८ वैशाख २०८१ शनिबार
अर्थ

विराटनगर–बथनाह मालवाहक रेल दुई साताभित्र सञ्चालनमा आउने

भारतको वथनाहबाट मोरङको विराटनगरसम्म मालवाहक रेल्वे दुई साताभित्र सञ्चालनमा आउने भएको छ।

नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याइने भएको छ। भारतीय रेल्वेका डिभिजनल मेनेजर एस के चौधरीले १८.६ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताउदै नेपाल र भारत सरकार बीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने बताए।

‘जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक बजेटका लागि अनुरोध गरेका छौं’, उनले भने– ‘कार्गों सेन्टरको निर्माण पश्चात् अन्य स्थानका लागि नयाँ प्यासेञ्जर रेल पनि थप गरिनेछ।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने बताए। यस क्षेत्रबाट भइरहेको नेपाल भारत बीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोसेढुंगा सावित हुने बताउँदै उनले स–साना बाधा व्यवधानलाई अविलम्ब समाधान गरी मालवाहक रेल्वे सञ्चालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीलाई आग्रह गर्दै निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको बताए।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशबीचको व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रक्रियाका पूरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने बताए।  

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधाहरू समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए।

छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगञ्ज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजस्व संकलन समेत प्रभावित भएको जनाउँदै कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने बताए। नेपालको रेल विभागका इञ्जिनियर रोशनकुमार देवले दुवै देशका प्राविधिक टोलीले निर्माणाधीन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रक्रिया पूरा गरे पश्चात् विराटनगर बथनाह रेल सञ्चालनमा आउने बताउँदै त्यसको लागि तयारी भइरहेको जानकारी गराए।  

संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले यस क्षेत्रका इडिवल आयल उत्पादन गर्ने उद्योगहरूका कच्चा पदार्थ स्टोर गर्न आफ्नै खर्चमा टेंक निर्माण गर्न तयार रहेको बताउँदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरे। संगठनका पूर्व अध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानी जम्नुका साथै नेपालको मालसमान राती अनलोड गर्न समस्या भइरहेको बताए।  

संगठनका पूर्व उपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरूको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्नुपर्नेमा जोड दिए।  

प्रकाशित: ९ श्रावण २०७९ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App