१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'जेट एयरवेजले दुःख दियो'

काठमाडौं–भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आफूहरूलाई अनाहकमा दुःख दिएको भन्दै नेपाली यात्रुले आफ्नै राष्ट्रिय ध्वजावाहकको जहाजबाट यात्रा गर्न आग्रह गरेका छन् । नयाँदिल्लीबाट सोमबार दिउँसो काठमाडौं आइरहेको जेटको जहाज भीषण हावाहुरीका कारण लखनऊ 'डाइभर्ट' भएको थियो ।त्यहाँबाट पुनः काठमाडौं फर्के पनि बीच बाटोबाटै दिल्ली लगेर दुःख दिएको त्यसमा सवार यात्रुले गुनासो गर्दै सकेसम्म नेपाल वायुसेवा निगमकै जहाजबाट यात्रा गर्न आग्रह गरेका हुन् । 'दिल्ली विमानस्थलमा ओरालेपछि जेट एयरवेजका कर्मचारीले सबै यात्रुलाई पूरै बेवास्ता गरे, न खाने ठेगान छ न बास बस्ने,' त्यही जहाजमा सवार ललितपुरका चिकित्सक सुन्दरमणि दिक्षितले मंगलबार नागरिकसँग भने, 'आफूलाई अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भन्दै घमण्ड गर्नेले आफ्ना यात्रुलाई गरेको व्यवहार देख्दा लाज लागेर आयो । त्यही भएर आफ्नै देशको ध्वजावाहक चढ्न आग्रह गर्छु ।'

उनका अनुसार सोमबार दिउँसो साढे १ बजे दिल्लीबाट उड्ने भने पनि एक घन्टा ढिलो उडेको उक्त जहाज काठमाडौं माथि आइपुग्दा भीषण हावाहुरी चलेको थियो । त्यसपछि चार–पाँच फन्को मारेर लखनऊ गएर अवतरण गरेको थियो । त्यहाँ पुगेपछि यात्रु नओराली तीन घन्टासम्म जहाजभित्रै राखिएको थियो ।

'काठमाडौंको मौसम खुल्यो भनेपछि जहाज उड्यो र मेरो विचारमा हेटौंडामाथि आएपछि एक्कासि चालकदलले काठमाडौं विमानस्थलमा प्राविधिक समस्या आएकाले जहाजलाई दिल्ली लानुपर्ने बताए,' दिक्षितले भने, 'अनि बीचबाटै दिल्ली फर्र्काए । राति १० बजे दिल्ली अवतरण गरेका हामीलाई विमानस्थलभित्र केही समय राखियो । तर, जेटका कर्मचारीले यात्रुको बेवास्तामात्र गरेनन्, पूरै गैरजिम्मेवार समेत भइदिए ।'

उनका अनुसार जेटका कर्मचारीले मौसम खराब भएर फर्कनुपरेका कारण होटल र खाना दिन नमिल्ने बताएपछि ७० भन्दा बढी यात्रु आक्रोशित भएका थिए । त्यही जहाजमा नेपालका लागि भारतका राजदूत रणजीत रे पनि थिए । उनी विमानस्थलभित्रकै होटलमा बास बसेका थिए । उनीसहित सबै यात्रुलाई जेटले बिचल्ली पारिदियो ।

'अहिले राति उड्न नपाए पनि भोलि मंगलबार उडाउँछौं भन्दै सबै यात्रुलाई अध्यागमन पार गराएर जेटका कर्मचारीले बाहिर ल्याएर छाडिदिए,' दिक्षितले भने, 'त्यसपछि ती कर्मचारी सबै लाखापाखा लागे ।' त्यसपछि जेटको टिकट रद्द गरेर टर्मिनल भवनभित्रै रहेको अकबर ट्राभल्समा गएर आफू र श्रीमतीका लागि नेपाल वायुसेवा निगमको जहाजबाट मंगलबार काठमाडौं फर्कने टिकट खरिद गरेको र राति १२ बजे बासको व्यवस्था गरिएको उनले बताए । धेरै यात्रुले दिल्ली विमानस्थलमै राति बिताएका थिए ।

'हामीसँग पैसा थिएन, धन्य क्रेडिट कार्डले काम गरेपछि दुईटा टिकट २० हजार भारुमा खरिद गरियो,' उनले भने, 'दुःख परेका बेला त आफ्नै ध्वजावाहक नै काम लाग्यो । बेकारमा सास्ती खान जेट एयरवेजको टिकट लिन पुगिएछ ।'
भारत जानु छ भने जेट एयरवेजको जहाजबाट कहिल्यै पनि यात्रा नगर्न दिक्षितले यात्रुलाई सुझाव दिएका छन् । मंगलबार तोकिएको समयमै दिल्लीबाट उडेको नेपाल वायुसेवाको जहाज काठमाडौं अवतरण गरेको उनले जानकारी दिए ।

'मैले धेरै वर्षपछि नेपाल वायुसेवाको जहाजबाट यात्रा गरेँ र म औधी खुसी छु,' उनले भने, 'अहिले धेरै सुधार भएछ । यात्रुप्रति कर्मचारीेले गर्ने व्यवहारदेखि जहाजभित्र क्याबिन क्रुको व्यवहार, यात्रुलाई दिइने खाना सबैमा निगमले सुधार गरेको रहेछ । त्यही भएर वायुसेवा निगम जुन–जुन गन्तव्यमा जान्छ, त्यहाँ जानुपरे सकेसम्म निगमकै जहाज चढ्नुपर्छ ।' निगमसँग पर्याप्त जहाज नभए पनि उसकै जहाजबाट यात्रा गर्दा नेपाली यात्रुलाई सबै कुरामा सहज हुने उनको भनाइ छ । जहाजभित्र कुने समस्या परे पनि निर्धक्क भन्न सकिने उनले बताए ।

'प्रशस्त पैसा लिएर पनि सुविधा एक थोपो नदिने भारतीय कम्पनी जेट एयरवेजको हेपाहा प्रवृत्ति हो, दिक्षितले भने, 'पैसा लिएपछि यात्रुको सुविधामा खेलबाड गर्न पाइँदैन । जेटले यसमा आफूलाई सच्च्याउने विश्वास छ ।'

प्रकाशित: १६ चैत्र २०७२ २३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App