१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

यो वर्ष ४ पर्यटक बेपत्ता, खोजी जारी

पछिल्लो एक वर्षमा नेपाल घुम्न आएका विदेशी पर्यटक मध्ये ४ जना बेपत्ता भएका छन्।  

नेपाल पर्यटक प्रहरीका अनुसार चालु आर्थिक वर्षमा ४ जना पर्यटक हराएको उजुरी आएको छ। पर्यटन प्रहरी एकाइमा साउनदेखि असार २८ सम्म पर्यटक सम्बन्धी कुल १ सय ८० वटा उजुरी आएका थिए। यसमध्ये ४ जना पर्यटक हराएको उजुरी आएको हो। पर्यटक प्रहरी, पर्यटन एकाइका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत तर्कराज पाण्डेयले अहिलेसम्म ४ जना पर्यटक हराएको सूचना आएको जानकारी दिए।

उनका अनुसार हराइरहेका ४ जनामा ५० वर्षीय कोरियन नागरिक योनही ली, ४९ वर्षीय इजरायली नागरिक योङ किडरोन, ३६ वर्षीय जोर्डन नागरिक मोहम्मद हाइदर र ३१ वर्षीय भारतीय नागरिक चन्द्र मोहन शिवनाथ छन्। उनका अनुसार गत साउन, चैत, जेठ र असारमा उनीहरू हराइरहेको उजुरी आएको हो। अहिलेसम्म सबैको खोजी कार्य जारी रहेको उनले बताए ।  

यस अघिको वर्ष २ जना पर्यटक हराएका थिए। यस वर्ष भने संख्या दोब्बर भएको हो। एकाइका अनुसार गत वर्षको जम्मा उजुरी संख्या ७९ रहेकोमा यस वर्ष बढेर १ सय ८० पुगेको छ। पर्यटन प्रहरी एकाइमा दर्ता भएको १ सय ८० उजुरीमध्ये ४ जना पर्यटक हराएको बाहेक १ सय १२ वटा राहदानी हराएको, २३ वटा चोरीसँग सम्बन्धित, १८ वटा ठगी, ९ वटा उत्पीडन र विवाद, एउटा आक्रमण तथा हमाला र अन्य ४ वटा उजुरीहरू रहेका छन् । यससँगै ३ वटा उजुरी भने पर्यटकहरूका बारेमा आएको पर्यटन प्रहरी एकाइका अनुसन्धान अधिकृत कृष्ण थापाले बताए।  

पर्यटक प्रहरी समक्ष आएका उजुरीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरेर उजुरी सम्बोधन गर्ने पर्यटन प्रहरी एकाइका प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए। उनले सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको बताउँदै पर्यटन प्रहरी स्वतन्त्र निकाय नभएको कारण एकाइले पर्यटकको उजुरीको प्रकृतिका आधारमा सम्बन्धित निकायसँग सहकार्य गरेर उजुरी उपर काम गर्ने बताए। उनले भने, ‘सुरक्षा भए त सहज रूपमा सुन्दरता हेर्न सकिन्छ, नत्र जोखिम मोलेर जो कोही पर्यटक हुन सक्दैन। पर्यटक प्रहरी हरबखत पर्यटकको सुरक्षाको लागि तयार छ।’

पर्यटक प्रहरी विभाग कुनै स्वतन्त्र निकाय नभएको हुनाले यसको छुट्टै कुनै स्पेशल युनिट वा टास्क फोर्स छैन। नेपाल प्रहरीको एउटा एकाइका रूपमा रहेको पर्यटन प्रहरी एकाइले प्रहरी प्रशासन, स्थानीय निकाय तथा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरेर आफ्नो कार्य गर्दछ।  

कोभिडको कारणले ठप्प भएको पर्यटन विस्तारै मौलिँदैछ। पर्यटक आगमनको संख्याका आधारमा पर्यटन क्षेत्रमा हुने अपराध निकै नै कम भएको एकाइका अनुुसन्धान अधिकृत कृष्ण थापाले बताए। उनले सम्भावित खतरालाई पर्यटक प्रहरीले उल्लेख्य मात्रामा सम्बोधन गर्दै विभिन्न चेतनामूलक कार्यक्रम र सेवा विस्तार गरेको दाबी गरे। उनले भने, ‘पर्यटन प्रहरी पर्यटकको सुरक्षाको लागि २४ सै घण्टा तयार छ। हामी पर्यटकको सुरक्षाका लागि प्रतिवद्ध छौं।’

पर्यटक प्रहरी – पर्यटन एकाइ सन् १९७९ मा स्थापना भएको हो। यसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको एक एकाइका रूपमा काम गर्दै आएको छ। हाल पर्यटक प्रहरी एकाइमा २७७ प्रहरी अधिकृत र तिनीहरू मातहत १५ जिल्लामा २८ एकाइ रहेका छन्। जसमध्ये काठमाडौमा १० तथा काठमाडौं बाहिरका जिल्लामा १८ पर्यटन प्रहरी एकाइहरू पर्यटन सुरक्षामा खटिएका छन् । 

प्रकाशित: २९ असार २०७९ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App