३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुटवल पावर कम्पनी पुरस्कृत

बुटवल पावर कम्पनी साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ।

नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो।

महालेखा नियन्त्रक सुमनराज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेको छ। यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ। कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत् केन्द्रहरूबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६०,००० ग्राहकहरूलाई विद्युत् वितरण गरी आएको छ।

हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनाहरूमा पनि कम्पनीको लगानी रहेको छ भने पूर्व निर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिनस्थित करिब ६०० मेगावाटको तीनवटा जलविद्युत् आयोजनाहरूमा समेत लगानी रहेको जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७९ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App