१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पचास वर्षपछि जग्गा धनी पूर्जा पाउँदा सुकुम्बासी दङ्ग

पोखरामा शनिबार सुकुम्बासीलाई जग्गा धनीपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ। तस्बिर: सन्देश/नागरिक

पोखरा–१४ सुकुम्बासी टोलका सुकबहादुर दमै (६०)ले २०५२ सालमा सेतो पूर्जा पाए। उनले पूर्जा हातमा त पाए तर कहिल्यै आफ्नो महशुष गरेनन्। किनकी त्यो पूर्जा रातो पूर्जा थिएन। उनी भोगचलन त गर्थे तर न त्यो घरजग्गा सँधैलाई आफ्नो भयो भनेर ढुक्क हुन मिल्थ्यो नत त्यसलाई धितो राखेर ऋण नै पाईन्थ्यो। बरु कसैले उठीबास पो लगाउने हो कि भनेर त्रास र आतंकले मनमा डेरा जमाउँथ्यो। त्यहि भएर उनी दिनरात कहिले रातो पूर्जा पाईन्छ भनेर आशमा बसिरहन्थे। उनको त्यो सपना शनिबार पूरा भएको छ। उनले आफू बसेको जमिनको ५० वर्षपछि लालपूर्जा पाउँदा शनिबार मञ्चमै नाचे। राष्ट्रिय भूमि आयोग कास्कीले शनिबार पोखरामा भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यतामा दमैसहित ३९ जनालाई जग्गा धनीपूर्जा वितरण गर्दा उनीसहित धनीपूर्जा पाउनेहरु दङ्ग परे।

पोखरा–१४ निवासी जिठ्ठी विकलेपनि शनिबार जग्गा धनीपूर्जा पाईन्। त्यो पाएपछि उनको आँखाबाट हर्षको आँशु आयो। वर्षौंदेखिको आशाले सार्थकता पाउँदा उनी खुशीले गदगद् भईन् र भनिन् सरकारलाई धन्यवाद। उनले आफ्नो र परिवारको वर्षौंदेखिको सपना पूरा भएको भन्दै अरुलाईपनि यसरी नै लालपूर्जा दिन आग्रह गरिन्।

पोखरा–१४ कै खड्कबहादुर विश्वकर्मालाई पनि खुशीको सीमा थिएन। उनलेपनि शनिबार आफू बसेको जमिनको ४० वर्षपछि जग्गा धनीपूर्जा पाए। दमैले जस्तै विश्वकर्मालेपनि ५२ सालमा सेतो पूर्जा पाए। तर २५ वर्षसम्म भोगाधिकार रहेको सो पूर्जाको मिति सकिएपछि कतै आफू बसेको जमिन छोड्नुपर्ने त होईन भनेर पिरोलिन्थे। तर शनिबार रातो पूर्जा भएको जग्गा धनीपूर्जा पाएपछि उनको मुहार उज्यालिएको थियो।

जग्गाको रातो पूर्जा पाउँदा दङ्ग परेका उनीहरु रातो पूर्जामा लेखिएको शर्त देखेर भने केहि खिन्न देखिए। पूर्जामा २५ वर्षसम्म जग्गाको किनबेचमा प्रतिबन्धदेखि कुनैपनि नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्न नपाईने शर्तले उनीहरु खिन्न भएका हुन्। ‘पच्चीस वर्षसम्म केहि गर्न नपाईने भए त सेतो पूर्जा र रातो पूर्जामा के नै फरक रह्यो र? हात्ती आयो, हात्ती आयो फुस्सा जस्तो भयो हामीलाई त!’ मलिनो अनुहार पार्दै एक सुकुम्बासीले भने।

दमै र विश्वकर्मासहित कास्कीका ३९ जनालाई जग्गाको रातो पूर्जा वितरण गरिएको भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलले जानकारी दिए। यसअघिका पुराना अधुरो, अपुरो रहेका आवेदकको सर्जिमिन, मुचुल्का, फिल्डबुक र सेता पूर्जाका आधारमा लालपूर्जा दिन शुरु गरेको उनले स्पष्ट पारे। उनका अनुसार आयोगले अब निरन्तर पूर्जा वितरण गर्दै जानेछ।

पोखरा महानगरपालिकामा १९ हजार ६ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका छन्। महानगरमा निवेदन लिएर निस्सा वितरणको काम धमाधम भइरहेको उनले बताए। भूमि आयोग कास्कीले पोखरा महानगरपालिकामा भूमिहीन सुकुम्बासी ४ हजार १ सय ८३, भूमिहीन दलित ३ हजार ५ सय ५३ तथा अव्यवस्थित बसोबासी ११ हजार ८ सय ९८ जनाको निवेदन परेको जनाएको छ।

 अध्यक्ष पोखरेलले कास्कीको माछापुच्छ्रे, मादी र रुपा गाउँपालिकामा भूमिहीनहरुको लगत सङ्कलनको काम आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ। जग्गा धनीपूर्जा वितरण कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले वर्षौंदेखि आशैआशमा बस्दाबस्दा निराश भएर बसेका सुकुम्बासीलाई जग्गा धनीपूर्जा वितरण गरेर खुशी दिन सकेको भन्दै प्रसन्नता प्रकट गरिन्। 

उनले संविधानमा प्रत्येक नागरिकलाई भूमिको ज्ञारेन्टी गर्ने भनेर लिपीबद्ध गरिएको र त्यसको कार्यान्वयन स्वरुप जग्गा धनीपूर्जा वितरण गर्ने कार्य भइरहेको बताईन्। उनले जग्गा धनीपूर्जालाई पहिलेकोजस्तै सेतो पूर्जा वा नक्कली हो कि भनेर आशंका नगर्न आग्रह गर्दै उनले भनिन्,‘सुकुम्बासीलाई जग्गा धनीपूर्जा दयामायाले दिएको होईन। संविधानले ज्ञारेन्टी गरेको अधिकार कार्यान्वयनमा लगिएको हो। यो विधि र प्रक्रिया पूरा गरेर दिइएको छ। अब जुनसुकै सरकार र आयोग आएपनि खारेज गर्न सक्दैन।’ उनले सुकुम्बासीलाई यो वा त्यो बहानामा भोटबैंकको रुपमा मात्रै प्रयोग गर्ने दुषित राजनीतिको अन्त्य गर्न जग्गा धनीपूर्जा वितरण गरिरहेको उल्लेख गरिन्।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष नईन्द्र केशव निरौलाले चुनावै चुनावको मुखमा जग्गा धनीपूर्जा वितरण गर्नुपरेकाले केहि ढिलाई भएको बताए। तर चुनावलाई देखाएर लालपूर्जा वितरण कार्य प्रभावित पार्ने प्रयास जोकसैबाट भएपनि सह्य नहुने चेतावनी दिए।

प्रकाशित: १९ भाद्र २०७९ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App