४ वैशाख २०८१ मंगलबार
अर्थ

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

लुम्बिनीमा विद्युतीय बस सञ्चालनको शुभारम्भ गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय र प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे।

लुम्बिनीमा तीन वर्षदेखि त्यसै थन्किएका विद्युतीय गाडीहरु सञ्चालनमा आएका छन्। दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले यान्त्रिक परीक्षणका लागि बिहिबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको हो।

लुम्बिनीलाई प्रदूषण रहित बनाउन बुद्ध सक्रिटमा विद्युतीय सवारी सञ्चालन गर्ने अवधारणा अनुरुप एसियाली विकास बैंकको सहयोगमा तीन वर्ष अघि पाँच वटा बस र १४ वटा भ्यान लुम्बिनी ल्याइएको थियो। ती बिजुली बसको अफिसियल र यान्त्रिक परीक्षणका लागि बिहिबारदेखि बौद्ध सर्किटमा निःशुल्क सञ्चालन सुरु गरिएको हो।

विद्युतीय बस सञ्चालनले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ। विद्युतीय बसहरु विभिन्न रुटमा सञ्चालन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोष र निजी क्षेत्रले एक/एक जना चालकको व्यवस्था गरेका छन्। विद्युतीय बसका लागि ६ वटा रुट तय गरीएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीदेखि तिलौराकोट बुद्ध सर्किट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीदेखि एयरपोर्ट बेलहिया र लुम्बिनी मणिग्राम हुँदै देवदह रुट तय गरीएको छ। दशैँको अवधि भर विद्युतीय बसमा यात्रुलाई निःशुल्क यात्रा गराइने पनि कोषले जनाएको छ।

ती विद्युतीय गाडीका लागि लुम्बिनीमा १७ ठाउँमा चार्जको व्यवस्था गरिएको छ। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोडको लागतमा विद्युतीय बस र भ्यानहरु भित्रिएका हुन्। तर लामो समयसम्म आवश्यक प्रक्रिया पूरा नगरिदा र विद्युतीय बस सञ्चालन कार्यविधि नबन्दा पर्यटन मन्त्रालयले ती बसहरु लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्न ढिलाइ गर्‍यो। जसका कारण ती बसहरु लामो समय लुम्बिनीमा त्यसै थन्किएका थिए।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन दिवसका दिन सोमबार विद्युतीय बस सञ्चालनका लागि निर्देशन दिएपछि लुम्बिनी विकास कोष तातेको हो। गृहमन्त्रीको निर्देशन लगत्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेसहित कोष र सुरक्षा समितिको बैठक बसेर गत मंगलबार विद्युतीय गाडी सञ्चालनका लागि रुट तय गरिएको गरियो थियो।

बिहिबार एक कार्यक्रममा बीच लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तय), रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले विद्युतीय बस सञ्चालनको संयुक्त रुपमा शुभारम्भ गरे।

कोषका उपाध्यक्ष भिक्षु मेत्तयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने पर्यटक र बौद्ध सर्किट वरपरका आन्तरिक पर्यटकलाई लक्षित गरी यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरिएको बताए। यान्त्रिक परीक्षणको सफलतापछि विद्युतीय गाडीहरु निरन्तर सञ्चालन हुने उनले बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निःशुल्क रुपमा सञ्चालन गरिएको विद्युतीय बसबाट आन्तरिक पर्यटकले फाइदा लिन सक्ने बताए। उनले विद्युतीय गाडी सञ्चालनका सन्दर्भमा आइपर्ने सुरक्षा तथा अन्य प्रशासनिक काममा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए।

कोषका कोषाध्यक्ष एंव विद्युतीय गाडी सञ्चालन कार्यविधिका पूर्व संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले विद्युतीय बस सञ्चलनले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए। प्रक्रियागत झन्झट र प्राविधिक विषयका कारण सञ्चालनमा केही ढिलाइ भएपनि सबै पक्षको सहयोगमा बौद्ध सर्किटमा विद्युतीय बस सञ्चालन सुरु भएको उनले बताए।

धम्म यात्रा मार्फत आन्तरिक पर्यटकलाई लुम्बिनी र बौद्ध सर्किटमा ल्याउन सहज हुने बताए। निकै मेहनतका साथ कार्यदलले कार्यविधि मस्यौदा र सञ्चालन सम्बन्धमा कोषका अध्यक्ष नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाएको सोही प्रतिवेदन अनुसार परीक्षण सञ्चालन गरिएको उनले बताए।

दशैं, तिहार र छठ जस्ता पर्वहरुमा आन्तरिक पर्यटकहरुले लुम्बिनी र बौद्धसर्किटका क्षेत्रहरुमा निःशुल्क रुपमा यात्रा गरेर सेवा लिन सक्ने गरी बसको यान्त्रिक परीक्षण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। उनले अहिले नम्बर प्लेटका लागि अनुमति लिने काम भइरहेको बताउँदै केही दिनमै हरियो नम्बर प्लेट राखेर सञ्चालन गरिने बताए।

‘यान्त्रिक परीक्षण गरेपछि प्राविधिक पक्ष थाहा हुनेछ, त्यसपछि निरन्तर सञ्चालन हुन्छ’ सदस्य सचिव शाक्यले भने। पाँच वटा विद्युतीय गाडीका लागि ६ वटा रुट तय गरेर सञ्चालन गरिएको परीक्षण इकाईका संयोजक एंव कोषका सदस्य विश्वराज पौडेलले बताए। लुम्बिनीका विद्युतीय गाडीका लागि १७ ठाउँमा चार्जको व्यवस्था गरिएको योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए।

प्रकाशित: १३ आश्विन २०७९ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App