१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेप्से २ दिनमा ११५ अंकको उछाल, कारोबार रकम ४ अर्बमाथि

मौद्रिक नीति सार्वजनिक भएको दुई दिनमै सेयर बजार एक सय १५ अंकले बढेको छ।

चालु आवको मौद्रिक नीति सेयर बजारलाई माथि लैजान धेरै सहयोग पुग्ने किसिमको नभए पनि लगातार २ दिनै बजार उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार ६१.०३ बढेको परिसूचक सोमबार फेरि ५४.४५ अंकले बढेको हो।  

राष्ट्र बैंकले शुक्रबार यस वर्षको मौद्रिक नीति ल्याएको थियो। नीतिमा यस अघिको ४–१२ को व्यवस्थामा सामान्य परिवर्तन गरी सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड रूपैयाँ कायम गरेको छ। सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जा सम्बन्धी व्यवस्था हटाइने भनेको छ। यस्तै सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रूपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ।  

बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस अघिको व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमन बमोजिम हुने भनिएको छ।

मौद्रिक नीतिमा आएका यस्ता नीतिगत व्यवस्थाले बजार बढाउन धेरै सहयोग गर्ने देखिदैन तर बजारमा कडा खालको मौद्रिक नीति आउने अनुमान गरिएकोमा केही सहयोग पुग्ने आएपछि सुधार आएको हो।  

एक्सचेञ्जका अनुसार सोमबारको कारोबारबाट ५४.४५ अंकले बढेर परिसूचक २१३२.९६ बिन्दुमा पुगेको छ। यो २.६२ प्रतिशत वृद्धि हो। यो सुधारपछि परिसूचक २१ सय भन्दामाथि पुगेको छ।  

एक्सचेञ्जका अनुसार सोमबार २०८२ बिन्दुबाट सुरू भएको बजार एक दुई पटकबाहेक अरू समय बढेको थियो। बजार सुरू भएको २० मिनेटमै कारोबार उच्च दरले बढेपछि परिसूचक २७ अंकले बढेको थियो। त्यसपछि १३ अंकले कारोबारमा गिरावट आए पनि लगत्तै कारोबार बढेको थियो। कारोबारको अन्तिम समयतिर परिसूचक २१३४ सम्म पुगेकामा बजार बन्द हुँदा २१३२ मा रोकिएको हो।  

एक्सचेञ्जका अनुसार सोमबार नेप्सेका अतिरिक्त तीनै सूचक बढेका छन्। यसमध्ये सेन्सेटिभ सूचक ९.०५ बिन्दुले बढेको छ। फ्लोट ४.२० र सेन्सेटिभ फ्लोट ४.०३ बिन्दुले बढेका छन्। प्रतिशतका आधारमा हेर्दा सबै भन्दा बढी सेन्सेटिभ फ्लोट ३.०७ ले बढेको छ।  

एक्सचेञ्जका अनुसार सेयर बजारका अन्य १३ उपसूचक सबै बढेका छन् । यी १३ उपसूचकमध्ये दुई सय भन्दा धेरै अंकले कारोबार बढ्नेमा २ वटा उपसूचक परेको छ। यस्तै एक सय अंक भन्दा बढीले कारोबार बढ्नेमा ५ वटा उपसूचक परेका छन्।  

विकास बैंक र जीवन बिमा उपसूचक २ सय अंकभन्दा धेरैले बढेका उपसूचक हुन्। यी उपसूचक क्रमशः २१३ र २१० अंकले बढेका हुन्। यस्तै एक सयभन्दा बढी अंकले कारोबारमा सुधार आउने उपसूचकहरूमा निर्जीवन बिमा १२५, लघुवित्त १८५, उत्पादन तथा प्रशोधन १७०, फाइनान्स १३८ र जलविद्युत् १०७ रहेका छन्। यस्तै होटल तथा पर्यटन ७५, व्यापार ५० र बैंकिङ उपसूचक २१ अंकले बढेका छन्। सबैभन्दा कमले कारोबार बढ्नेमा सामूहिक लगानी कोष ०.१० अंक रहेको छ।

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले फाइनान्स ७.९० प्रतिशतले बढेको छ भने सबैभन्दा कम सामूहिक लगानी कोष ०.६८ प्रतिशत रहेको छ।  

एक्सचेञ्जका अनुसार सोमबार सात वटा कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको छ। नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स, सूर्योदय लघुवित्त, ग्रीन विकास बैंक, युनाइटेड मोदी जलविद्युत्, मानुसी लघुवित्त र बलेफी जलविद्युत्को सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै ८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतमाथि र ६ कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ।  

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा मञ्जुश्री फाइनान्सको डिभेञ्चर सेयर परेको छ। यो ५.८७ प्रतिशतले घटेको हो। यस्तै केविएल डिभेञ्चर ३.९० र सिभिल बैंक डिभेञ्चर २.१८ प्रतिशतले घटेका छन्।  

एक्सचेञ्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको १५ करोड २९ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै अरूण कावेली १४ करोड ५१ लाख, दूरसञ्चार ११ करोड ५१ लाख र हिमालयन डिष्टिलरीको ११ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ।  

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर एपी पावर कम्पनीको भएको छ। यसका ३ लाख ४६ हजार ४ सय ४६ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै अरूण कावेलीको २ लाख ९९ हजार ७ सय २७ कित्ता सेयर बिक्री भएका छन्। एक्सचेञ्जका अनुसार आइतबार २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि ४ अर्ब १० करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर ३० खर्ब ४५ अर्ब रूपैयाँ पुगेको छ ।  

प्रकाशित: १० श्रावण २०७९ ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App