२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

शिक्षामा ४० प्रतिशतभन्दा बढी बजेट खर्च गर्दै मौलापुर नगरपालिका

रौतहटको मौलापुर नगरपालिकाले आफ्नो कूल बजेटको चालिस प्रतिशतभन्दा बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ। जिल्लाको १८ स्थानीय तह मध्ये सबैभन्दा बढी चालिस प्रतिशत बजेट शिक्षामा लगानी गर्ने मौलापुर नगरपालिका नै रहेको छ।

चालू आर्थिक वर्षमा नगरपालिकाको कूल बजेट ३६ करोड रहेकोमा नगरपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो। नगरको कूल बजेटको ४०.५८ प्रतिशत बजेट शिक्षा क्षेत्रमागएको नगरपालिकाका लेखापाल जयप्रकाश महतोले जानकारी गराएका छन्।

विभिन्न विद्यालयको लागि जग्गा खरिद, भवन निर्माण, भौतिक तथा शैक्षिक सामग्रीको खरिद, कम्पाउण्ड वालको निर्माण, मर्मत तथा रंगरोगन, विद्यालयको सौन्दर्यीकरणमा पनि नगरपालिकाले ठूलो लगानी गरेको छ।

मौलापुर नगरपालिकाले दर्जनाैँ शिक्षक नियुक्त गरेको छ। नगरपालिकाले दरबन्दी सिर्जना गरी आफ्नै स्रोतबाट शिक्षक नियुक्तिका लागि अहिले ३५ शिक्षकको लागि विज्ञापन माग गरेको छ। आफ्नै स्रोतमा दरबन्दी सिर्जना गरी नगरपालिकाले भर्नाको प्रक्रिया अगाडि बढाएको ३५ मध्ये माध्यमिक तहका लागि २२ शिक्षकको माग गरेको छ।

नगरपालिकामा विद्यालय नै अपुग रहेको र विद्यालय अपायक ठाउँमा रहेको अवस्था हेरी दुई विद्यालयलाई मर्ज पनि गरिसकेको छ भने केही विद्यालय स्थापना पनि गरेको छ। नगरपालिका गठन हुँदा दुई माध्यमिक विद्यालय रहेको मौलापुरमा अहिले पाँच माध्यमिक विद्यालय पुर्‍याएको शिक्षा संयोजक चन्देश्वर साहले जानकारी गराएका छन्।

भवननिर्माण, प्रयोगशाला, खेलकूद सामग्री, शैक्षिक सामग्री, पाठ्यपुस्तक, बेन्च डेस्क, सरस्वतीपूजा, परीक्षा संचालन, जमिन खरिद, प्राविधिक शिक्षा संचालन, संस्थागत अनुदान, साक्षरता अभियान, प्रौढ शिक्षा र नगरपालिकाले दरबन्दी सिर्जना गरी शिक्षक नियुक्ति गर्दा तलब भत्ता र छात्रवृत्तिमा गरी नगरपालिकाले आफ्नो बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमाखर्च गर्दै आएको नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ।

समाजको विकासको लागि सबैभन्दा बढी शिक्षाको विकास जरुरी रहेकोले मौलापुर नगरपालिको शिक्षा र यससँग सम्बन्धित सबै पक्षमा लगानी गरिरहेको नगर प्रमुख साहको भनाइ छ। शिक्षाको भौतिक संरचना र शिक्षक व्यवस्थापन नभइ गुणस्तरीय शिक्षा सम्भवन भएकोले मौलापुर नगरपालिकाले शिक्षामा ठूलो लगानी गरिरहेको नगर प्रमुख साहको दाबी छ।

आफ्नै लगानीमा मौलापुर प्राविधिक शिक्षालय सञ्चालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षालाई एकातिर निःशुल्क र अर्कोतिर गुणस्तरीय बनाउन खोज्दा सबैभन्दा बढी र नगरपालिकाको धेरै रकम शिक्षामा निरन्तर लगानी भइरहेको नगर प्रमुख साहको दाबी छ।

शिक्षामा निरन्तर भइरहेको ठूलो रकम लगानीको प्रतिफल पनि देखिने विश्वासमा आफू रहेको नगर प्रमुख साह बताउँछिन्। छात्रालाई साइकल वितरणदेखि ल्यापटप वितरणसम्मको कार्यक्रम सुरुवात गरेको मौलापुर नगरपालिकाले नगरस्तरको विभिन्न शैक्षिक तथा बौद्धिक प्रतियोगिताहरु पनि सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ३० असार २०७९ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App