coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो

आयात कडाइको प्रभाव

विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।

कार्यालयको तथ्यांकअनुसार आव २०७७/७८ मा विराटनगर भन्सार कार्यालयले ४० अर्ब ८१ करोड ९० लाख १३ हजार रूपैयाँ राजस्व संकलन गरेकोमा आव २०७८/७९ मा ४० अर्ब ४२ करोड ७७ लाख ७८ हजार रूपैयाँ मात्रै राजस्व संकलन गरेको छ। आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयले करिब ५० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

कार्यालयले आव २०७८/८९ मा ४९ अर्ब ६५ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्यको ८१.४१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। कार्यालयले आव २०७८/७९ को सुरुवातदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन। साउन महिनामा ३ अर्ब ४३ करोड ९१ लाख ६१ हजार राजस्व लक्ष्य तोकिए पनि ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै भदौ महिनामा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार  रूपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। असोज महिनामा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष्य तोकिएकोमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार, कात्तिक महिनामा ४ अर्ब २३ करोड २३ लाख २५ हजार रूपैयाँ लक्ष्य तोकिएकामा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रूपैयाँ मात्रै राजस्व असुली गरेको छ।

मंसिरमा ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रूपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार, पुस महिनामा ४ अर्ब ३० करोड ५ लाख ६८ हजार रूपैयाँ राजस्वको लक्ष्य पाएकोमा ३ अर्ब २७ करोड ६१ लाख ७० हजार रूपैयाँ मात्रै राजस्व असुली गरेको छ।

माघ महिनामा विराटनगर भन्सारले ४ अर्ब ४४ लाख ५३ हजार रूपैयाँ लक्ष्य पाएकोमा ३ अर्ब ५ करोड १५ लाख ६६ हजार, फागुन महिनामा ४ अर्ब १६ करोड २२ लाख ६२ हजार लक्ष्य लिएकोमा ३ अर्ब ४० करोड २९ लाख ६० हजार रूपैयाँ संकलन गरेको छ। चैत महिनामा ३ अर्ब ३२ करोड ५२ लाख राजस्व लक्ष्य तोकिएकोमा ३ अर्ब २७ करोड ४४ लाख ७९ हजार रूपैयाँ असुली गरेको छ।

वैशाख महिनामा ४ अर्ब २४ करोड २ लाख ९९ हजार रूपैयाँ तोकिएकोमा २ अर्ब ८० करोड ७५ लाख ९१ हजार रूपैयाँ संकलन गरेको छ। जेठ महिनामा ४ अर्ब २१ करोड ८४ लाख ६७ हजार रूपैयाँ राजस्व लक्ष्य तोकिएकोमा ३ अर्ब १३ करोड १४ लाख रूपैयाँ मात्रै राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। असार महिनामा ४ अर्ब २७ करोड ५५ लाख २३ हजार राजस्व संकलनको लक्ष राखेकोमा २ अर्ब ९६ करोड ७१ लाख रूपैयाँ मात्रै राजस्व संकलन भएको छ।

विराटनगर भन्सारले साउन महिनामा लक्ष्यको ९६.५६ प्रतिशत, भदौमा ९३, असोजमा ९२.६२, कात्तिकमा ८४.१३, मंसिरमा ९४.४६, पुसमा ७६.१८ र माघमा ७६.२१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।

यस्तै फागुनमा ८१.७६, चैतमा ७५.७१, वैशाखमा ६६.२२, जेठमा ७४.२४ र असारमा ६९.४० प्रतिशत राजस्व संकलन गरेको छ। विराटनगर जोड्ने भारतको जोगवनी नजिकको मिरगन्ज पुल भासिएका कारण विराटनगर नाकाबाट आयात गर्दै आएका उद्योगी व्यवसायी अन्य नाकामा डाइभर्ट भएको र सरकारले आयातमा गरेको कडाइका कारण आयात प्रभावित हुँदा विराटनगर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

विराटनगर नाकाबाट आव २०७८/७९ मा २ खर्ब ६९ अर्ब ९० करोड रूपैयाँको व्यापार भएको छ। जसमा २ खर्ब १३ अर्बको १ करोड ९० लाख रूपैयाँको वस्तु आयात भएको छ भने ५६ अर्ब ८८ करोड रूपैयाँको सामग्री निर्यात भएका छन्। अघिल्लो वर्ष विराटनगर नाकाबाट २ खर्ब २६ अर्ब ३३ करोड ७७ लाख रूपैयाँको व्यापार भएको थियो। जसमा १ खर्ब ८९ अर्ब ५७ करोड ६२ लाख रूपैयाँको सामग्री आयात भएको थियो भने ३६ अर्ब ७६ करोड १४ लाख रूपैयाँका सामग्री निर्यात भएको थियो। गत वर्षको तुलनामा आयात करिब २४ अर्बले बढेको छ भने निर्यात २० अर्ब रूपैयाँले बढेको छ।

विराटनगर नाकाबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ, तयारी कपडा, पोलिथिन दाना, एलपी ग्यास, स्ट्रिल वायर रड, एसएम विलेट, सूर्यमुखीको कच्चा तेल, भटमासको कच्चा तेल, पामको कच्चा तेललगायत सामग्री धेरै मात्रामा आयात हुने गरेका छन्। यस्तै भटमासको प्रशोधित तेल, प्रशोधित पाम तेल, जुटबाट बुनिएका कपडा, सेन्थेटिक यार्न, कपडा, जुटको बोरा लगायत सामग्री निर्यात हुने गरेका छन्।

विराटनगरको व्यापारमा मिरगन्ज पुल तगारो

विराटनगरको व्यापारमा मिरगन्ज पुल तगारो बन्दै आएको छ। अंग्रेजको पालाको पुरानो फलामे पुल बेलाबेलामा भासिइरहने र मर्मतका नाममा भारतीय पक्षले महिनौंसम्म पुल सञ्चालन नगर्ने प्रवृत्तिले हरेक वर्ष विराटनगर नाकाको आयात निर्यात प्रभावित हुँदै आएको छ।

मिरगन्जको पुरानो पुलनजिकै भारतले नयाँ पक्की पुल निर्माण गरिरहेको भए पनि पुल निर्माणमा ढिलासुस्तीले निर्माण सुरु भएको १२ वर्षसम्म पनि पुल सम्पन्न भएको छैन। यतिबेला पुल निर्माणको काम करिबकरिब अन्तिम चरणमा पुगे पनि भारतीय पक्षले पुल सञ्चालनमा चासो नदेखाउँदा विराटनगर नाकाको व्यापार विगत ८ महिनादेखि अवरुद्ध छ।

विराटनगर नाकाबाट हुने आयात–निर्यात सुनसरीको भान्टाबारी नाकाबाट भइरहेको छ। भान्टाबारी नाकाबाट मालबाहक गाडी ल्याउँदा प्रतिगाडी २० देखि ३० हजार रूपैयाँ ढुवानी भाडा महँगो पर्ने व्यापारीहरू बताउँछन्। मिरगन्ज पुल आंशिक भए पनि सञ्चालनमा ल्याउन मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले पहल गरिरहेको भए पनि अझैसम्म पुल सञ्चालनमा आउन सकेको छैन।

भारतीय पक्षले पुल सञ्चालनका लागि म्याद तोक्दै आए पनि पुल सञ्चालनमा भने ल्याएको छैन। भारतीय पक्षले बारम्बार पुल सञ्चालनका लागि समय तोके पनि सञ्चालनमा भने बेवास्ता गर्दै आएको मोरङका उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन्।

प्रकाशित: ८ श्रावण २०७९ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App