८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

बीउ उत्पादनमा आत्मनिर्भर सुर्खेत, पहिले आयात हुन्थ्यो, अहिले निर्यात

बीउको ग्रेडिङ गर्दै पूर्वी सुर्खेतका महिलाहरु।

सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का खड्कबहादुर खत्रीलाई १० वर्ष अघिसम्म बीउ खरिद गर्न सदरमुकाम वीरेन्द्रनगर धाउनु पर्ने बाध्यता थियो। गाउँमा बीउ नपाउँदा समय त खेर जान्थ्योनै जान आउन लाग्ने खर्चसमेत दोब्बर हुन्थ्यो।

परम्परागत खेती गर्दै आएका उनी अहिले आफैं बीउ उत्पादक कृषक हुन्। १० कठ्ठा जमिनमा खत्रीले हिउँदे र बर्खे गरी दुई सिजन भिण्डी र धान (सुख्खा चार) को वीउ उत्पादन गर्दै आएका छन्। छ जनाको परिवार परिवार पाल्ने मुख्य आम्दानीको स्रोत अहिले बीउ उत्पादन बनेको छ।

‘पहिले बीउ पाउनै मुस्किल हुन्थ्यो, अहिले बीउमा आत्मनिर्भर भएका छौं, उत्पादित वस्तुको बजारीकरणको समस्या छैन्,’ उनले भने, ‘बीउ बेचेरै वार्षिक तीन–चार लाख रुपैयाँ आम्दानी भइरहेको छ।’ गुर्भाकोट नगरपालिका–७ का लिलबहादुर थापा पनि धान र मकैको बीउ उत्पादन गर्छन्। उनले आठ हेक्टर जमिनमा मकै, धान, गहुँ, बदाम आदिको बीउ उत्पादन गर्दै आएका छन्।

बीउबाटै थापाले खर्च कटाएर वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। खड्का र खत्री जस्तै पूर्वी सुर्खेतका करिब एक हजार ६४५ जना कृषकहरु बीउ उत्पादनमा आत्मनिर्भर मात्रै बनेका छैनन्, निर्यात गर्न सक्ने हैसियतमा पुगेका छन्। अझ बीउ उत्पादनमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख्य छ।

वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड) ले विभिन्न कृषक समूह गठन गरी तरकारी तथा तरकारी बीउ उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको छ। यसैमार्फत् सञ्चालनमा आएको पवित्र जनकल्याण कृषक सहकारी संस्थाले बीउ उत्पादन र बजारीकरण गरिरहेको छ।

सहकारीले कृषकहरुलाई बीउ उत्पादनका लागि सहजीकरण गर्छ। उत्पादन भएको बीउ संकलन गरेर त्यसको बजारीकरण गरिदिन्छ। पूर्वी सुर्खेतमा उत्पादन भएको हिउँदे, वर्षे तरकारी र विभिन्न छ प्रजातिका खाद्यान्न बालीका बीउहरु अहिले देशका ३९ जिल्लामा निर्यात हुँदै आएको छ।

अघिल्लो आर्थिक वर्षमा मात्रै सहकारीले तीन करोडबढीको बीउ निर्यात गर्‍यो। ‘किसानदेखि किसानसम्म’ नीति अन्तर्गत ३८ वटा कृषक समूहमार्फत् बीउ उत्पादन र संकलन हुने गरेको छ। सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न जातका तरकारी तथा खाद्यवालीका बीउ बेचेर तीन करोड ६८ लाख ५१ हजार १५० रुपैयाँ आम्दानी गरेको थियो।

आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा क्रमशः एक करोड १८ लाख र दुई करोड ३६ लाख आम्दानी गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायाले कृषिलाई आधुनिकतातर्फ प्रवोधिकरण गर्दै अर्गानिक उत्पादनमा जोड दिन पूर्वी सुर्खेतलाई बीउ उत्पादन ब्लक क्षेत्र घोषणा गरिएको बताए।

‘बीउ उत्पादन वृद्धि भएसँगै ग्रेडिङ्गका लागि मेसिन उपलब्ध गराएका छौं,’ उनले भने, ‘दशक अघिसम्म बीउ आयात गर्ने सुर्खेत अहिले वार्षिक करोडाैंको बीउ निर्यात गर्ने अवस्थामा पुगेको छ।’

प्रकाशित: ११ श्रावण २०७९ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App