coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दुई ठूला जहाज खरिद गर्न निष्कर्ष

काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनका उच्च अधिकारी सम्मिलित एक अध्ययन उपमितिले ठूलो परिमाणको बजार हिस्सा ओगट्न 'वाइड बडी' जहाज नै खरिद गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ।दुई महिनाअघि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको संयोजकत्वमा गठित 'वाइड बडी जहाज खरिद अध्ययन उपसमिति' ले संस्थाको वर्तमान बजार हिस्सा उच्च दरले बढाउन, युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, चीन, दक्षिण कोरियालगायत लामो दुरी (लङ हल) का गन्तव्यमा उडान गर्न वाइड बडी नै खरिद गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

निगम व्यवस्थापनले पनि तत्काल दुईथान ठूलो आकारका वाइड बडी जहाज आवश्यक रहेको भन्दै खरिद गर्न आवश्यक रकम जोहो गर्नतिर लागेको छ । यसका लागि स्वदेशका सरकारी तथा निजी क्षेत्रका वित्तीय संस्थादेखि विकल्पका रूपमा विदेशी वित्तीय संस्थासँग ऋण लिने विकल्पसहित निगम अगाडि बढेको छ ।

निगमका फाइनान्स, कमर्सियल, मार्केटिङ र कर्पोरेट डाइरेक्टर सदस्य रहेको उक्त उपसमितिले तयार पारेको प्रतिवेदनमा मुलुकको उड्डयन बजारअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित 'ए३३०–२००' सिरिजका दुईथान वाइड बडी उपयुक्त रहेको उल्लेख छ ।

'तयार भएको प्रतिवेदन सञ्चालक समितिमा पेस गरिसकेका छौं,' उसमितिका सदस्य एवं निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, 'सञ्चालक समितिले अब प्रतिवेदनअनुसार काम अगाडि बढाउँछ र चाँडै नै वाइड बडी खरिद विषय टुंगोमा पुग्छ ।'

निगमले एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ए३३०–२०० सिरिजका दुईथान जहाज ल्याएर लामो दुरीका गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । योजनाअनुसार महाप्रबन्धककै संयोजकत्वमा गठित उपसमितिले बजारदेखि यात्रुको माग हुँदै गन्तव्यलगायत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो ।

निगमले पछिल्लो पटक खरिद गरी ल्याएका १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईथान जहाज पनि एयरबसमै उत्पादन भएका हुन् । त्यस्तै करिब तीन दशक पुराना 'बि७५७' सिरिजका दुईथान जहाज पनि छन् । यी जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएका हुन् । यिनमा १ सय ९० सिट छन् ।

'ए३२० ले लङ हलमा उडान गर्न सक्दैन, यो सानो जहाज भएकाले एकतर्फी चार घन्टासम्म मात्र उडान गर्न सक्छ,' सम्बद्ध एक अधिकारीले भने, 'अनि बि७५७ को जति सिट पनि छैन । त्यसकारण वाइड बडी खरिद गर्नुको विकल्प हामीसँग छैन । वाइड बडी सञ्चालनमा आएपछि मात्र बि७५७ लाई विस्थापन गर्ने योजना छ ।'

उनका अनुसार वाइड बडीमा एयरबसमा नभई बोइङको 'बि७८७' सिरिजका जहाजको विकल्प पनि छ । तर, अब निगम व्यवस्थापन एयरबसका जहाजमात्र खरिद गर्ने योजनामा रहेका कारण ए३३०–२०० नै खरिद गर्ने तयारीमा लागेको छ । नेपाल उडान गरिरहेका आधा दर्जन वायुसेवा कम्पनीले राम्रो व्यापार भएका कारण वाइड बडी जहाज नै उपयोग गरिरहेकाले निगम पनि वाइड बडी नै खरिद गर्ने तयारीमा छ ।

निगम अधिकारीहरूले निरन्तर काम अगाडि बढ्यो भने एक वर्षभित्र एउटा वाइड बडी काठमाडौं ल्याउन सकिने दाबी गरेका छन् । त्यो जहाजले पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा गर्ने निगमको व्यापारिक योजनामा उल्लेख छ । यो जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा उडान गर्न सक्छ ।

पहिलो जहाज आएको बढीमा तीनदेखि चार महिनाभित्र अर्को वाइड बडी ल्याउने गरी निगमले काम गरिरहेको छ । ग्लोबल टेन्डर आह्वान गर्दा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने लिजिङ कम्पनी, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने अर्का एक अधिकारीले बताए । निगमले सकेसम्म सन् २०१४ भन्दा यता उत्पादन भएका ए३३०–२०० जहाज खरिद गर्ने सर्त राख्ने जनाएको छ ।

निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत 'लङ हल' गन्तव्यमा उडान गरिसकेको छ । दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ । यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ ।

निगमका अनुसार टोकियो र सोलका लागि सातामा तीन-तीन उडान गर्ने गरी तालिका बनाइएको छ । जापान र कोरियापछि साउदी अरबको दम्माम, चीनको सांघाई र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना छ । दम्माम र सांघाई सिधै उडान गरिने तथा सिड्नी जान भने सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थललाई 'ट्रान्जिट' बनाइने छ ।

वाइड बडी खरिद उपसमिति गठन

नेपाल वायुसेवा निगम सञ्चालक समितिले ठूलो आकारका दुईथान 'वाइड बडी' जहाज खरिद गर्न उपसमिति गठन गरेको छ ।

आगामी दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अर्थ मन्त्रालयका सहसचिव तथा निगम सञ्चालक समिति सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा चार सदस्यीय 'वाइड बडी जहाज खरिद उपसमिति' गठन भएको हो । उपसमितिका सदस्यमा निगमका नायब महाप्रबन्ध रमेशबहादुर शाह, कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्मा र सञ्चालक सदस्य निमानुरु शेर्पा छन् ।

निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारको संयोजकत्वमा गठित 'वाइड बडी जहाज खरिद अध्ययन उपसमिति' को प्रतिवेदन थप अध्ययन गरी जहाज खरिदको निर्णय गर्न खरिद उपसमिति गठन भएको हो । आचार्यको उपसमितिको प्रतिवेदन आएपछि सञ्चालक समितिले जहाज खरिदको निर्णय गर्ने छ ।

'आर्थिक, व्यावसायिक र प्राविधिक विषय समेटेर तयार पारिने प्रतिवेदनपछि सञ्चालक समितिले जहाज खरिद गर्ने निर्णय गर्ने छ,' सम्बद्ध अधिकारीले भने, 'त्यसपछि ग्लोबल टेन्डर आह्वान हुने छ।'

प्रकाशित: २२ वैशाख २०७३ ००:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App