७ वैशाख २०८१ शुक्रबार
अर्थ

विदेशी पाहुना आगमनः पहिलो नम्बरमा भारत, दोस्राेमा अमेरिका

अन्नपूर्ण आधारशिविर पदमार्गमा पुगेका पाहुना। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले लामो समयसम्म थलिएको पर्यटन क्षेत्र पछिल्लो समय लयमा फर्किने प्रयासमा छ। सन् २०२२ को अहिलेसम्म (जनवरी–जुलाई) को विदेशी पाहुनाको आगमनले पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखिएको व्यवसायीले बताएका छन्। पर्यटन बोर्डको तथ्यांकले पनि पर्यटन क्षेत्रले गति लिन थालेको देखाउँछ। यो अवधि (सात महिना) मा सबैभन्दा बढी पाहुना छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका छन्।  

यो वर्षको सात महिनाको अवधिमा नेपालमा विदेशी पाहुना भित्रिने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ। दोश्रो नम्बरमा अमेरिका, तेश्रोमा बेलायत पर्छ। चौथोमा बंगलादेश र पाँचौ नम्बरमा अस्ट्रेलिया पर्छ। छिमेकी मुलुक भारतबाट आउजाउ सहज हुँदा बढी पाहुना भित्रिएको व्यवसायीले बताउँदै आएका छन्। भारत बाहेकका मुलुकबाट पनि पाहुना भित्रिँदा पर्यटन क्षेत्रले पहिलेकै गति लिने संकेत देखिएको व्यवसायीको भनाई छ।  

पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार यो वर्षको सातमहिनाको अवधिमा सबैभन्दा बढी १ लाख १४ हजार ६ सय १३ जना भारतीय पाहुना नेपाल भित्रिएका छन्। दोश्रो नम्बरमा परेको अमेरिकाबाट यो अवधिमा ३९ हजार १ सय ५५ जना पाहुना भित्रिएका छन्। त्यस्तै तेश्रो नम्बरमा परेको बेलायतबाट सातमहिने अवधिमा २१ हजार ७ सय २८, चौथो नम्बरमा परेको बंगलादेशबाट १३ हजार १४ र पाँचौ नम्बरमा परेको अस्ट्रेलियाबाट अहिलेसम्मको अवधिमा ९ हजार ६५ जना पाहुना भित्रिएका छन्। बोर्डको तथ्यांक अनुसार नेपाल भित्रिएका ती सबै विदेशी हवाई माध्यमबाट आएका हुन्।  

‘पर्यटक आगमनमा सुधार देखिँदै गएको छ। आगामि सिजनमा आगमन झनै राम्रो हुने संकेत पाएका छौ,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘कोरोना संक्रमणले गर्दा पाहुना घुमफिरमा निस्कन सकेका थिएनन। कतिपय मुलुकले त आफ्ना नागरिकलाई घुमघाममा जानका लागि रोक पनि लगाएका थिए। घुमघाममा रोक लगाएका मुलुकले पनि अहिले नागरिकलाई बाहिर निस्कन खुला गर्न थालेका छन। त्यसले गर्दा सुधार हुने संकेत देखिएको छ।’ पछिल्लो समय चिनियाँ पाहुना पनि नेपाल भित्रिन थालेका छन्। भारत र चीनलाई नेपालको पर्यटन क्षेत्रले पर्यटनको मुख्य श्रोतबजारको रुपमा लिने गरेको छ।

अब कुनै अवरोध नहुने हो भने पर्यटक आगमनमा अझै सुधार हुने लामिछानेले बताए पछिल्लो समय विश्वव्यापी रुपमा नै पर्यटनमा सुधार देखिएको उनले बताए। कोरोना अघिको अवस्थामा फर्किन केही समय लाग्ने भएपनि लयमा फर्किने संकेत भने मिल्दै गएको र त्यसले सिंगो पर्यटन क्षेत्रमा सुधार देखिएको लामिछानेको भनाई छ। ‘अब आउने सिजनका महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा उल्लेख्य सुधार हुने अपेक्षा छ,’ उनले भने, ‘आगामि सिजन अब केही समयमा सुरु हुने हुँदैछ। विश्वव्यापी रुपमा अहिले विदेशी पाहुनाको हिडडुल बढेको पनि छ।’

सात महिनामा यो अवधिमा सबैगरि २ लाख८५ हजार ३ सय ७२ जना पाहुना नेपाल भित्रिएका छन्। पर्यटकीय सिजन अनुसार हरेक महिनाको आगमन अघिल्ला वर्षको तुलनामा बढिरहँदा पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखाएको बोर्डको भनाई छ। बोर्डका निर्देशक लामिछानेका अनुसार गत जुलाईमा मात्र नेपालमा ४४ हजार ४ सय ६२ जना विदेशी पर्यटक भित्रिएका छन्। यो संख्या २०१९ मा ५८ हजार ८ सय ११ थियो।  

बोर्डले हवाई माध्यमबाट भित्रिएका पाहुनाको मात्र तथ्यांक राख्ने भएकोले स्थलमार्गबाट भित्रिएका पाहुनाको गणना भने कतै भएको छैन। पोखरा, चितवन, काठमाडौं लगायतका गन्तव्यमा स्थलमार्गबाट भित्रिने भारतीय पाहुना पनि पर्याप्त हुन्छन्। पोखराका पर्यटन व्यवसायी राजेश पहारीका अनुसार स्थलमार्गबाट भित्रिने भारतीय पाहुनाको संख्या हवाई माध्यमको भन्दा निकै नै बढी हुन्छ।

‘हवाई माध्यमबाट भित्रिएका पाहुनाको भरमा मात्र चल्नुपर्ने अवस्थामा त हामीलाई निकै नै सकस हुन्थ्यो। तर, पोखराले त स्थलमार्ग हुँदै भित्रिएका धेरै भारतीय पाहुनालाई सिधै पोखरामा स्वागत गर्न पाउँछ। त्यसले गर्दा व्यवसाय धान्न सहज भएको हो,’ उनले भने, ‘यो बीचमा भारतीयको आगमन निकै नै राम्रो रह्यो। भारतीयको भरमा हामी व्यवसायी धानिएका हौ।’  

उनका अनुसार गत मार्च र अप्रिल महिनामा स्थलमार्ग हुँदै भित्रिएका भारतीयको संख्या अधिक थियो। त्यो बेला भित्रिएका भारतीय पाहुना मध्ये करिब ८० प्रतिशतले सुनौली नाका प्रयोग गर्दथे। निजी गाडिमा पारिवारिक घुमघाम पनि त्यो बेला बढेको हो। मुक्तिनाथ दर्शन गर्नका लागि पनि यो बीचमा धेरै नै भारतीय पाहुना भित्रिँदा त्यसले पर्यटन व्यवसायमा सहजता दिलाएको पहारीले बताए।

पछिल्लो समय नेपालमा बंगलादेशी पाहुना पनि बढ्न थालेका छन्। तर, बंगलादेशी पाहुना हवाई माध्यम हुँदै भित्रिन्छन। स्थलमार्गबाट आउने बंगलादेशीको संख्या न्यून हुने गरेको छ। पछिल्लो समय भित्रिएका बंगलादेशी पाहुनाका कारणले पनि पर्यटनमा राहतको सास फेर्न सकेको पहारीले बताए ‘कोरोना संक्रमणले रोकिएको यात्रा अब खुल्दैछ। यूरोपियन मुलुकका पाहुनाले बल्ल घुमघामको योजना बनाउन थालेका छन,’ उनले भने, ‘अहिलेसम्म बाहिर निस्कन सक्ने अवस्था थिएन। यूरोपियन पाहुनाको घुमघामको सिजन पनि अब सुरु भएको छ। आगामि दिनमा आगमन बढ्नेमा हामी आशावादी छौं।’  

प्रकाशित: २४ श्रावण २०७९ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App