६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

तयारी चिया बेच्न समस्या

जिल्लामा यो वर्ष तयारी चिया बिक्री गर्न समस्या भएको छ। भारत र तेस्रो मुलुकबाट माग नै नआएको र माग भएपनि उत्पादन लागत मूल्य उठ्न कठिन भएको उद्योगी–व्यवसायीले बताएका छन्।  

पोहोर र परार साल विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमणले चियाको अन्तर्राष्ट्रिय बजारमा असर पुगेको थियो। यो पटक रुस र युक्रेन युद्धका कारण भारतमा चिया बिक्री नभएको उद्योगी–व्यवसायी बताउँछन्। भारतबाट ठूलो मात्रामा रुस र युक्रेनमा चिया निर्यात हुने गरेपनि यो पटक युद्धका कारण असर पुगेको त्यहाँका व्यवसायीको जवाफ छ।  

नेपालबाट किनेको चिया भारतबाट अन्य देशमा समेत पुग्ने गरेको छ। तर, यो पटक भारतमा मात्र नभइ युरोप, अमेरिकालगायत अन्य देशबाट समेत तयारी चियाको माग नआएको उद्योगी कमल मैनालीले बताए। माग आएपनि लागत मूल्य नै नउठ्ने गरीको मूल्य पाउने उनको भनाइ छ।  

‘भारतले निर्यात गर्ने तयारी चियाको २२ प्रतिशत बजार रुस र ८ प्रतिशत युक्रेन रहेछ,’ मैनालीले भने, ‘यो पटक ती देशमा चिया बिक्री नहुँदा भारतका व्यापारीले नेपालको चिया किन्न चाहेकै छैनन्।’ मैनाली जर्मनी, अमेरिका लगायत देशमा पनि आफ्नो तयारी उत्पादन बेच्छन्। ‘तेस्रो मुलुकबाट पनि यो पटक गतवर्षहरूभन्दा माग निकै कम आएको छ,’ उनले भने, ‘जसले माग गरेका छन्, उनीहरूले दिने मूल्यले पनि अहिले यहाँको लागत नै उठ्दैन। हामीलाई धेरै अन्योल भएको छ। किसान ठूलो समस्यामा परेका छन्।’  

मैनालीले सञ्चालन गरेको इलाम नगरपालिका–१, साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिले गतवर्ष १ लाख किलो तयारी चिया विक्री गरेको थियो। यो वर्ष उत्पादन पोहोरकै हाराहारीमा रहने सम्भावना भएपनि माग नभएको उनले जनाए। ‘पोहोर ६ हजार किलो तयारी चिया अर्डर गर्ने व्यापारीले यो वर्ष १ हजार किलोमात्र मागेका छन्,’ उनले भने, ‘यो वर्षको अहिलेसम्म चिया निर्यातको अवस्था नाजुक छ।’

इन्धनको निरन्तर मूल्य वृद्धि पनि चिया बिक्री समस्याको अर्काे कारण भएको छ। र, तयारी चिया ढुवानीमा पनि खर्च बढेका कारण आफूहरूलाई समस्या भइरहेको उद्योगी–व्यवसायी बताउँछन्। साखेजुङकै अर्का उद्योगी चिरञ्जीवी दाहालले यो वर्ष आफूले उद्योगमा चिया प्रशोधन नै नगरेको बताए। उनको उद्योगमा गतवर्ष करिब ४० हजार किलो तयारी चिया उत्पादन भएको थियो। ‘यो वर्ष समयमा तयारी चियाको माग नै आएन,’ उनले भने, ‘पोहोर साल प्रतिकिलो औसत ४ सय रुपैयाँमा बिक्री हुँदा पनि लागत मूल्यसम्म उठ्थ्यो, यो वर्ष प्रतिकिलो ७ देखि ८ सय रुपैयाँमा बेच्दा पनि लागत उठ्दैन।’  

साखेजुङका उद्योगले अहिले हरियो चियापत्तीको मूल्य सामान्यतः प्रतिकिलो ७० रुपैयाँ दिँदैछन्। दाहालले किसानले मल नपाउँदा यो वर्ष हरियो चिया उत्पादनसमेत ज्यादै कम भएको बताए। साखेजुङ क्षेत्रमा प्रतिवर्ष २० हजार किलोभन्दा बढी तयारी चिया उत्पादन गर्ने ९ उद्योग छन्।

इलाम र झापाका ७ चिया बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले पनि यो वर्ष तयारी चिया निर्यातमा समस्या भएको बताएको छ। समूह अध्यक्ष सुवास सांघाईले यो वर्ष तयारी चियाको माग नै नआएको बताए। ‘हाम्रा बगानले उत्पादन गरेको सबैजसो चिया भारतमै बिक्री हुन्थ्यो,’ उनले भने, ‘यो पटक भारतका व्यापारीले यहाँको चिया किन्नै चाहेका छैनन्, रुस र युक्रेन युद्धको असरले यस्तो भएको भन्ने हामीलाई जबाफ दिएका छन्।’ उनले तयारी चियाको मूल्य ज्यादै कम भएको पनि बताए। सूर्याेदय नगरपालिका–९, सुन्दरपानीमा रहेको गोर्खा टी स्टेटलाई भने चिया बिक्रीमा खासै समस्या छैन। पुरानै व्यापारीले यहाँको चिया खरिद गर्ने भएका छन्। 

तर, समग्रमा गतवर्षहरूजस्तो माग र मूल्य चाहिँ नभएको उद्योगी उदय चापागाईं बताउँछन्। ‘मेरो उद्योगको चिया बेच्न त खासै समस्या छैन,’ उनले भने, ‘तर, मसँग सम्पर्कमै रहेका युरोपका व्यापारीले यो वर्ष नेपालको चिया खासै किन्न रुचाएका छैनन्, किसानदेखि उद्योगीलाई समस्या परेको छ अहिले।’  

उद्योगी चापागाईंले अन्तर्राष्ट्रिय बजारमा चिया किन्ने व्यापारीमा उत्साह नदेखिएको र तयारी चियाको ढुवानी मूल्यसमेत बढेको बताए। ‘सरकारले हाम्रो समस्या कहिल्यै सुनेन, यो भूपरिवेष्ठित देशमा आयात जसरी भइरहेको छ, आयात गराउने विदेशी व्यापारीलाई निर्यातका लागिसमेत प्रोत्साहित गर्नुपर्ने हो, त्यो भएन।’

नेपालबाट वर्षेनी सवा ३ अर्ब रुपैयाँको तयारी चिया निर्यात हुनेगरेको तथ्यांक छ। विदेशी मुद्रा आर्जनको गतिलो स्रोत भएपनि सरकारी सधैं चिया क्षेत्र सरकारको उपेक्षामा परेको किसानदेखि उद्योगीसम्मको गुनासो छ। गुणस्तरीय चिया उत्पादन र विक्रीमा तीनै तहका सरकार उदासीन हुँदा आफूहरू मर्कामा परिरहेको किसान र उद्योगी बताउँछन्।

प्रकाशित: २३ असार २०७९ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App