१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गोरखा बजार र बारपाकको ढल व्यवस्थापन अन्यौलमा

गोरखाको बारपाक गाउँ।

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक (ठूलोगाउँ) को ढल व्यवस्थापनको काम अन्यौलमा पुगेको छ। लामो समयदेखि चर्चामा रहेको यो आयोजना दुई पटक बोलपत्र आह्वान हुँदा कुनै पनि कम्पनीले टेण्डर दाखिला नगरेपछि अनिश्चित बनेको हो।

‘दोस्रो पटक टेण्डरको म्याद शुक्रबार सकियो, कुनै कम्पनी र व्यवसायीले पनि बोलपत्र दाखिला गर्नुभएन’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लमजुङका प्रमुख शेखरचन्द्र केसीले भने ‘अब विभाग सँग सल्लाह गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिन्छौँ।’

दुई वर्षअघि सर्भे गरिएको भएपनि दररेट भने टेण्डर आह्वान गरिएको वर्षको हुने उनले बताए। व्यवसायीले भने निर्माण सामग्रीको दररेट बढेको, पुरानो दररेटमा काम गर्नुपर्दा समस्या हुने भन्दै टेण्डर दाखिला नगरेको चर्चा थियो। असार महिना भित्रै टेण्डर प्रक्रिया अघि बढाएर काम थाल्न चाहेका आयोजना कार्यालयका प्रमुख केसी सफल हुन सकेनन्।

‘नयाँ आर्थिक वर्ष सुरु भएपछि पुन विभागबाट स्विकृत गर्नुपर्छ, केही समय लाग्छ।’ पुन टेण्डर गर्न समय लाग्ने बताउँदै उनले काम करिब छ महिना पछि धकेलिएको बताए। ‘व्यवसायी किन आकर्षित हुन भएन भन्ने थाहै भएन’ उनले भने।

गोरखामा ढल व्यवस्थापनका लागि आव्हान गरिएको ५७ करोड र बारपाकको ढल व्यवस्थापनका लागि आव्हान गरिएको ३७ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो। ‘गोरखाको तीन वर्ष र बारपाकको साँढे दुई वर्षभित्र काम सक्ने योजना हो’ आयोजना प्रमुख केसीले भने ‘टेण्डर नलाग्दा धेरै समय लाग्ने भयो।’

ठूला व्यवसायीले पाँचवटा ठेक्का मात्रै दाखिला गर्न पाउने नियम भएकाले पनि ब्यवशायीले दाखिला नगरेको हुन सक्ने कार्यालयको अनुमान छ। बारपाक र गोरखामा ढलको दीर्घकालीन व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गर्ने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लमजुङले काम गर्नेयोजना बनाएको थियो।

पहिलो चरणको प्रक्रिया नै अघि नबढ्दा गोरखा र बारपाकको ढल व्यवस्थापनको प्रोजेक्ट अघि बढ्न सकेको छैन। निर्माण व्यवसायीले ढलको ठेक्का दाखिला गराउन चासो दिएनन्। निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष सुर्य भण्डारी भन्छन्, ‘यो दुई, तीन वर्षअघि डिपिआर भएर टेण्डर भएको योजना हो, त्यो बेला र अहिले दररेट फरक छ, पुन नयाँ दररेट नआउँदासम्म ठेक्का लाग्ने सम्भावना कम देखिन्छ।’

ठूला व्यवसायीले बजारभाउ अनुसार अहिले काम गर्न नसक्ने बताएको भन्दै उनले यही अवस्थामा तेस्रो पटक टेण्डर भएपनि व्यवसायी इच्छुक नदेखिने दाबी गरे। ‘गोरखामा ढलको काम गर्दा सडक साँघुरो भएकाले बन्द गर्नुपर्छ, यहाँका गाडीहरु पार्किङ गर्ने, गुड्ने वैकल्पिक मार्ग छैन, डाईभर्सन गर्न सहज छैन’, उनले भने, ‘काम गर्ने ठाउँ पनि सहज बनाउनुपर्छ।’

रोड बन्द गरेर काम गर्नुपर्ने बताउँदै उनले त्यसको बिकल्प खोज्न सकिएन भने काम गर्न समस्या हुने बताए। गोरखाको सतिपिपलदेखि आहालेसम्मको बस्तीलाई ढल व्यवस्थापनमा समेट्ने योजना रहेको इन्जिनियर सन्तोष पोखरेलले बताए। ‘अहिले बजारक्षेत्रलाई केन्द्रित गरेर टेण्डर आह्वान गरिएको हो’, उनले भने। अहिले नाली खोल्सीमा फालिएको ढल पाइपलाइनबाट एकैठाउँमा जम्मा गरिन्छ।

एकै ठाउँमा जम्मा भएको ढल गोरखा नगरपालिका भन्दा तल वडा नम्बर ८ र ९ को सिमानामा प्रशोधन गरिन्छ। फोहोर प्रशोधन ‘प्लान्ट’ निर्माण गर्न गोरखा नगरपालिकाले जग्गा उलब्ध गराउने छ। करिब १० रोपनी जग्गा नगरपालिकाले उपलब्ध गराउने गोरखा नगरपालिकाका वातावरण अधिकृत ूुव घिमिरेले बताए।

प्लास्टिकको पाइपबाट ढल संकलन गरेर प्रशोधन गरिन्छ। ढललाई पानीमा मिसाउन योग्य बनाउने गरी ‘प्लान्ट’ ले काम गर्छ। ढल प्रशोधन गरेपछि बजार, बस्ती क्षेत्रको दुर्गन्ध हटाउन मद्दत पुग्छ। भौगोलिक अवस्थाका कारण भने ढल व्यवस्थापनको योजना पूरा गर्न सहज छैन। पाइपलाइनका कारण सडक संरचना भत्कने खतरा रहन्छ।

‘निर्माणका क्रममा भत्किएका संरचना परियोजनाले निर्माण गर्छ’, इन्जिनियर पोखरेलले भने। अहिले जोडिएको पाइपलाइनमा पछि बनेका घरहरुको पनि ढल मिसाउन मिल्ने गरी तयार गरिनेछ। बारपाक वडा नम्बर १ र २ को मुख्य बस्तीबाट संकलन भएको ढललाई प्रशोधन गर्नेगरी योजना बनेको छ। बाक्लो बस्ती रहेको त्यहाँ ढल व्यवस्थापन नगर्दा दुर्गन्धसँगै महामारीको खतरा रहेकाले पनि बारपाक प्राथमिकतामा परेको हो।

प्रकाशित: १८ असार २०७९ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App