गाईको उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली जनताको पोषण सुरक्षा र जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले चितवनको रामपुरमा राष्ट्रिय गाई अनुसन्धान केन्द्र स्थापना गरिएको छ। तर, केन्द्रमा गोठको अभाव हुँदा अनुसन्धानमा समस्या देखिएको छ।
‘हामी बढी अनुसन्धानमा केन्द्रीत हुने गर्दछौँ। हामीले अनुसन्धानको लागि गाईहरु अझै बढाउनुपर्ने हुन्छ,’राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका सूचना अधिकारी शिवहरी घिमिरले भने, ‘गोठ साँघुरो हुँदा गाई थप्न पाएका छैनौँ।’
अनुसन्धान केन्द्रमा रहेको गोठको क्षमता १५० गाई अट्ने हो। तर, यहाँ २२२ वटा गाई रहेका छन्। २० वटा बाच्छाबाच्छि अटाउने गोठमा ५० वटा बाच्छाबाच्छि कोचिएर राखिएको छ। औषधि उपचारका लागि आइसोलेसन बनाइएको गोठमा अन्य गाई छन्। तर, बिरामी हुँदा औषधी उपचार गर्ने छुट्टै गोठको समेत व्यवस्था छैन। जसका कारण अनुसन्धानमा समस्या भएको घिमिरे बताउँछन्।
‘बिरामी गाईलाई अन्य गाईसंग राख्दा रोग सर्ने सम्भावना बढी हुन्छ। उनीहरुलाई छुट्टै राखेर उपचार गर्नुपर्ने हो,’उनले भने, ‘गोठ नहुँदा एकैठाउँमा राखेर उपचार गर्नुपरेको छ।’ ब्याउने गाईहरु पनि साँघुरा गोठमा छन्। राम्रोसंग हावा नखेल्दा गाईहरु बढी बिरामी हुने गरेको उनले बताए। दुहुना गाई ५५ वटा छन्। दुहुन पनि समस्या भएको उनले बताए। गोठ निर्माणमा सरकारलाई बजेट माग गरेपनि विनियोजन हुन नसकेको उनले बताए। ‘चार वर्षदेखि गोठ बनाउन प्रत्येक वर्ष बजेट मागेका थियौँ। तर, माथीबाट काटिएर आउने,’ उनले भने, ‘अनुसन्धानसंगै पूर्वाधार निर्माणका लागि हामीलाई बजेट आवश्यक परेको छ।’
अनुसन्धान केन्द्रमा होलिस्टिीन फ्रेजियन क्रस, जर्सी क्रस, हिमालमा जातको लुलु र शुद्ध तराई जातका गाई रहेका छन्। उनीहरुबाट प्रत्येक वर्ष ७० को हाराहारीमा बाच्छाबाच्छि थपिदै आएका छन्। तर, गोठ थपिएको छैन। जसका कारण उन्नत जातका गाई तथा गोरुहरु सस्तो मुल्यमा अनुसन्धान केन्द्रले बेच्न बाध्य भएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत यज्ञराज पाण्डे बताउँछन्। ‘यहाँ प्रत्येक वर्ष बाच्छाबाच्छि थपिन्छन्। राख्ने ठाउँ हुँदैन,’ उनले भने, ‘उन्नत जातका गाई र गोरुहरु एक हजार रुपैयाँसम्ममा बेच्ने गरेका छौँ।’ विशेष गरि बहरहरु बेच्न नसकिने उनले बता । नश्ल सुधार र मल बनाउन किसानले बहरहरु लैजाने गर्दछन्। तर, किसानको त्यो संख्या न्यून छ। अहिलेपनि ५० वटा बहरहरु केन्द्रमा रहेको उनले बताए। यहाँ उन्नत जातको गाईलाई एक हजार देखि ८० हजार रुपैयाँसम्म बिक्रि गर्ने गरेको उनले बताए।
अनुसन्धान कार्यक्रमका लागि सञ्चालन खर्च भनेर २ करोड ७० लाख विनियोजन भएको छ। जसमा फार्म व्यवस्थापनमा २ करोड माथि खर्च हुने गरेको छ। अनुसनधानका लागि ६० लाख बजेट आउँछ। त्यो अपुग हुने उनको तर्क छन ।
‘गाईको धेरै लामोसयम अनुसन्धान गर्नुपर्छ। अनुसनधानको नतिजा आउँदैन। बजेट न्यून छ। बजेटकै कारण अनुसन्धानका कार्यहरु द्रुत गतिमा अगाडि बढ्न सकेका छैनन्। उनले भने, ‘केही सिमिति स्रोत साधन भएपनि अनुसनधानका कामहरु गरेका छौँ। नयाँ जातको विकास, आहारा, र दुःधको अनुसन्धान गरिहेका छौँ।’
२०४८ सालमा नेपाल कृषि अनुसन्धान परिषद्को गठन संगै यसको नाम राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रम राखिएको थियो। २०६९ सालमा राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रमलाई पुनसंरचित गरि राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम छुट्टा छुट्टै हुनेगरी विभाजन गरियो। त्यस लगत्तै २०७१ सालमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम खुमलटार बाट रामपुर, चितवनमा आएको थियो। यसले माडी र रुपन्देहीको देवदहमा समेत अनुसन्धान गर्दै आएको छ। तर, सरकारले अनुसन्धानको लागि उचित वातावरण नबनाइदिँदा अनुसन्धानमा समस्या हुँर्दै आएको वैज्ञानिकहरु बताउँछन्।
प्रकाशित: १८ भाद्र २०७९ ०२:४० शनिबार