१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मानव विकास सूचकांक २०२१–२०२२-नेपालको स्थान एक अंकले सुध्रियो

कोभिड १९ महामारीका बीच पनि नेपालको मानव विकास सूचकांक (एचडिआई) एक स्थानमाथि उक्लिएकाले सुधारको संकेत देखिएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सोमबार नेपालमा सार्वजनिक गरेको प्रतिवेदन २०२१/२२ अनुसार नेपाल मानव विकासको सूचकांकको १४३ औं स्थानमा रहेको देखाएको छ।  

नेपाल एचडिआईमा सन् २०२० को तुलनामा एक स्थानमा सुधार देखिएको हो। सन् २०२० मा नेपाल सूचकांकको १ सय ४४ औं स्थानमा रहेको थियो। सन् २०१९ मा भने नेपाल १ सय ४२ औं स्थानमा रहेको थियो।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार आयोजित एक कार्यक्रमबीच मानव विकास प्रतिवेदन २०२१–२०२२ सार्वजनिक गरेकी थिइन्।  

कोभिड–१९ र युक्रेनमा भइरहेको युद्धजस्ता संकटहरूबाट प्रगति अवरूद्ध हुँदा विश्वका हरेक १० मध्ये ९ देश मानव विकासमा पछि परेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले सार्वजनिक गरेको नयाँ मानव विकास प्रतिवेदन २०२१–२०२२ ‘अनिश्चित समय, अस्थिर जीवनः परिवर्तित विश्वमा हाम्रो भविष्य’ ले औंल्याएको छ।

सन् २०२१ मा नेपालको अंक ०.६०२ को मानव विकास सूचाकांक मानका साथै १४३ औं स्थानमा रहेको देखाउँछ। मानव विकास सूचकांकमा दक्षिण एसियामा अफगानिस्तानको १८० औं स्थानमा छ। त्यसैगरी बंगलादेशको १२९ औं, भुटानको १२७ औं स्थानमा रहेको छ। त्यसैगरी भारतको १३२ औं स्थानमा, माल्दिभ्सको ९० औं स्थानमा र पाकिस्तान १६१ औं र श्रीलंका ७३ औं स्थानमा रहेको छ।  

मध्यम देशहरूको सूचीमा रहेको नेपालको अंक सन् २०२० को तुलनामा सन् २०२१ मा भने ०.००२ अंकले घटेको थियो। सन् २०२० मा भने नेपालको अंक ०.००७ ले घटेर ०.६०४ पुगेको थियो। सन् २०२१ मा १९१ वटा मुलुकमध्ये नेपाल १४३ औं स्थानमा रहेको छ।

मानव विकास सूचकांक १ हुने मुलुकलाई सबैभन्दा राम्रो मान्ने गरिन्छ। नेपालले सन् १९९२ मा ०.३९९ अंकबाट सन् २०२१ मा आउँदा ५०.९ प्रतिशतले वृद्धि गरेर ०.६०२ अंकमा आएको छ। उक्त प्रतिवेदनले नेपाल सन् २०२१ मा ०.६०२ को मानव विकास सूचकांक मानका साथ १४३ औं स्थानमा रहेको देखाउँछ र यो मान सन् २०२० को मान (०.६०४) भन्दा कम हो।  

लैङ्गिक दृष्टिकोणबाट हेर्दा नेपाल विश्वव्यापी लैङ्गिक असमानता सूचकांकमा सन् २०१९ को ११० औं स्थान तल झरेर ११३ औं स्थानमा पुगेको देखिन्छ। दुई वर्षको अन्तरालपछि सार्वजनिक गरिएको सन् २०२२ को प्रतिवेदनले नेपाललाई मध्यम मानव विकास समूहमा वर्गीकरण गरेको छ। मानव विकास सूचकांक (एचडीआई) मानव विकासको तीन वटा आधारभूत आयामहरू (दीर्घ र स्वस्थ जीवन, ज्ञानमा पहुँच र राम्रो जीवनस्तर) मा भएको दीर्घकालीन प्रगतिको समीक्षा गर्ने मापन विधिको सार हो।

नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि आइसानी मेदागनगोदा लाबेले कोभिड १९ महामारी र प्राकृतिक प्रकोपसहितका विभिन्न झट्काका बाबजुद विगतको दुई वर्षमा नेपालले धेरै हदसम्म स्थिर मान कायम गर्न सफल भएकोतर्फ संकेत गरेको बताइन्।

‘यसको अर्थ ढुक्क हुनु भने होइन किनभने अन्य देशहरूको तुलनामा नेपालपछि परेको छ। कोभिड–१९ जस्ता विश्वव्यापी रूपमा भएका घटनाहरूले मानव विकासमा नेपालको प्रगतिलाई पक्कै पनि प्रभावित गरेको छ,’ उनले भनिन्– ‘नयाँ अनिश्चितताहरूले भविष्यमा हासिल गरिने प्रगतिमा पनि अवरोध सिर्जना गर्ने सम्भावना रहेको छ।

यस प्रतिवेदनले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूको वर्तमान वास्तविकतासँग मेल खाने सामयिक समाधानहरू सिफारिस गरेको छः अनिश्चित विश्वको उथलपुथलका लागि पूर्व तयारी गर्न लगानी, बिमा र नवप्रर्वतनमा केन्द्रित नीतिहरू लागु गर्नुपर्नेछ।’ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री भुसालले हालको रेटिङले नेपालको मानव विकास सूचकांक वरियतामा केही सुधारको संकेत देखिएको बताइन् ।  

‘हालको रेटिङले नेपाल मानव विकास सूचकाङ्क र वरियतामा अगाडि बढिरहेको देखाउँछ तर हामीले अझै अगाडि बढ्नको लागि कडा मेहनत गर्नुपर्छ,’ मन्त्री भुसालले भनिन्– ‘नेपाल निर्माण गर्न शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, कृषि जस्ता क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ।’  

मन्त्री भुसालले मन्त्रीले सरकारले गाउँ–गाउँमा स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन लगानी गरिरहेको बताइन्। ‘सरकारले गरिब जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराएर अतिरिक्त ऊर्जा अन्य मुलुकमा निर्यात गर्नेलगायत स्थानीयस्तरमा उत्पादित विद्युत्को अधिकतम उपयोग गर्न विशेष प्रयास गरिरहेको छ,’ उनले भनिन्– ‘यसले हामीलाई गरिबीको चक्रबाट बाहिर आउन मदत गर्ने अपेक्षा गरिएको छ।’

युएनडिपीले सोमबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदनले बढ्दै गइरहेकोे विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशहरूमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रूपले उल्ट्याउने काम गरेको औंल्याएको छ।  

‘असमानता, जलवायुजन्य विपद्, द्रुत प्राविधिक नवप्रवर्तन र सामाजिक अविश्वासका कारण झन् खराब बन्न पुगेको महामारीले मानव प्रगतिलाई मेटाउने आँधीबेहरी ल्याएको छ,’ प्रतिवेदनमा भनिएको छ– ‘लगातार दोस्रो वर्ष मानव विकासले उल्टो गति लिनाले मानव विकासमा यसअघि कहिल्यै नदेखिएको स्तरमा धक्का परेको छ, जसले हामीलाई दिगो विकासका लागि २०३० एजेन्डा सुरू गर्दा र २०१६ को पेरिस सम्झौता अवलम्बन गर्दाको स्तरमा फर्काउने काम गरेको छ।’  

प्रतिवेदनले मानवताको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको जलवायु र जैविक विविधता संकट, असमानता र राजनीतिक ध्रुवीकरणका साथै प्राविधिक उथलपुथल बढ्नुका साथै तिनले एक अर्कालाई मलजल गर्ने काम गरिरहेको औंल्याएको छ। 

प्रकाशित: २८ भाद्र २०७९ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App