८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारले नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति अघि सार्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले युवा उद्यमशीलता विकास गर्न नवप्रवर्तन र स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने खालको नीति अघि सारेको बताएका छन्। मन्त्री बडुले व्यावसायिक इन्क्युबेटरहरू स्थापना गर्ने सम्बन्धमा आयोजित सम्मेलनमा बोल्दै सरकारले उद्यमशीलताको विकास गरेर मात्रै मुलुकले औद्योगिक फड्को मार्ने बताए। ‘सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन प्रवद्र्धन गर्ने खालको स्टार्टअप व्यवसायमा सुरूआती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निन्तरता दिएको छ,’ उनले भने, ‘मुलुकको सातवटै प्रदेशमा नवप्रवर्तक कार्यक्रमलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम बजेटमा समावेश गरिएको छ। यसले पक्कै पनि युवा उद्यमशीलता विकासमा टेवा पुग्नेछ।’ मन्त्री बडुले मुलुकमा औद्योगिकरणको विकास गरेर मुलुकको व्यापार घाटा न्यूनीकरण गर्ने खालका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए। ‘सरकारले स्टार्टअफ बिजनेसलाई प्रवद्र्धन गर्ने खालका विभिन्न योजना अघि सारेको छ,’ उनले भने ‘यस्ता खालका कार्यक्रमले पक्कै पनि स्टार्टअप बिजनेसलाई प्रोत्साहन गर्नेछ।’ मन्त्री बडुले सरकाले स्टार्टअप बिजनेस सञ्चालनमा देखिएका नीतिगत तथा कानुनी जटिलताहरूको अन्त्य गरेर प्रोत्साहन गर्ने खालको वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे।  

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालकाबाट करिब ५० लाखभन्दा धेरै युवा विदेश पलायन भएको बताउँदै स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरेर विदेश गएका नागरिकलाई मुलुकमा फिर्ता ल्याउनुपर्ने बताए। ‘युवा शक्ति विदेश पलायन भएर मुलुकको विकास सम्भव हुँदैन। त्यसैले नयाँ नयाँ क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरेर विदेशिएका नेपाली नागरिकलाई स्वदेशमा नै फकाउनुपर्ने हुन्छ।’ अध्यक्ष गोल्छाले स्टार्टअप बिजेनसमा जोखिम धेरै र सफलता कम हुने बताए। ‘स्टार्टअप बिजनेसमा जोखिम धेरै हुने गर्छ,’ उनले भने– ‘यसमा सफलताको रेट कम हुने गर्छ।’  

सरकारले चालु आवको बजेटमा युवा उद्यमशीलता विकास गर्न र नव–प्रवर्तन प्रवद्र्धन गर्न स्टार्टअप व्यवसायमा शुरूवाती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ। त्यसै गरी कार्यक्रमको प्रभाव मूल्याङ्कन गरी सुधार गर्दै लगिने छ। परियोजनाको आधारमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने छ। यस्ता व्यवसायमा भेञ्चर क्यापिटलमार्फत पुँजी व्यवस्थापन गर्नुका साथै अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरिने उल्लेख छ। चालु आवको बजेट वक्तक्यमा युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न च्यालेञ्जर फण्ड स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ। सरकारले चालु आवको बजेटमा निजी क्षेत्रसँगको साझेदारीमा ज्ञानमा आधारित व्यवसाय विस्तार गर्न हेटौडा औद्योगिक क्षेत्रका साथै सातै प्रदेशमा विजनेस इन्कुवेसन सेन्टर सञ्चालन गरिनेछ।  

त्यसका लागि २६ करोड रूपैयाँ पनि विनियोजन गरेको छ। इसिमोडका क्षेत्रीय कार्यक्रम म्यानेजर नन्दकिशोर अग्रवालले भारतमा ६ वर्षको अवधिमा स्टार्टअप बिजनेसमा आमूल परितर्वतन आएको बताए। ‘६ वर्ष अघि भारतमा ४७३ वटा मात्रै स्टार्टअप बिजनेस रहेका थिए तर पछिल्लो ६ वर्षको अवधिमा ७३ हजारभन्दा धेरै स्टाटअप बिजनेस सञ्चालनमा आएका छन्। भारतीय अनुभवबाट सिक्दै नेपालमा पनि स्टार्टअप बिजनेसलाई अघि बढाउनुपर्ने बेला भइसकेको छ।’ अन्तरप्रेरणा प्रालिका अध्यक्ष ओमराज भण्डारीले सरकार र निजी क्षेत्र दुवै मिलेर नवप्रवर्तक खालका बिजनेसलाई प्रवर्द्धन गर्नुपर्ने बताए । 

प्रकाशित: १० श्रावण २०७९ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App