४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा १६ बिन्दुको गिरावट, कारोबार रकम पनि २ अर्ब तल

आगामी मौद्रिक नीति आउने समय नजिकिदै गर्दा सेयर लगानीकर्ता अन्यौलमा देखिएका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुई दिनअघि मौद्रिक नीति असारभित्रै आउन सक्ने बताएका थिए। गभर्नरले मौद्रिक नीति केही कसिलो हुने जानकारी दिएपछि लगानीकर्तामा अन्यौल छाएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक १६.६० बिन्दुले घटेर २०२७.३२ मा पुगेको छ। साताको पहिलो दिन आइतबार ५७ बिन्दुले परिसूचक बढेको थियो। त्यसपछिका सोमबार  ९ र मंगलबार ४६ बिन्दुले परिसूचकमा गिरावट आएकामा बुधबार १३ बिन्दुले बढेको थियो।

एक्सचेञ्जका अनुसार बिहीबार २०५३ बिन्दुबाट कारोबार सुरु भएको थियो। लगत्तै कारोबारमा आएको उच्च वृद्धिले नेप्से २०६० बिन्दुसम्म पुगेको थियो। त्यसपछिको कारोबार भने सुखद् रहेन। लगातारको गिरावटले परिसूचक २०२३ बिन्दुसम्म आएको थियो। बजार बन्द हुँदा नेप्से २०२७ बिन्दुमा रोकिएको हो। एक्सचेञ्जका अनुसार बिहीबार नेप्सेका अतिरिक्त सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा गिरावट आएको छ। सेन्सेटिभ ३.४२, फ्लोट १.१८र  सेन्सेटिभ फ्लोट १.२१ बिन्दुले घटेका हुन्।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये १२ वटाको कारोबार घटेको छ भने एउटाको कारोबार बढेको छ। कारोबारमा सुधार आउनेमा सामूहिक लगानी कोष रहेको छ। यो उपसूचक ०.६६ बिन्दुले बढेको हो।

कारोबारमा गिरावट आउने उपसूचकहरूमध्ये सबैभन्दा बढी जीवन बिमा घटेको छ। यो उपसूचक ११५ बिन्दुले घटेको हो। यसबाहेक सबै उपसूचक ५० बिन्दुभन्दा कमले घटेका छन्। जीवन बिमाबाहेक धेरैले घट्नेमा विकास बैंक उपसूचक ४६ बिन्दु छ।

यस्तै उत्पादन तथा प्रशोधन ४३, लघुवित्त ३७, निर्जीवन बिमा ३३, होटल तथा पर्यटन ३१ बिन्दुले घटेका छन्। सबैभन्दा कम गिरावट आउनेमा ०.५३ लगानी उपसूचक छ। बैंकिङ उपसमूह ८.५७ बिन्दुले घटेको छ।

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले अन्य उपसूचक घटेको छ। यो १.४३ प्रतिशतले घटेको हो।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले आरबीबी म्युचुअल फण्डको सेयर मूल्य बढेको छ। यसको सेयर ३.९३ प्रतिशतले बढेको हो। यस्तै माउण्टेन हाइड्रो र सिटिजन म्युचल फण्डको सेयर मूल्य पनि ३ प्रतिशतभन्दा बढीले बढेको छ।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरैले प्रतिसेयर मूल्य घट्नेमा सुमित लघुवित्त परेको छ। यसको सेयर मूल्य ५.२० प्रतिशतले घटेको हो। यस्तै रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार एलआईसी नेपालको भएको छ।

यसको ७ करोड ६५ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै अरूण कावेलीको ६ करोड ३० लाख रूपैयाँ र सिवम सिमेन्टको ६ करोड २५ लाख रूपैयाँ कारोबार भएको हो। यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर सनराइज बैंकको प्रमोटर सेयरको भएको छ। यसका २ लाख कित्ता सेयर  बिक्री भएका हुन्। यस्तै सिभिल बैंकको १ लाख ८९ हजार ५ सय ९६ कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार बिहीबार २२९ कम्पनीका ४७ लाख ११ हजार १० कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब ८० करोड ६२ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २८ खर्ब ९१ अर्ब रूपैयाँमा पुगेको छ ।

प्रकाशित: २४ असार २०७९ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App