७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

भित्रिन थाले चिनियाँ पर्यटक

पर्यटन क्षेत्र लयमा फर्कदै

प्याराग्लाइडिङका लागि पोखराको सचाङकोट पुगेका चिनियाँ पर्यटक।

नेपालको पर्यटन क्षेत्रका लागि विदेशी पाहुना आउने एउटा स्रोतबजार मानिएको चीनबाट पनि पाहुना भित्रिन थालेका छन्। यो जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट १५ सय ९३ जना चिनियाँ पर्यटक भित्रिएका छन्। जुलाई महिनामा भित्रिएको चिनियाँको यो आगमन कोरोना भाइरस संक्रमण सुरु भएपछिको सबैभन्दा ठूलो रहेको पर्यटन बोर्डले बताएको छ।

कोरोना संक्रमण सुरु भएपछि चीनले आफ्ना नागरिकलाई घुमघाममा निस्कनका लागि कडाइ गरेको थियो। बेलाबेला कोरोनाको संक्रमण फैलिँदा चिनियाँ नागरिक घुमघाममा निस्कन पाएका थिएनन्। त्यसबाहेक चिनियाँ सहरसँग हुने नेपालको सिधा हवाई उडान समेत रोकिएको थियो। पछिल्लो समय नेपाल र चीनका केही सहरबीच सिधा हवाई उडान सुरु भएपछि चिनियाँको आगमन बढ्न थालेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।

‘चिनियाँको आगमन सुरु भएको छ। कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी आगमन गत जुलाई महिनामा भयो,’ लामिछानेले भने-‘२०२२ लागेपछि सबैभन्दा बढी चिनियाँ पाहुना जुलाई महिनामा नेपाल भित्रिएका छन्। आगामी दिनमा थप चिनियाँ पाहुना भित्रिनेमा आशावादी हुन सकिन्छ।’ नेपालको पर्यटन क्षेत्रले चीनलाई प्रमुख स्रोत बजार मध्येको एउटा मान्छ। कोरोना सुरु हुनुअघि २०१९ को जुलाई महिना नेपालमा १० हजार ८ सय ८ जना चिनियाँ पाहुना आएका थिए।

‘हङकङ र चीनको छेन्दुुसम्म अहिले काठमाडौंबाट सिधा उडान सुरु भएको छ। यसले आगमनलाई बढाएको हो। अब कोरोना संक्रमण नफैलने हो भने थप चिनियाँ भित्रिनेमा आशावादी हुन सकिन्छ,’ लामिछानेले भने- ‘लामो समय रोकिएको सिधा उडान खुलेपछि चीनका नागरिक घुमघाममा निस्कन थालेका छन्। त्यसले नेपालको पर्यटन क्षेत्रमा पनि राहत दिने अपेक्षा छ।’ लामिछानेले अघिल्ला महिनासम्मको चिनियाँ पाहुनाको आगमन सीमित थियो। जनवरीमा ३२१, फेब्रुअरीमा २०५, मार्चमा ४३१, अप्रिलमा २८१, मेमा ३८८ र जुनमा ४५१ जना चिनियाँ पाहुना नेपाल भित्रिएका छन्।

सात महिनामा २ लाख ८५ हजार

नेपालमा सात महिना (जनवरी–जुलाई) को अवधिमा २ लाख ८५ हजार विदेशी पाहुना भित्रिएका छन्। पर्यटन बोर्डको तथ्यांक अनुसार गत जुलाईसम्मको आगमन २ लाख८५ हजार ३ सय ७२ रहेको छ। हरेक महिनाको आगमन बढिरहँदा पर्यटनक्षेत्र लयमा फर्किने संकेत देखाएको बोर्डको भनाइ छ।

 बोर्डका निर्देशक लामिछानेका अनुसार गत जुलाई महिनाको आगमन पनि सुखद् देखिएको छ। जुलाईमा सबै गरी नेपालमा ४४ हजार ४ सय ६२ जना विदेशी पर्यटक भित्रिएका छन्। यो संख्या २०१९ मा ५८ हजार ८ सय ११ थियो। २०१९ को जुलाई महिनाको तुलनामा यो जुलाईमा पर्यटक आगमनको आकार झन्डै ७६ प्रतिशतले सुधार भएको उनले बताए। कोरोना कालमा २०२० र २०२१ मा जुलाई आगमन निकै कम थियो। २०२० को जुलाईमा २११ र २०२१ को जुलाईमा २९ सय ९१ जना पाहुना नेपाल भित्रिएका थिए।

बोर्डको तथ्यांक अनुसार यो वर्ष नेपालमा जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८ र जुनमा ४६ हजार ९५७ जना पाहुना नेपाल भित्रिएका छन्। यी सबै पाहुना हवाई माध्यममार्फत नेपाल भित्रिएका हुन्। ‘अब कुनै अवरोध नहुने हो भने पर्यटक आगमनमा अझै सुधार हुनेछ। अहिले विश्वव्यापी रूपमा नै पर्यटनमा सुधार देखिएको छ,’ उनले भने-‘कोरोना अघिको अवस्थामा फर्किन केही समय लाग्ने भए पनि लयमा फर्किने संकेत भने मिलेको छ।’ अब आउने सिजनका महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा उल्लेख्य सुधार हुने अपेक्षा रहेको उनले बताए।

बोर्डका अनुसार यो जुलाईमा सबैभन्दा बढी दक्षिण एशियाली मुलुक (सार्क सदस्य) बाट नेपालमा पाहुना भित्रिएका छन्। ती मध्येपछि भारतीयको संख्या बढी छ। जुलाई मात्र नेपाल भित्रिने भारतीयको संख्या १७ हजार २ सय ९९ रहेको छ। यो आकार २०१९ को जुलाईको भन्दा पनि बढी हो। २०१९ को जुलाईमा १५ हजार ५ सय ९९ जना भारतीय नेपाल भित्रिएका थिए।

त्यसपछि बंगलादेशका पाहुनाको आगमन बढी छ। यो जुलाईमा १८ सय ७४ जना बंगलादेशी पाहुना नेपाल भित्रिएका छन्। बंगलादेशीको यो आगमन २०१९ को जुलाईमा १४ सय ४८ थियो। त्यसैगरी अरू एसियाली मुलुकबाट भित्रिने पर्यटकको संख्या ४१ सय ९५ रहेको छ। यो जुलाईमा युरोपियन मुलुकबाट ९ हजार १ सय २१ जना पाहुना नेपाल भित्रिएका छन्। ती मध्ये सबैभन्दा बढी बेलायतबाट ३ हजार ९५३ जना भित्रिएका छन्। २०१९ को जुलाईमा बेलायतबाट ४ हजार १२ जना मात्र भित्रिएका थिए। त्यसैगरी अमेरिकाबाट ५ हजार २२८ जना पाहुना नेपाल भित्रिएका छन्।

विश्व पर्यटन संगठन (युएन-डब्लुटिओ) ले पनि पछिल्लो समय पर्यटनमा सुधार हुँदै गएको देखाएको छ। कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्र पछिल्लो समय सुधारको लयमा फर्केको संगठनको भनाइ छ। संगठनका अनुसार २०२२ को पहिलो पाँच महिना (जनवरी-मे) सम्मको अवस्थामा विश्भरका करिब २ अर्ब ५० करोड पर्यटक विभिन्न मुलुकको घुमफिरमा निस्केका छन्। यो आकार सन् २०२१ को पहिलो पाँच महिनामा जम्मा ७७ करोड रहेको संगठनको भनाइ छ। 

प्रकाशित: २३ श्रावण २०७९ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App