२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भन्सार छलेर माछा आयात हुँदा स्वदेशी माछाले पाएनन् बजार

फाइल तस्बिर

माडीका नेत्र आले नौ वर्षदेखि माछापालन व्यवसायमा सक्रिय छन्। एक हेक्टर क्षेत्रफल रहेको जलासयमा माछा पालन गर्दै आएका आलेले वार्षिक २५ मेट्रिक टनको हाराहारीमा उत्पादन गर्दछन्। अहिले पनि उनको पोखरीमा करिब ५ मेट्रिक टनको  हाराहामीमा माछा छन्। तर, भारतीय माछा अनाधिकृत रुपमा जिल्लामा बिक्री गर्न समस्या भएको आले बताउँछन्।

‘अघिल्ला वर्षभन्दा यसबर्ष जलासय विस्तार गरेको थिए। अहिले माछा बिक्री गर्ने समय भएको छ। साउनदेखि माछा बिक्री भएको छैन,’ उनले भने ‘भारतीय माछा आउँदा बजार पाउन सकेको छैन।’  दशैँको समयमा माछा बिक्री हुने आशमा देखिएका आले आफुले पालेका माछा बिक्री नहुने कि भन्ने चिन्तामा छन्।  

एक महिनाभित्र बिक्री गर्न नसकेमा पोखरीमै माछा मर्ने सम्भावना रहेको उनी बताउँछन्। ‘अहिले बेच्न लायक भएका छन्। ती तत्काल बेच्न नसकेमा घाम लाग्दा साथ मेरो माछा मर्छ,’ उनले भने, ‘अहिले नोक्सान भए एक वर्षको ५ लाख लगानी डुब्छ।’  

आलेले चार बिघाबाट माछापालन व्यवसाय सुरु गरेका हुन्। उनले प्रत्येक वर्ष १० लाखको हाराहारीमा आम्दानी गर्दै आएका थिए। अव माछा बिक्री नभए लगानी उठ्ने सम्भाना कम रहेको उनले बताए। ‘दाना मङ्गो छ। श्रमपनि उत्तिकै लाग्छ,’ उनले भने, ‘अहिलेकै अवस्था रहे १० देखि १५ लाख रुपैयाँ घाटा हुन्छ।’

पूर्वी चितवनको राप्ती नगरपालिकाका हरिनारायण थपलिया यतिखेर माछा बिक्री नहुने हो कि भन्ने चिन्तामा छन्। १० विघा जलासयमा माछा पालन गर्दै आएका थपलियाले वार्षिक तीन सय मेट्रिक टन उत्पादन हुन्छ। बिक्री हुन सकेको छैन। ‘मेरो माछा बेच्न सुरु भएको छ। पहिलो लट बेचेर अर्को पोखरीमा माछा राख्ने तयारी गरेको थिए,’ उनले भने ‘अहिले माछाको ब्लक भएको अवस्था छ।’

चितवनमा एक हजार पाँच सयको हाराहारीमा माछा पालन किसान छन्। उनीहरुले वार्षिक ७ हजार मेट्रिक टन माछा उत्पादन गर्दै आएका छन्। तर, नेपालमा भारतबाट भन्सार छलेर माछा आयात हुँदा बिक्री नभएको थपलिया बताउँछन्।  

नेपालमा एक लाख हेक्टर क्षेत्रफलको जलासयमा माछापालन हुन्छ। यहाँ दैनीक ५० देखि ६० मेट्रिक टनको हाराहारीमा माछा उत्पादन हुँदै आएको छ। यसले नेपाली बजारलाई पुग्ने नेपाल मत्स्य व्यवसायी संघको दावि छ। यतिखेर भन्सार छलेर भारतीय माछा आउँदा भारतीय माछासंग प्रतिस्प्रर्धा गर्न नसकिएको संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी बताउँछन्। ‘अहिले अबैध रुपमा भित्रिएका गुणस्तर हिन माछा नेपाली बजारमा प्रसस्त भेटिन्छ। तर, भन्सारमा हेर्दा माछा आयात भएको छैन, उनले भने, ‘यसरी भन्सार छलेर आएका माछासंग स्वदेशी माछाले प्रतिस्प्रर्धा गर्न सक्दैन।’अबैध रुपमा माछा भित्रदा सरकारले प्रतिकिलो ५६ रुपैयाँ राजश्व गुमाएको उनले बताए। यसरी भारतीय माछा भित्रिएमा किसानहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्।  

नेपालमा बारा, रुपन्देही, धनुषा, चितवन, झापा, पर्सा, कैलाली कञ्चनपुरमा माछाको उत्पादन बढी हुने गरेको छ। अहिले यी जिल्लाका किसान आन्दोलनको तयारीमा छन्। नेपाल मत्स्य व्यवसायीसंघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदी बाहिरबाट माछा आयात हुँदा नेपाली माछाले बजार मुल्य नपाएको बताउँछन्। ‘हामीले माछाको जात हेरेर प्रतिकिलो दुई सय ५० देखि तीन सय ५० रुपैयाँसम्म बजार मुल्य तोकेका छौँ। तर, त्योभन्दा सस्तो गुणस्तीय माछा आउँदा हामीले बेच्न सकेका छैनौँ,’ उनले भने, ‘यही अवस्था रहे हामी आन्दोलन गछौँ।’ उनले किसानहरु क्वारेन्टाइनमा बसेर माछा चकजाँच गर्न थालेको बताए। अहिले नेपाली माछा भनेर व्यवसायीहरुले भारतीय माछा बेच्ने गरेको उनको दावि छ।

चितवनमा २०६८ सालदेखि व्यवसायीक रुपमा माछापालन व्यवसाय सुरु भएको हो। चितवनमा १० प्रतिशत माछापालन गर्ने किसान बढिरहेका छन्। नेपाल माछापालक व्यवसायी संघ चितवनका अनुसार जिल्लामा सात सय हेक्टर क्षेत्रफलको जलासयमा माछापालन हुन्छ।  यहाँ उत्पादन भएको माछा ३५ प्रतिशत माछा बाहिरी जिल्लामा जाने गरेको छ। चितवनमा कार्प जातका कमन, रघु, नैनी, विगहेड, सिल्भर र पंगासियस जातको माछा पालन गरिन्छ। 

चितवनमा बिशेष गरे पूर्वी चितवनका राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछा पालन हुने गरेको छ। अहिले नेपाललाई पुग्ने माछा स्वदेशमै रहेपनि भारतबाट आयात हुनेगरेको माछा वितरक लुलाराज तामाङ बताउँछन्। ‘भारतबाट सस्तोमा माछा आइरहेको छ। त्योसंग हामीले प्रतिस्पार्धा गर्नु परेको छ।’ उनले भने, ‘उनीहरुसंग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ। अहिले चितवनकै बाटो काठमाडौँ, पोखरा लगायतका सहरमा गइरहेको छ।’ उनले भारतीय माछाको गुणस्तर कम रहेको बताउँछन्। ‘भारतबाट आउन धेरै दिन लाग्छ। बिषादी प्रयोग गरेर माछा राख्ने गरिन्छ,’ उनले भने, ‘गुणस्तरहीन माछा बजारमा प्रसस्त भेटिन्छ।’

प्रकाशित: ४ आश्विन २०७९ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App