coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लक्ष्यभन्दा १८ प्रतिशत बढी

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान विश्वसनीयता लक्ष्यभन्दा १८ प्रतिशतले बढेको छ। करिब तीन दशकदेखि दुइटा मात्र जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमले पछिल्लो पटक गत वर्ष थप दुई थान जहाज ल्याएर गन्तव्य समेत थपेको थियो। अन्तर्राष्ट्रिय उडान गर्न चार थान जहाज भएपछि उडान विश्वसनीयता लक्ष्यभन्दा माथि गएको हो।निगमले चालु आर्थिक वर्ष ०७२/७३ मा अन्तर्राष्ट्रिय उडान विश्वसनीयता ८५ प्रतिशत पुर्या उने लक्ष्य लिएको छ। जसअनुसार पछिल्लो तीन महिना (गत कात्तिकदेखि पुससम्म) मा राखिएको ८५ प्रतिशतकै लक्ष्यलाई उछिनेर ९९ दशमलव ६७ प्रतिशत उपलब्धी हासिल भएको हो।

'नयाँ जहाजबाट सेवा सुरु गरेपछि निगममाथिको विश्वसनीयता बढेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, 'हामीले सकेसम्म उडान रद्द नगर्ने नीति लिएका छौं। त्यही भएर विश्वसनीयता पनि बढेको हो। यसबाट निगमको छवि सुधि्रँदै गएको पुष्टि हुन्छ।'

अन्तर्राष्ट्रिय उडानतर्फ मात्र नभई आन्तरिकतर्फ पनि निगमको विश्वसनीयता लक्ष्यभन्दा १५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षका लागि ६० प्रतिशतको उडान विश्वसनीयता लक्ष्य लिएको निगमले गत कात्तिकदेखि पुससम्म पनि ६० प्रतिशतकै लक्ष्य लिएको थियो। यसमा ६८ दशमलव ६७ प्रतिशतको उपलब्धी हासिल भएको निगमको भनाइ छ।

निगमका अनुसार हाल अन्तर्राष्ट्रिय जहाजको सिट भराइ दर (अकुपेन्सी) को लक्ष्यमा सतप्रतिशत उपलब्धी हासिल भएको छ। पछिल्लो तीन महिनामा ७५ प्रतिशतको अकुपेन्सी लक्ष्य राखेको र यसमा ७५ दशमलव ३३ प्रतिशत उपलब्धी हासिल भएको हो।

आन्तरिक उडानतर्फ ६५ प्रतिशतको लक्ष्य लिएको निगमले यसमा पनि १५ प्रतिशत बढी उपलब्धी हासिल गरेको छ। यसमा ६८ दशमलव ६७ प्रतिशत उपलब्धी प्राप्त भएको हो।

त्यसैगरी तोकिएको समयमै उड्ने (पंक्चुयालिटी) दर पनि बढेको छ। आन्तरिक उडानमा यो दर लक्ष्यभन्दा बढी हासिल भए पनि अन्तर्राष्ट्रियतर्फ भने १० प्रतिशतले लक्ष्य पूरा हुन सकेको छैन। आन्तरिक उडानको पंक्चुयालिटी दर ८६ प्रतिशत राखिएको र यसमा उपलब्धी ९८ दशमलव ३३ प्रतिशत हासिल भएको छ।

अन्तर्राष्ट्रियतर्फ भने पंक्चुयालिटी लक्ष्य ९२ प्रतिशत राखिए पनि ८२ दशमलव ६७ प्रतिशतमात्र उपलब्धी हासिल भएको छ। 'हाम्रा अन्तर्राष्ट्रिय उडानका जहाज यात्रु भरिएपछि तोकिएकै समयभन्दा पनि १० मिनेट अगाडि उडेको उदाहरण छ,' प्रवक्ता शर्माले भने, '१५ मिनेट अगाडि–पछाडि हुनुलाई उड्डयन क्षेत्रमा सामान्य मानिन्छ।'

निगमका अनुसार गत कात्तिकदेखि पुससम्म जहाजको उडान समय आन्तरिकको लक्ष्यभन्दा कम भए पनि अन्तर्राष्ट्रियतर्फ भने बढको छ। आन्तरिक उडान गर्ने जहाजलाई तीन महिनामा ३ सय ५१ घन्टा उडाउने लक्ष्य लिइए पनि ३ सय २४ घन्टामात्र उडाउन सकिएको थियो।

अन्तर्राष्ट्रियतफै चारथान जहाजलाई भने तीन महिनामा ८ सय २५ घन्टा उडाउने लक्ष्य थियो तर यसमा थप २ सय ५७ घन्टा बढी उडेका थिए। दुईमध्ये एउटा बि७५७ जहाज मंसिर २९ देखि माघ ४ सम्म नियमित मर्मत (सि–चेक) का लागि सिंगापुरमा रहेका कारण उडान गर्न सकेको थिएन। चिनियाँ वाई१२–ई जहाज पाइलट अभावका कारण कात्तिक, मंसिर र पुुस महिनाभर सञ्चालन हुन सकेको थिएन।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न चारथान र आन्तरिक उडान गर्न पनि चारवटै जहाज छन्। अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित 'बि७५७' सिरिजका दुईथान र युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित 'ए३२०–२००' सिरिजका पनि दुईवटै जहाज छन्। बि७५७ प्रत्येकमा १ सय ९० सिट छन् भने ए३२० प्रत्येकमा १ सय ५८ सिट छन्।

त्यसैगरी आन्तरिक उडान गरिरहेका दुईथान टि्वनअटर प्रत्येकमा १९ सिट छन्। त्यस्तै चीनबाट अनुदानमा प्राप्त १८ सिट क्षमतायुक्त 'वाई१२–ई' र ५६ सिटे 'मोडर्न आर्क' (एमए–६०) जहाज पनि सञ्चालनमा छन्। अब निगमले सहुलियत ऋणमा चीनबाट पाउने तीनथान वाई१२–ई र एकथान एमए–६० जहाज भने ल्याउन बाँकी छ। यी जहाज ल्याउने कि नल्याउने भन्ने 'विवाद' अझै सुल्भि्कएको छैन।

निगमसँग साढे दुई दर्जनभन्दा बढी आन्तरिक गन्तव्यमा उडान गर्ने अनुमति भए पनि पर्याप्त जहाज नभएर सबै गन्तव्य पुग्न सकिरहेको छैन। अन्तर्राष्ट्रियतर्फ भने भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, कतारको दोहा, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर र हङकङ उडान गरिरहेको छ। निकट भविष्यमा चीनको चेङ्दु उडान गर्ने तयारी गरिरहेको छ।

निगमले एक वर्षभित्र दुईथान ठूलो आकार (वाइड बडी) जहाज ल्याएर जापान, दक्षिण कोरिया, युरोप, अमेरिकालगायतका गन्तव्य जाने घोषणा यसअघि नै गरेको थियो।

प्रकाशित: १८ चैत्र २०७२ २२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App