७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टिबिएम नल्याउँदा सुरुङ खन्ने काम प्रभावित

हेडवर्क्ससुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ। ठेकेदार कम्पनीले सुरुङ खन्नका लागि आवश्यक पर्ने उपकरण र सामग्री समय भित्रै जडान गर्न नसक्दा तोकिएको समयभित्रै सुरुङ खन्ने काम सकिनेमा भने आशंका कायमै छ।

चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले तोकिएको समयभित्रै टनेल बोरिङ मेसिन (टिबिएम) ल्याउन नसक्दा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको छ। निर्माण व्यवसायी र आपूर्तिकर्ता विदेशी कम्पनीबीचको सम्झौता अनुसार खरिद आदेश भएको १५ महिनाभित्र उक्त मेसिन आपूर्ति गर्ने व्यवस्था रहेको थियो।

आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९ को मेमा ठेक्का सम्झौता भएको थियो। विदेशी कम्पनीले समयमै टिबीएम मेसिन आपूर्ति गर्न नसक्दा सुनकोशी मरिन आयोजनाको सुरुङ खन्ने काम प्रभावित हुँदै आइरहेको छ। महालेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनले तोकिएको समयभित्रै आवश्यक डिजाइन नहुँदा पनि टिबिएम मेसिन ल्याउन ढिलासुस्ती भएको जनाएको छ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी रवि शाक्यले ठेकेदार कम्पनीले तोकिएको समयसीमाभित्रै विदेशबाट सुरुङ खन्ने टिबिएम मेसिन भित्र्याउन नसक्दा सुरुङ खन्ने काम प्रभावित भएको बताए। ‘कोभिड १९को कारणले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै सुरुङ खन्ने टिबिएम मेसिन भित्राउन सकेनन,’ उनले भने-‘हालसालै सुरुङ खन्ने टिबिएम भित्रिएर अहिले मेसिन जडानको काम भइरहेको छ। सम्भवत् साउन र भदौं महिनाभित्रै मेसिन जडान गर्ने गरिसक्ने लक्ष्य राखेका छौं।’

आयोजना र चिनियाँ ठेकेदार कम्पनीबीच मूल्यअभिवृद्धिकर भ्याटबाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता १३.३ किलोमिटर लामो सुरुङ सन् २०२५ को अगष्ट अर्थात् ५२ महिनाभित्र निर्माण गर्ने सम्झौता भएको थियो। यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ। ठेकेदार कम्पनीले सुरुङ खन्नका लागि आवश्यक पर्ने उपकरण र सामग्री समय भित्रै जडान गर्न नसक्दा तोकिएको समयभित्रै सुरुङ खन्ने काम सकिनेमा भने आशंका कायमै छ।

आयोजनाका सूचना अधिकारी शाक्यले आयोजनाको समष्टिगत भौतिक प्रगति ७.६ प्रतिशत भएको जानकारी दिए। त्यसैगरी आयोजनाको हालसम्म तीन अर्ब रूपैयाँ खर्च भएको छ। आयोजनाको हालसम्मको वित्तीय प्रगति ७.७५ प्रतिशत भएको जनाएको छ। जबकि आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको अवधिमा यो आयोजनाको भौतिक प्रगति ३.५ प्रतिशत भएको थियो।

सो अवधिमा आयोजनाको समष्टिगत खर्च भने डेढ अर्ब रूपैयाँ भएको थियो। आयोजनाको एक वर्षको अवधिमा ३.५ मात्रै समष्टिगत भौतिक प्रगति गरेको छ। सिन्धुलीस्थित मरिन खोलामा खसाइ रौतहट र सर्लाहीको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने तथा ३१ मेगावाट विद्युत् उत्पादनसमेत गर्ने उद्देश्यले २०७३ सालमा सुरु गरिएको थियो।

मन्त्रिपरिषद्को २०७६ माघ ६ गते बसेको बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो। आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रूपैयाँ रहेको छ। महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले टिबिएम मेसिन ल्याउन ढिलासुस्ती भएकाले सुरुङमार्ग निर्माणको समय र लागत बढ्ने हुँदा सम्झौताअनुसारको अवधिमा टनेल निर्माण कार्य सम्पन्न गर्न आयोजना व्यवस्थापनको ध्यान दिनुपर्ने औंल्याएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते आयोजनाको शिलान्यास गरेका थिए। आयोजनाको प्याकेज दुईमा हेडवर्क्स, पावरहाउस, सर्टसाफ्ट, विपी राजमार्ग मध्ये एक किलोमिटर सडक लगायतका पूर्वाधार निर्माणको लागि ठेकेदार कम्पनीको पूर्व योग्यता छनोटको काम भइरहेको जनाएको छ।

आयोजनाले आगामी पुस महिनासम्म योग्य ठेकेदार कम्पनीको छनोट गर्ने समयसीमा तोकेको छ। यसमा ठेकेदार कम्पनीको प्राविधिक मूल्यांकन मात्रै गरिन्छ। प्राविधिक मूल्याङ्कनमा छनोट भएका कम्पनीमध्येबाट आर्थिक प्रस्तावमा छनिएको कम्पनीले मात्रै ठेक्का हात पार्नेछ। आयोजनाले हेडवक्र्स, पावरहाउस लगायतका पूर्वाधार निर्माणका लागि २५ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।

आयोजनाले यो परियोजना निर्माणको क्रममा अघिल्लो आवमा २२ करोड रूपैयाँ खर्च गरेको थियो। गत आवमा भने थप २५ करोड रूपैयाँ मुआब्जामा खर्च भयो। चालु आर्थिक वर्षमा भने मुआब्जाबापत थप २५ करोड रूपैयाँ खर्च हुने आयोजनाको अनुमान छ। 

प्रकाशित: ६ श्रावण २०७९ ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App