२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा उद्योग बाणिज्य संघः नेतृत्व लिन प्रजापति र पोखरेल बीच प्रतिस्पर्धा

पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी पवनकुमार प्रजापति (बाँया) र अर्जुन पोखरेल। तस्बिर नागरिक

पोखराकै जेठो व्यवसायिक संस्था पोखरा उद्योग वाणिज्य संघ ३४ औं महाधिवेशनको संघारमा छ। महाधिवेशनको संघारमा रहँदा उद्योग व्यवसायीलाई चुनावी सरगर्मीले छोईसकेको छ। अध्यक्षका प्रत्यासीहरु घरदैलो अभियानमा छन्। आफ्नो पक्षमा मत माग्न व्यस्त छन्।  

महाधिवेशनको रापतापले साना व्यवसायीलाई समेत छोएको छ। अध्यक्षको प्रत्यासीमा यतिबेला बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति र द्वितीय उपाध्यक्ष अर्जुन पोखरेलबीच चुनावी प्रतिस्पर्धामा छन्। यही भदौ २४ र २५ गते महाधिवेशन हुदैं छ। २५ गते मतदानको प्रक्रिया हुने छ।  

अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले देशमा राजनीतिक तरलतामै रहेको उल्लेख गर्दै राजनीतिक तरलतामा व्यवसायी फष्टाउन नसक्ने उल्लेख गरे। उनले उद्योग वाणिज्य संघले निजी क्षेत्रको हकहितको लागि राजनीतिक तरलतालाई न्युनिकरण गर्न दबाव सिर्जना गर्ने बताए। उनले राजनीतिक तरलतासँगै कोभिड संक्रमणले व्यवसायीहरु विस्थापितको संघारमा पुगेको जिकिर गरे। विस्थापितको संघारमा पुगेका व्यवसायीलाई आवश्यक सीप सिकाई स्थापित गर्ने तर्फ आफनो ध्यान रहेको उल्लेख गरे। ‘उद्योग वाणिज्य संघ निजी क्षेत्रको हकहितको लागि काम गर्ने संस्था हो। संस्था बलियो बनाउनुपर्छ। समुन्नत व्यवसायको लागि पनि संघ दरिलो बन्नुपर्छ। समुन्नत भएमात्रै व्यवसायीहरु जोडिन्छन्,’ उनको भनाई थियो।  

उनले पोखरालाई पर्यटनमात्रै नभई साँस्कृतिक शहरको रुपमा स्थापित गर्ने तर्फ संघको जोड रहने स्पष्ट पारे। ‘पोखरालाई पर्यटन, सँस्कृतिसँगै मात्रै नभई कृषि उत्पादनसँग समेत जोड्नुपर्छ। संघलाई सबैको साझा घरको रुपमा फोकस गरेर अगाडि बढ्नुपर्छ,’ उनको भनाई थियो। पोखरामा ठूला, मझौला र साना व्यवसायी रहेको उल्लेख गर्दै पोखरेलले तीन तहको सरकारसँग व्यवसायिक हकहितको लागि लबिङ गर्नुपर्ने खाँचो समेत औल्याए। ‘सबै व्यवसायीका आफनै खाले समस्या छन्।संघले तीन तहको सरकारसँग लबिङ गरेर समस्याको समाधान निकाल्नेमा आफनो नेतृत्वले प्रयास गर्ने छ,’ उनको अभिव्यक्ति थियो।  

उद्योग वाणिज्य संघ आर्थिक रुपमै कमजोर रहेको बताउँदै अध्यक्ष प्रत्यासी पोखरेलले आर्थिक अभावकै कारण कार्यक्रम ल्याउन नसकिएको स्पष्ट पारे भवन जीर्ण भईसकेको भन्दै उनले साझेदारीमा संघको भवन पुर्ननिर्माण गर्नुपर्नेमा जोड दिए। ‘दुई लेयर पार्किङको रुपमा उपयोग गर्ने गरी भवन बनाउनुपर्ने छ। साझ विहान हाटबजार, हस्तकला प्रदर्शनी गर्न सकिन्छ,’ उनले भने, ‘दिउँसो पार्किङको लागि उपयोग गर्न सकिन्छ। भवनलाई सबैको साझा बनाउने हो।’ 

अध्यक्ष प्रत्यासी पोखरेलले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरा अन्तराष्ट्रिय शहर बन्ने भन्दै शहर नबिग्रिने गरी अन्य साहसिक पर्यटकीय गतिविधि विस्थापित नहुने गरी समन्वयात्मक भूमिका खेल्ने स्पष्ट पारे। ‘एयरपोर्टमा लगानी भईसकेको छ। अब विरोधको अर्थ छैन। तर अब साहसिक पर्यटकीय गवितिधि विस्थापित नभई विकल्प खोज्नुपर्छ,’ उनले भने, ‘हामीले विकल्प खोज्ने समन्वयकारी भूमिका खेल्ने छौं।’

अध्यक्ष पोखरेलको प्यानलमा बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन। यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन्।

अध्यक्षका प्रत्यासी पवन प्रजापतिले आफनो चुनावी एजेण्डालाई १७ वटा बुदाँ मार्फत सार्वजनिक गरेका छन्। उनले आफनो पहिलो सर्त नै व्यवसायिक बातावरण निर्माण गर्ने र उद्योगी व्यवसायीको सम्मान अभिबृद्धि गर्ने प्राथमिकता रहने बताए। उनले कोभिडले थला परेको व्यवसायीलाई पुर्नउत्थान गर्नु उद्देश्य रहेको उल्लेखा गरे।  व्यवसायिक डाटा वैक तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिने योजना रहेको सुनाए।  

संघमा वर्षेनी व्यवसायीहरु जोडिने क्रम बढ्दै गएको छ। रुग्ण उद्योग र घाटामा चलेको व्यवसायहरुको लागि आवश्यक बंैक तथा घरवेटीसँग छलफल गरी सहजता प्रदान गर्ने अध्यक्षका प्रत्यासी प्रजापतिले एजेण्डमा समावेश गरेका छन्, ‘नवप्रवर्तन र महिला उद्यमशिलता विकासलाई केन्द्रमा राख्दै उनीहरुलाई प्रविधि, पूँजी र बजारीकरणमा सघाउने गरी व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्ने योजना छ। जसका लागि आवस्यक विज्ञ सहितको टिम तयार गरिने छ,’ उनको भनाई थियो।  

अध्यक्षका उम्मेदवार प्रजापतिले अन्तर्राष्ट्रिय सहरको रुपमा पोखरा अघि बढिरहदा संघ आर्थिक रुपले सवल बनाउनुपर्ने दायित्व रहेको भन्दै संघलाई आर्थिक रुपले सवल बनाउन विभिन्न परियोजनाहरुको संचालन गरिने बताए। उनले नियमित आम्दानी वृद्धि गर्न सचिवालयको पुननिर्माण एवं अत्याधुनिक बहुउदेश्यीय भवन निर्माण गर्ने लक्ष्य रहेको सुनाए । प्रजापतिले राष्ट्रिय औद्योगिक व्यापार मेला आजका दिनसम्म रमाईलो मेला जस्तो मात्रै भएको छ। तर अवका मेलाहरु साच्चिकै व्यवसायीक, औद्योगिक र नयाँ व्यवसायीहरुलाई प्रवद्र्धन गर्ने खालको वनाउनेमा आफनो जोड रहेको बताए।  

पोखरालाई  शिक्षा, स्वास्थ्य, पर्यटन  र व्यावसायिक कृषिको सहर बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरोकारवालासँग निरन्तर सहकार्य गरिने आफनो एजेण्डा रहेको उल्लेख गरे। पोखराको कुनै अस्पतालसँगको सहकार्यमा सदस्यहरु र उनीहरुका आश्रित परिवारका सदस्यहरुलाई अधिकतम छुटमा स्वास्थ्य उपचारको प्रवन्ध मिलाईने समेत सुनाए। 

कृषिलाई आधुनिककरण गर्दै व्यवसायीक उत्पादन र पहिचान सहितको अभियानलाई स्थापित गरिने छ। एक गाउँ एक उत्पादन सहित च्याम्वर भिलेजको रुपमा संघले अघि सारेको अभियानलाई परिमार्जन सहित निरन्तरता दिईने योजना समेत रहेको उल्लेख गरे।  

प्रजापति समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन्। त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन्। संघमा ३३४३ सदस्य आवद्ध छन्।  

प्रकाशित: २० भाद्र २०७९ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App