८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

त्रिशूली जल विद्युत् कम्पनी-सेयरबापतको बाँकी रकम ४ असोजबाट संकलन गरिने

कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रूपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रूपैयाँ बुझाउनुपर्ने छ। 

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक त्रिशूली जल विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ। रकम बुझाउने अन्तिम मिति आगामी कात्तिक १७ गतेलाई तोकिएको छ।  

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रतिसेयर एक सय रूपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रूपैयाँ मात्र संकलन गरेको थियो। कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रूपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रूपैयाँ बुझाउनुपर्ने छ।  

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रूपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रूपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनुपर्ने प्रावधान बमोजिम शेयरधनीले प्रतिकित्ता ३ रूपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रूपैयाँ मात्र जम्मा गरे हुने छ।  

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरूले रकम बुझाउन÷आवेदन दिन सक्नेछन्।शेयरधनीहरूले यसरी रकम भुक्तानी गर्दा आस्वा शुल्क समेत तिर्नुपर्ने छैन। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लि रहेको छ।  

जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयर बापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर बापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ।  

‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकाले साबिका सेयरधनीले चुक्ता गर्न बाँकी ९० रूपैयाँ संकलनका लागि आह्वान गरेका हौं’– प्रबन्ध–सञ्चालक गौतमले भने।

आयोजनाका प्रवद्र्धक त्रिशूली जल विद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ। कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रूपैयाँ रहेको छ। निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रूपैयाँ पुग्ने अनुमान गरिएको।  

निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रूपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ।  

आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो तर नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरू कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका बन्द हुँदा चीनबाट निर्माण सामग्री तथा उपकरण ल्याउन नसकिएकाले पूर्ण रूपमा भइरहेको आयोजना निर्माण करिब १५महिना ठप्प प्रायः भएको थियो।  

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले काम लगभग तीन हप्ता पुनः प्रभावित भएको थियो। साथै, मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो। चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माण गर्ने गरी २९ माघ २०७४ मा ठेक्का सम्झौताभएको थियो। ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ।

प्रकाशित: २८ भाद्र २०७९ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App