९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

औद्योगिक क्षेत्रमा ८ वर्षदेखि जग्गा कब्जा

औगागिक क्षेत्रमा ८ वर्षदेखि जग्गा कब्जा।

कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्रका उद्योगहरूले आठ वर्षदेखि जग्गा कब्जा गरेका छन्। लामो समयदेखि उद्योग सञ्चालन नगरी जग्गा कब्जा गर्ने उद्योगहरूलाई औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय सुर्खेतले कारबाहीको प्रक्रिया सुरू गरेको छ।

२० वर्षका लागि २ रोपनी जग्गा लिएको एसके प्रिन्ट सोलुसन, ४० वर्षका लागि देउती हर्वल उद्योगले १ रोपनी जग्गा भाडा लिएका थिए। जिआईजेटको अनुदानमा देउती हर्वलले कारखानाका लागि भवन बनाएको छ तर मेसिन ८ वर्षदेखि नल्याएर जग्गा कब्जा गरेको हो।

२६ जना साझेदार रहेको देउती हर्वलले अनुदानमा भवनबाहेक साबुन उद्योगका लागि मेसिन ल्याउन सकेन्। औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली अनुसार २०७१ वैशाख १७ अगाडि २० वर्ष र त्यसपछि ५० वर्षसम्म जग्गा भाडामा दिन सकिने व्यवस्था गरिएको छ। ढुक्कसँग उद्योग सञ्चालनका लागि नयाँ नियम आएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

जग्गा भाडामा लिएको दुई वर्षभित्र उद्योग सञ्चालन गर्नुपर्ने नियममा उल्लेख छ। सम्झौता भएको दुई वर्षभित्र उद्योग सञ्चालन नभए जग्गा खाली गर्नुपर्ने भए पनि ८ वर्षदेखि दुई उद्योगले वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेका हुन्।

पहिलो चरणमा उद्योग सञ्चालकहरूलाई उद्योग सञ्चालन गर्नका लागि छलफल हुने र अझै उद्योग नचलाए ७ दिने र ३५ दिने सूचना निकाल्ने कानुनी व्यवस्था रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेले बताए।

बक्यौता असुल गर्नेदेखि सहमतिमा नयाँ उद्योगलाई हस्तान्तरण गर्ने वा सम्झौता नै खारेज गरी लिलामी प्रक्रियाका लागि आवश्यक प्रक्रिया पुर्‍याएर मूल्यांकन समितिले खारेज गर्ने वा खारेजको लागि माथिल्लो निकायमा स्वीकृतिका लागि सिफारिस गर्ने कानूनी व्यवस्था छ।

सञ्चालनमा आएका २२ वटा उद्योगबाट ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रभित्र २७ वटा उद्योगमा २२ वटा सञ्चालन भएका छन्। ३ वटा निर्माणाधीन अवस्थामा रहेका छन्। २ वटा उद्योगले जग्गा कब्जा गरेर सञ्चालनमै आएका छैनन्।

९० रोपनी जग्गामा औद्योगिक क्षेत्र फैलिएको छ। कर्णालीमा रहेको एक मात्र औद्योगिक क्षेत्रमा ठूला उद्योगहरू सञ्चालनमा आउन सकेका छैन्। वीरेन्द्रनगरमा २० करोडमुनिको लगानीमा उद्योगहरू सञ्चालनमा रहेका छन्। वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र काठ उद्योग बढी रहेका छन्।

प्रकाशित: ११ श्रावण २०७९ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App