५ वैशाख २०८१ बुधबार
अर्थ

काठमाडौंमा ऐतिहासिक मुद्रा चिनाउने प्रदर्शनी

काठमाडौंको हनुमान ढोकामा ऐतिहासिक मुद्रासम्बन्धी जानकारी दिन प्रदर्शनी आयोजना गरिएको छ। हनुमानढोकास्थित ऐतिहासिक संग्रालयले स्थापनाको ६०औं वार्षिकोत्सवका अवसरमा ऐतिहासिक मुद्रा सम्बन्धी जानकारी दिने ‘द हिस्ट्री अफ नेपाली मनी’ नामक पुस्तक पनि प्रकाशनमा ल्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले वार्षिक उत्सवका अवसरमा विहीबार संग्रालयको पुनःनिर्मित भवनमा राखिएकोे प्रर्दशनी कक्ष तथा पुस्तक विमोचन गरेका हुन्।

लेनदेन तथा वस्तुको विनिमयमा प्रयोग हुने सोही मुद्राको माध्यमबाट नेपालको इतिहासबारे जानकारी गराउने उद्देश्यले नेपालले आधा शदाब्दीभन्दा पहिले मुद्रा संग्रायलको स्थापना गरेको थियो। विसं २०१९ पौष १ गते तत्कालिन राजा महेन्द्रले हनुमान ढोका दरबार परिसरमा संग्रालय स्थापना गरेका थिए। उक्त संग्रालय विसं २०५० सालमा छाउनीस्थति राष्ट्रिय संग्रहालयको ऐतिहासिक भवनमा स्थानान्तरण गरिएको थियो।

प्रविधिमा आएको विकासले नेपाल पनि ‘नगदरहित’ कारोबारमा प्रवेश गरिसकेको छ। सामान्य लेनदेनदेखि वस्तुको खरिदमा समेत मुद्राको विकल्पमा मोबाइल बैंकिङ, इन्टरनेट बैैकिङ वा क्रेडिट काडको प्रयोग हुन थालेको छ। प्रविधिको प्रयोग हुनुभन्दा पहिले भने एतिहासिक समय देखिनै भौतिक मुद्राको प्रयोग हुँदै आएको थियो। प्रदर्शनीले यी सबै कुराको बारेमा जानकारी दिने अपेक्षा छ।  

वार्षिक उत्सवका अवसरमा पुस्तक विमोचन गर्दै मन्त्री श्रेष्ठले इतिहासलाई जीवन्त बनाउन तथा वितेका सामाग्रीहरूको सुरक्षा गर्न संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने बताए। भोलिको पुस्तालाई मुद्राको माध्यमबाट इतिहासका बारेमा जानकारी गराउनका लागि पनि संग्रहालयलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए। ‘हाम्रो इतिहास, सभ्यता, सांस्कृतिक सम्पदासँग जोडिएका विभिन्न सामाजिक संग्रहालयहरू स्थापना हुँदै गर्दा यी संग्रहालयलाई सरकारले व्यवस्थित गर्दै जानु पर्छ,’ मन्त्री श्रेष्ठले भने। नेपाली समाजको विकासको क्रम तथा मुल्य मान्यतामा परिभाषित गर्न यो मुद्रा संग्रालयको आफ्नै भूमिका रहेको उनको भनाई थियो। भूकम्प पछि पुनःनिर्माण भवनमा व्यवस्थित ढंगले मुद्रा संग्रहालय स्थापना भएको भन्दै उनले खुसी व्यक्त गरे।  

पुरातात्विक स्रोतको रूपमा रहेको मुद्रा संग्रालयले तत्कालिन समयको इतिहास, संस्कृति तथा सभ्यताको जानकारी दिन महत्वपूर्ण भूमिका खेलेको राष्ट्रिय मुद्रा संग्रहालयकी निर्देशक प्रतिमा रन्जितले जानकारी दिइन। प्रदर्शनीमा विभिन्न देशका पुराना तथा चलन चल्तीका मुद्राहरू संग्रह गरी राखिएको छ। प्रदर्शनीमा कपिलवस्तु तिलौराकोटको उत्खननबाट प्राप्त आहात मुद्रा, कुषाणकालीन शासक तथा कनिष्कका मुद्राहरू साथै ईशाको पाँचौं शताब्दीदेखिका लिच्छविकालीन तामाका मुद्राहरू समेत राखिएको छ।

त्यस्तै चावाहिल स्थित धन्दो चैत्यको उत्खनन्को क्रममा प्राप्त लिच्छवि मुद्राहरू पनि संग्रालयमा प्रदर्शनीमा राखिएको छ। ईशाको एघारौं शताब्दितिर नेपालमा शिवका तथा द्रम्म नामका केही दुर्लभ मुद्राहरू पनि संग्रहालयको प्रर्दशनीमा राखिएको छ।  

त्यस्तै, दोलखाका राजा जयन्द्र सिंहदेवद्धारा प्रचलनमा ल्याइएको नेपालको पहिलो चाँदीको मुद्रा तथा राजा महिन्द्र मल्लद्वारा प्रयोगमा ल्याएको महेन्द्र मल्ली नामले प्रचलित काठमाडौं उपत्यकाको पहिलो चाँदीको मुद्रा यस संग्रहालयको प्रमुख आर्कषण रहेको छ। राजा जयप्रकाश मल्लले प्रयोगमा ल्याएको संसारकै सबैभन्दा सानो मुद्राको रूपमा गिनिज बुक अफ वल्ड रेकर्डमा सूचिकृत फुकादाम पनि यस संग्रहालयको मुख्य आर्कषण रहेको छ।  

प्रदर्शनीमा शाहकालमा विभिन्न शासकहरूले निस्काशन गरेका मुद्राहरू पनि राष्ट्रिय मुद्रा संग्रहालयमा रहेको निर्देशक रन्जिता बताउछिन्। गोरखाका राजा पृथ्वीनारायण शाहले विसं १८११ मा नुवाकोटबाट निस्कासन गरेको पहिलो मुद्रा लगाएत शाहबंशका अन्तिम राजा ज्ञानेन्द्र शाहका मुद्राहरू पनि यस संग्रहालयमा रहेका छन्। यी मुद्राहरू सुन, चाँदी, तामा, ढलौटबाट बनेका छन्। त्यस्तै राजा त्रिभुवनको पालादेखि निस्कासन गरिएका कागजी नोटहरू साथै असर्फी तथा स्मारिका मुद्राहरू पनि संग्रहालयमा सुरक्षित रहेको उनले बताइन्।

संग्रहालयमा भारतमा अंग्रेजहरूको शासनकालमा प्रचलनमा ल्याएका चाँदीमा मोहरहरूबाट तयार गरिएको माला तथा औंठीहरू समेत संग्रह गरी राखिएको छ ।

प्रकाशित: ३१ भाद्र २०७९ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App