४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा लगानी गर्न भारतीयलाई आग्रह

सरकार र निजी क्षेत्रले भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्।

भारतको उडिसाबाट नेपाल भ्रमणमा आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारीसँग भएको अन्तक्रियामा यस्तो आग्रह गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको जानकारी दिए।

उनले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको र एकद्वार नीति अबलम्बन गरेको बताए। उनले नेपालमा गरिने लगानीका लागि भारत एवं चीन लगायत प्रमुख बजार रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको भन्दै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए। उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, युनिलिभर नेपाल लगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि आग्रह गरे।

उनले सिमेन्ट, खानी, जलविद्युत्, सूचना प्रविधि लगायतका क्षेत्रमा निकै अवसर रहेको बताए। ७७ वटा नेपाली उत्पादनलाई अमेरिकाले भन्सार र कोटारहित सुविधा दिएको जानकारी गराउँदै नेपालमा उच्च प्रतिफलको सम्भावना रहेको बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताए।

उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका अध्यक्ष ब्रह्मा मिश्राले नेपाल लगानीका लागि उचित गन्तव्यमुलुक भएको बताए। उनले नेपाल सरकार, नेपालको निजी क्षेत्रले भारतीय लगानीकर्तालाई गरेको सम्मान एवं स्वागतले आफूहरूलाई ऊर्जा प्रदान गरेको बताए।

प्रकाशित: ३ भाद्र २०७९ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App