४ वैशाख २०८१ मंगलबार
अर्थ

प्याराग्लाइडिङलाई त हट्न भनियो, तर हेलिकप्टर, अल्ट्रालाइट र जाइरोकप्टर कहाँ जाने?

अहिलेसम्म विकल्प दिइएको छैनः व्यवसायी

पोखराको चालु विमानस्थलमा पार्किङ गरिएका जहाज र अल्ट्रालाइटका ह्यांगर। फाइल तस्बिरः नागरिक

आगामि जनवरी एकदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भन्दै पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भनिसकेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय क्यानले जनवरी एक अघि नै पोखराको आकाश खालि गर्न प्याराग्लाइडिङलाई भनिरहँदा पोखराको चालु विमानस्थलबाट सेवा दिईरहेका अल्ट्रालाइट, हेलिकप्टर, जाइरोकप्टर लगायतका पर्यटकीय प्रडक्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने अझै निर्णय भएको छैन।  

पोखराको चालु विमानस्थलबाट अहिले विभिन्न गन्तव्यका लागि हुने नियमित हवाई सेवा बाहेक हेलिकप्टर, जाइरोकप्ट, अल्ट्रालाइट कम्पनिले पनि सेवा दिईरहेका छन्। हेलिकप्टर, जाइरोकप्टर र अल्ट्रालाइट कम्पनिले विमानस्थल परिसरभित्र ह्यांगर नै बनाएर सेवा दिईरहेका छन्। हेलिकप्टर खोज, राहत र उद्धारसँगै पर्यटकीय गतिविधि प्रयोग हुने गरेका छन्। अल्ट्रालाइट र जाइरोकप्टर नितान्त पर्यटकीय गतिविधिका प्रडक्ट हुन् । तर, ती प्रडक्टबारे अहिलेसम्म प्राधिकरणले आधिकारिक रुपमा केही जानकारी नदिएको अल्ट्रालाइट कम्पनिका संचालकले बताएका छन्।  

पोखरा अल्ट्रालाईट कम्पनिका संचालक पोमनारायण श्रेष्ठका अनुसार विमानस्थलको परिसरमा प्रभु र सिम्रिक हेलिकप्टर कम्पनिका ह्यांगर छन। त्यस्तै तीनवटा अल्ट्रालाइट कम्पनि (एभिया, फिस्टेल र पोखरा)का पनि ह्यांगर छन्। त्यसबाहेक जाइरोकप्टरले पनि आफ्नै ह्यांगर बनाएर सेवा दिईरहेको छ।

‘क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भनेपछि यहाँको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सर्न भनिएको छ। तर, हामीलाई भने कसरी र कहाँ व्यवस्थापन गर्ने वा क्षेत्रीय विमानस्थलबाटै उडान गर्न दिने भन्नेबारेमा अहिलेसम्म जानकारी आएको छैन,’ श्रेष्ठले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा यी सबै कम्पनिलाई व्यवस्थापन गर्न सहज पनि छैन। एयर ट्राफिकको नियन्त्रणमै रहेर यी सबै प्रडक्टले उडान गर्ने भएपनि अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको भन्दा बढी व्यस्त हुने हुँदा सहज नहुन सक्छ। त्यसैले सकेसम्म चालु विमानस्थलबाटै यी प्रडक्टको सेवा निरन्तर हुनुपर्ने उनले बताए।

‘एउटा ह्यांगर बनाउन करिब दुइकरोड रुपैयाँ लाग्छ। हामीलाई क्षेत्रीय विमानस्थलमा साार्न खोजे ह्यांगर त सारौला, तर, त्यो उत्तम विकल्प नहुन सक्छ। किनकी त्यहाँ (क्षेत्रीय विमानस्थल) बाट ठुला आकारका जहाजको उडान हुने भएकोले साना आकारका यी प्रडक्ट व्यवस्थापनमा कठिन हुन्छ,’ उनले भने, ‘सबैभन्दा उपयुक्त विकल्प भनेकै चालु विमानस्थललाई सुरक्षित राखेर हवाई खेलकुदका साहसिक गतिविधि गर्न सकिन्छ। पर्यटकलाई पोखराको आकाशमा सयर गराउने यी अल्ट्रालाइटलाई क्षेत्रीय विमानस्थलको भीडमा लैजान जरुरी छैन। चालु विमानस्थलको संरक्षण गर्दै चालु अवस्थामै संचालन गर्न दिनुपर्छ।’ 

यी प्रडक्टले पर्यटकलाई समय तोकेर पोखरा सहित हिमाली क्षेत्रसम्मको आकाशमा सयर गराउँछन्। हेलिकप्टर बाहेक अल्ट्रालाइट र जाइरोकप्टरमा पाइलटसँगै एकजना यात्रु मात्र उड्न मिल्छ। पोखराको आकाशमा वर्षेनी हजारौं पर्यटकलाई उडाउँदै आएका यी साना प्रडक्टले साहसिक पर्यटनमा पनि उत्तिकै योगदान दिएकोले बिस्थापित हुँदा पर्यटनमा झनै असर पर्ने उनले बताए। 

‘चालु विमानस्थललाई फरक रुपमा उपयोग गर्न पनि सकिन्छ। ठुलै आकारका जहाजको ह्यांगर पनि बनाउन सकिन्छ। राहत र उद्धारका बेला पनि उपयोग गर्न सकिन्छ। अरुबेला पर्यटकीय गतिविधिका प्रडक्ट संचालन गर्न मिल्छ,’ उनले भने, ‘भएको सम्पत्ति नोक्सान गर्नु हुँदैन। संरक्षण गरेकै जाति मानिन्छ।’  

पोखराका यी पर्यटकीय प्रडक्टले साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको श्रेष्ठ बताउँछन्। ‘अल्ट्रालाइटबाट पोखराको आकाशमा सयर गर्न हजारौं विदेशी पर्यटक आउँछन्। पोखरा आएका चिनियाँ पर्यटकले अल्ट्रालाइट निकै नै रुचाएको प्रडक्ट हो,’ उनले भने, ‘प्याराग्लाइडिङजस्तै अल्ट्रालाइट पनि पर्यटकले रुचाएको प्रडक्ट हो।’ हेलिकप्टर भने खोजी, राहत र उद्धारमा खटिने बाहेक मर्दी, अन्नपूर्ण आधारशिविर, मुक्तिनाथ लगायतका गन्तव्यसम्म पर्यटक लैजाने र ल्याउने गर्छन।  

प्राधिकरणका पोखरा प्रमुख बिक्रम गौतम पनि हेलिकप्टर सहित पर्यटकीय प्रडक्टको रुपमा चिनिएका अल्ट्रालाइट र जाइरोकप्टरका लागि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कुनैपनि पूर्वाधार नबनेको बताउँछन्। ती प्रडक्टबारे अहिले नै कुनै पनि निर्णय नभएको पनि उनले जानकारी दिए। ‘तत्कालका लागि चालु विमानस्थलबाटै यी प्रडक्ट संचालन हुन्छन। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा साना प्रडक्ट व्यवस्थापनका लागि ठाउँ पनि छैन,’ गौतमले भने, ‘तत्कालै क्षेत्रीय विमानस्थलबाट यी प्रडक्ट संचालन गर्न समस्या हुन्छ।’ अहिलेसम्म अध्ययन नभइसकेपनि क्षेत्रीय विमानस्थलबाट अल्ट्रालाइटको उडान सम्भव नहुने उनले बताए।

‘हेलिकप्टरका लागि पनि ठाउँ छैन। अल्ट्रालाइट त झनै परको कुरा हो,’ उनले भने, ‘यी प्रडक्ट हामी सबैका लागि चाँसोका विषय हुन। यिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छिटै अध्ययन हुनेछ।’ सराङकोटको आकाशमा हुने प्याराग्लाइडिङलाई विकल्प खोज्न भनिसकेपनि विमानस्थलको टावरका नियन्त्रणमा उड्ने अल्ट्रालाइट, जाइरोकप्टर लगायतका प्रडक्टको उडानबारे कुनै निणर्य नभएको पनि उनले बताए। ‘आन्तरिक उडानका ‘फिक्स विङ’ र अन्तर्राष्ट्रिय उडानका जहाज क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै उड्छन। तर अरुको बारेमा भने अझै निर्णय भएको छैन,’ उनले भने, ‘खेल र पर्यटकीय गतिविधिसँग सम्बन्धित हुने भएकोले अहिलेसम्म निर्णय भएको छैन।’  

प्रकाशित: २९ श्रावण २०७९ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App