन्तरिक पाहुना पोखराको आकाशमा अल्ट्रालाइटमा सयर गर्दथे। तर, झरिका कारण कुनैपनि खालका हवाई गतिविधि हुन सकेन। त्यस्तै प्याराग्लाइडिङ, टे«किङ, हाइकिङ सहितका गतिविधि पनि हुन नसकेको उनले बताए।
पोखरा विमानस्थलमा हवाई उडान र अवतरण हुन कम्तिमा ५ हजारमिटर भिजिविलिटी चाहिन्छ। तर, वर्षा र कुहिरोले गर्दा पोखराको भिजिविलिटी २ हजार मिटरसम्म झरेको सुवेदीले बताए। पोखरामा यो बेला बेलुकी साढे ५ बजेसम्म मात्र हवाई उडान संचालन हुन्छ।
पोखरामा भिजुअल फ्लाईट रुल्स (भिएफआर) प्रविधिमा आधारित भएर मात्र उडान हुन्छ। भिएफआरमा पाँचकिलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ । तर वर्षा र कुहिरोले पोखरा विमानस्थलको भिजिविलिटी घटेको सुवेदी बताउँछन्। हवाई उडड्यन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियम अनुसार उडान र अवतरण संचालन हुन्छ। एउटा भिजुअल फ्लाइट रुल (भीएफआर) र अर्को इन्स्ट्रयुमेन्ट फ्लाइट रुल (आइएफआर) हुन्छ।
सामान्य अवस्थामा भीएफआरबाट उडान–अवतरण गरिन्छ। यस नियम अनुसार भिजिबिलिटी पाँचकिलोमिटर आवश्यक पर्छ। यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ। किनकि यसमा जहाजको ककपिटमा बसेका पाइलटले आफैले हेरेर कन्ट्रोल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन।
तर, मौसम बिग्रदाँ, तुवाँलो लाग्दा भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआरबाट उडान गर्छन। यसका लागि काठमाडौंमा २ किलोमिटर भिजिविलिटी आवश्यक पर्छ। आइएफआरमा ढिला उडान–अवतरण हुने पदाधिकारी बताउँछन्। प्रविधिमा आधारित रहेर उडान गर्ने भएकोले आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ। तर, पोखरामा भने भिएफआरबाट मात्र उडान र अवतरण हुने हुँदा भिजिविलिटी घट्दा यहाँबाट हुने हुने हवाईसेवा पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ।
प्रकाशित: २२ आश्विन २०७९ १०:०० शनिबार