२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पुल नबनाएपछि पप्पुको ठेक्का संझौता तोडियो

कर्णालीलाई बर्दियासँग जोड्ने छोटो मार्ग भेरिगाउँ–तेलपानी सडक अन्तरर्गत भेरी नदीमा पुल बनाउनका लागि ठेक्का संझौता भएको १० वर्षसम्म पनि काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। सडक डिभिजन कार्यालय सुर्खेतले भेरीमा पुल बनाउन ठेक्का लिएको पप्पु/मल्ल जेभीसँगको संझौता अन्त्य गर्दै कालोसूचीमा राख्न सिफारिस गरेको हो।  

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर तुलाराम शर्माले सम्झौता अनुसार म्याद थप भैसक्दासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदिएको, पटक–पटक ताकेता गर्दा पनि अटेरी गरी निर्माण कार्यलाई अलपत्र पारेकाले ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिए। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, ५९, को उपदफा सात र ठेक्का सम्झौतामा भएको व्यवस्था बमोजिम ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको कार्यालयको सुचनामा उल्लेख छ।  

रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माण नहुँदा बराहताल गाउँपालिकाका चार वडाका साथै बर्दियासँग जोडिने छोटो सडकमार्ग सञ्चालनमा आउन सकेको छैन्। पुलकै कारण छोटो सडकमार्ग सञ्चालनमा नआउँदा बर्दियाबाट कोहलपुर–बबई–छिञ्चु हुँदै लामो दुरी पार गरी सुर्खेत आउनुपर्ने बाध्यता छ।  

सडक डिभिजन सुर्खेत र पप्पु/मल्ल जेभीबीच २०६९ असार २९ गते रानीघाट पुल निर्माणको सम्झौता भएको थियो। निर्माण कम्पनीले १४ करोड २९ लाख ८९ हजार लागतमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। कम्पनीले तीन वटा पिलर उठाएर निर्माण कार्य अलपत्र छाडेको थियो। निर्माण कम्पनीले प्राविधिक डिजाइनमा त्रुटी रहेको औंल्याउँदै कडा चट्टान रहेकाले काम गर्न नसकेको बताउँदै आएको थियो।

पप्पुले पुल बनाउनेतर्फ कुनै चासो नदिएपछि सडक डिभिजन कार्यालयले सम्झौता हुँदा निर्माण कम्पनीले लिएको एक करोड ७६ लाख ५० हजार रूपैयाँ सडक फिर्ता लिएको थियो । उक्त निर्णयविरुद्ध पप्पुले सडक डिभिजन कार्यालय र नेपाल बंगलादेश बैंकको नेपालगञ्ज शाखालाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर गरेको थियो।  

पप्पु/मल्ल जेभीले सम्झौता हुँदा लिएको रकम फिर्ता नलिन र सम्झौता नतोड्न भन्दै २०७३ असार २५ गते उच्च अदालत सुर्खेतमा रिट दायर गरेको थियो। पप्पु/मल्ल जेभीले सम्झौता हुँदा लिएको एक करोड ७६ लाख ५० हजार रूपैयाँ सडक डिभिजन कार्यालयले फिर्ता लिएको थियो। निर्माण कम्पनीले तीन करोड रूपैयाँसम्मको काम भएको दाबी गरेको थियो।  

फेरि निर्माण हुने

भेरी नदीमाथि पुल बन्ने अझै निश्चित नभएपछि फेरि सञ्चालनको तयारी भइरहेको छ।  भेरी नदी पारीका नागरिकहरुलाई सहज यातायातका लागि सडक डिभिजन कार्यालयले छिन्चु–जाजरकोट सडक खण्डको सल्ली बजारस्थित भेरी नदीमा राखिएको फेरि रानीघाटमा ल्याएर सञ्चालन गर्न लागिएको हो।  

इन्जिनियर तुलाराम शर्माले पक्की पुल बनाउन समय लाग्ने भएकाले फेरि सञ्चालनको तयारी थालिएको बताए। ‘प्रक्रियामा जाँदा पनि पक्की पुल निर्माण गर्न अझै केही वर्ष लाग्ने देखिन्छ,’ शर्माले भने, ‘सल्ली बजारमा जडान गरिएका फेरिलाई रानीघाट ल्याएर सञ्चालनको तयारीमा छौं।’ सडक डिभिजन कार्यालयले फेरि सञ्चालनका लागि बराह निर्माण सेवालाई ६० लाखमा ठेक्कामा दिएको छ। फेरि सञ्चालनमा आए रानीघाट, तेलपानी, श्रीचौर, बरपानी हुँदै बर्दियासम्म पुग्ने नागरिकहरुलाई सहज हुनेछ। 

प्रकाशित: ३१ भाद्र २०७९ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App