१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गबारोले घटायो कफी उत्पादन

गुल्मी- कफीमा लागेको सेतो गबारो नियन्त्रण नहुँदा यस वर्ष गुल्मीमा कफीको उत्पादन ह्वात्तै घटेको छ। गबारोका कारण उत्पादन घटेपछि किसान पनि कफी खेतीबाट विकर्षित हुन थालेका छन्। १५ वर्षअघि ७० मेटि्रकटन कफी उत्पादन गरेको गुल्मीमा यस वर्ष १५ मेटि्रकटन मात्र उत्पादन भएको छ। 'अहिले उत्पादन घटेको छ,' कफी बिक्री वितरणमा समन्वय गरिरहेको जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले भने, 'उत्पादन घट्नुको मुख्य कारण सेतो गवारो नै हो।'अर्ग्यानिक कफी उत्पादनमा विषादी प्रयोग गर्न नहुने भएकाले पनि उत्पादन घटेको हो। अर्ग्यानिक कफीको जिल्ला भनेर चिनिने गुल्मीमा कफी उत्पादनमा कुनै पनि विषादी प्रयोग गर्न जिल्ला कृषि विकास कार्यालयले निरुत्साहित गरेको छ। तर सेतो गबारो नियन्त्रणका लागि विषादीबाहेक कुनै अचुक जैविक उपाय पनि छैन।

संघको ११ औं राष्ट्रिय कफी दिवस कार्यक्रममा सहभागी जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण पाण्डेले सेतो गबारो नियन्त्रण हुन नसकेको स्विकार्दै कार्यालयले कफी खेती गर्न किसान प्रोत्साहित गरीरहेकेा बताए। कार्यालयका बागबानी विकास अधिकृत फटकबहादुर थापाले जिल्लामा वर्षेनी करिब ८६ मेटि्रकटन कफी उत्पादन हुँदै आएको जानकारी दिए। उनका अनुसार जिल्लाभर कुल १ सय ५५ हेक्टरमध्ये ९१ हेक्टर जमिनमा कफी खेती गरिन्छ।

जिल्ला सहकारी संघका व्यवस्थापक युवराज अर्यालका अनुसार यस वर्ष संघमार्फत् कोरिया र जापानमा ७ मेटि्रकटन तयारी कफी निर्यात भयो। आन्तरिक बजारमा ३ मेटि्रकटन खपत भएको छ। 'गत वर्ष १८ मेटि्रकटन तयारी कफी उत्पादन र बिक्री भएको थियो,' उनले भने, 'अहिले जिल्लामा सरदर १६ मेटि्रकटन बिक्री हुन्छ।' किसानले व्यक्तिगत सम्पर्कका माध्यमबाट समेत कफी बिक्री गर्ने गरेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले सेतो गबारो रोग नियन्त्रणका लागि राष्ट्रिय स्तरमै अनुसन्धान भइरहेको बताए।

प्रकाशित: ४ मंसिर २०७२ २०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App