भक्तपुरका मानन्धर समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगको पुनर्उत्थान थालिएको छ। यसका लागि पुख्र्यौली व्यवसायलाई सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनीसमेत भएको छ।
भक्तपुर चेम्बर अफ कमर्स तथा जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका मानन्धर समुदायले यो अमियान थालेका हुन्। मानन्धर समुदायको यो अभियानमा स्थानीय निकायले पनि सहयोग गरेको छ। यसका लागि मध्यपुर थिमि नगरपालिकाले सहयोग गरेको हो।
नगरपालिकाले जिल्लाको मध्यपुर थिमिस्थित सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुख्र्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना) भवन बनाइदिएर सहयोग गरेको हो। पुख्र्यौली व्यवसायको रुपमा रहेको तोरीको तेल उत्पादन गर्ने मौलिक प्रविधिमा आधारित साःलाई सांस्कृतिक, धार्मिक, सम्पदाजन्य र सामुदायिक जीवनशैलीसँग जोडेर लैजाने योजना अभियानको छ।
अभियान अन्तर्गत पहिलो चरणमा मानन्धर समुदायको तोरीको तेललाई अगाडि बढाए पनि सरोकारवाला पक्षले साथ दिने हो भने भविष्यमा जिल्लाको स्थानीय उत्पादनको रुपमा रहेको जुजु धौ (दही), कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा, चाकुलगायतकालाई ब्राण्डिग गरी अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण गर्न सकिने विश्वास गरिएको छ।
लाय्कू साः खलःका अध्यक्ष अष्टरत्न मानन्धरले थिमिको मल्लकालीन दरबार अर्थाते लाय्कू परिसरसँगै रहेको भएर पुलां साः वा क्वथु साःलाई लाय्कू साःको रुपमा सम्बोधन गरिएकोे बताए। ‘लाय्कू साः पुनर्निर्माण गरिएको टोलको नाउँ साःननी र सँगै रहेको इनारको नाउँ साः तुंथि रहेको छ, उनले भने, यिनीहरुको नामांकरणसमेत लाय्कू साःको आधारले हुनपुगेको हो।’
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पुख्र्याैली पेशा व्यवसाय प्रवर्द्धनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता अनुुसार भवन बनाउन सहयोग गरेको जनाए। मेयर श्रेष्ठले लोप हुने अवस्थामा पुगेको मौलिक पेशालाई संरक्षण र प्रवर्द्धन गर्ने क्षेत्रमा नगरपालिकाको विशेष सहयोग रहनेसमेत बताए। उनले सिवा साय्मी खलःको नेतृत्वमा पुनर्निर्माण सम्पन्न भएको भवनलाई खलःकै नाममा स्थायी लालपूर्जा बनाइदिनेसमेत आश्वासन समेत दिए।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले तेल उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए। ‘केही दशक अघिसम्म म आफैं तोरीको तेल खरिद गर्न जान्थें। तर आजको दिनमा यस्तो अवस्था छैन। हामी विदेशी तेलको प्रयोग गरिरहेका छौं’ श्रेष्ठको भनाइ थियो।
पुख्र्यौली पेशा र परम्परागत प्रविधिलाई आत्मसात गरी स्थानिय क्षेत्रमै उत्पादन हुने बस्तुलाई प्राथमिकता दिने हो भने आयात प्रतिस्थापन सम्भव भएको श्रेष्ठको भनाइ छ। टोलका थकाली ९१ वर्षीया मोहनलाल लाखे मानन्धरको समुपस्थितिमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले भवन उद्घाटन गरेका थिए।
कार्यक्रममा पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा सदस्य रामकेशरी श्रेष्ठ, पूर्व जिसस उमेश श्रेष्ठ, राजनीतिज्ञ राजेश (माइला) मानन्धरलगायतको उपस्थिति थियो। गंगाराम मानन्धरको संयोजन र मनोजलाल मानन्धरको नेतृत्वमा भवन निर्माण सम्पन्न भएको हो। भवन पुनर्निर्माणको लागि स्थानीय टोलबासीहरुले आर्थिक र भौतिक सहयोग गरेका थिए।
प्रकाशित: २ श्रावण २०७९ १३:१९ सोमबार