१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

३ नेपाली र ३ विदेशी आरोही सगरमाथा शिखरमा

काठमाडौं– तीन विदेशी र तीन नेपाली आरोहीले चुचुरोमा विजयी झन्डा फहर्याएपछि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको औपचारिक सुरुवात भएको छ।
mt-everest-peak1.jpg

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्ने आशाका साथ त्यहाँ पुगेका २ सय ८८ विदेशी र एक नेपाली आरोही (झापाका अनिष लुइँटेल) तथा करिब ४ सय 'हाइ अल्टिच्युड वर्कर' ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरमा बसिरहेका छन् । यी सबै ३४ आरोहण दलमा सहभागी छन् ।

तीमध्ये बिहीबार तीन विदेशी र र तीन नेपाली आरोहीले सगरमाथा शिखरमा यो वर्ष पहिलो पटक पाइला पु¥याएका छन् । 'तीन नेपाली र तीन विदेशी आरोही बिहान साढे आठ बजे सगरमाथा शिखर पुगेपछि यसपालिको आरोहणको औपचारिक सुरुवात भएको छ,' आधारशिविरमा रहेका पर्यटन विभागका नायबसुब्बा तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बिहीबार टेलिफोनमा नागरिकसँग भने, 'अब बढीमा दुई साताभित्र लगभग सबै आरोही शिखर पुग्नेछन् । सबैजना उपयुक्त मौसमको पखाईमा छन् ।'

उनका अनुसार बिहीबार चुचुरो पुगेका तीन नेपाली आरोही दोर्जीग्याल्जेन शेर्पा, पेम्बा भोटे र पासाङरिता शेर्पा हुन् भने विदेशीतर्फ मेक्सिकोका डेभिड लियानो र बेलायतका केन्टन कुल रोबर्ट लुकास छन् ।

दोर्जीग्याल्जेन र डेभिड एसियन ट्रेकिङले व्यवस्थापन गरेको आरोहण दल तथा पेम्बा, केन्टन र रोबर्ट हिमालयन गाइड्स नेपालले व्यवस्थापन गरेको आरोहण दलमा सहभागी भएर शिखर पुगेका हुन् ।

'बिहानको मौसम धेरै नै राम्रो थियो र आरोही त्यसको फाइदा उठाउँदै शिखर पुग्न सफल भए,' श्रेष्ठले भने, 'शुक्रबार पनि करिब ५० आरोही तथा आगामी साता (जेठ ६ देखि ७ भित्र थप १ सयभन्दा बढी आरोही शिखर पुग्ने योजनामा छन् ।'

पछिल्ला दुई वर्ष लगातार ठूला प्राकृतिक विपत्तिका कारण सगरमाथा आरोहण स्थगित भएको थियो । ती वर्ष आरोहण गर्न नपाएका अधिकांश यसपालि शिखर पुग्ने तयारीमा छन् । २०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले नै आरोहण गतिविधि स्थगित गरेको थियो ।

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो । त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगित भएको थियो ।

पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो ।

बुधबार नौजना शेर्पा बाटो बनाउँदै चुचुरो पुगेपछि आरोहण अभियान सुरु भएको थियो । उनीहरूले सगरमाथाको ७ हजार ९ सय २० मिटर उचाइमा अवस्थित चौथो क्याम्पबाट चुचुरोसम्म बाटो बनाएका छन् । डोरी टाँग्ने, भ¥याङ राख्नेलगायत काम गर्दै उनीहरूले बाटो बनाएका हुन् ।

सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन् । उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन् । त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन् । आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन् । अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ ।

२०७१ मा एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलले पर्यटन विभागबाट अनुमति लिएका थिए । त्यसबाट विभागले ३२ लाख ५० हजार अमेरिकी डलर (त्यसबेलाको ३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) रोयल्टी उठाएको थियो । सगरमाथा आरोहण अनुमति लिएका ३१ विदेशी दलमा ३ सय ३४ आरोही थिए । तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन् । तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही थिए ।

प्रकाशित: ३० वैशाख २०७३ २२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App