coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बधशाला निर्माण सम्झौता अलपत्रः स्वस्थ मासु खाने पोखराबासीको सपना अधुरै

सम्झौता अनुसार काम भएको भए यतिबेला पोखरामा बधशाला निर्माण भइसक्थ्यो र पोखरेलीले स्वस्थ मासु खान पाउने थिए। अहिलेजस्तो जहाँ पायो त्यही बध गर्ने स्थितिको अन्त्य हुन्थ्यो। त्यत्ति मात्र हो र झिंगा भन्केको मासु बेचेको दृश्य देख्नु पनि पर्दैनथ्यो। न त अव्यवस्थित रुपमा बध गरिएका राँगा, भैंसी, बंगुर र कुखुरा लगायतका पशुपंछीबाट निस्कने फोहोरको दुर्गन्ध नै फैलिने थियो।

तर पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको सम्झौता अनुसार बधशाला निर्माण गर्न सकेन। महानगरले तीनवर्षअघि नै एकवर्ष भित्र पशु बधशाला निर्माण गर्ने गरी मन्त्रालयसँग सहयोग लिने सम्झौता समेत गरेको थियो। तर आफैले गरेको सम्झौता अनुसार महानगरले बधशाला निर्माण गर्न असफल भयो। जसका कारण पोखरेलीले पहिलेजसरी नै मनलाग्दी ठाउँमा बध गरिएको मासु खान बाध्य छन्। अव्यवस्थित रुपमा जथाभावी बध गर्ने स्थिति अहिले पनि कायम छ। दुर्गन्ध घट्नुको सट्टा बढ्दो छ। पोखरेली उपभोक्ता झिंगा भन्केको मासु खान बाध्य छन्। कहिलेकाहिं त खसीको भनेर बाख्रीको मासु बेच्ने गरेको गुनासो पनि सुन्ने गरिएको छ।  

आर्थिक अभावले बधशाला निर्माणमा ढिलाई भएको भने होईन। बरु महानगरको नेतृत्वको ईच्छाशक्ति नै नभएका कारण बधशाला निर्माणले सार्थकता नपाएको हो। महानगरले २४ करोड रुपैयाँको लागतमा अत्याधुनिक बधशाला निर्माण गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको थियो। बधशाला निर्माणका लागि लाग्ने २४ करोड मध्ये संघ सरकारले १० करोड, प्रदेश सरकारले ५ करोड दिने सम्झौता नै भइसकेको छ। त्यसबाहेक हेफर नेपालले नौ करोड रुपैयाँ मुल्य बराबरको बधशालाका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। बाँकी अपुग हुने स्थितिमा महानगर आफैले बेहोर्ने भनिएको थियो।  

तर बधशाला निर्माण नहुँदा संघ र प्रदेश सरकारको बजेट गत वर्ष नै फ्रिज भएर फिर्ता भइसकेको छ। हेफर नेपालले गर्ने भनिएको प्राविधिक सहयोग पनि अहिले गर्ने वा नगर्ने भन्ने अन्यौल देखिएको छ। जसले गर्दा पोखरामा बधशाला निर्माण नै हुन्छ कि हुँदैन भन्ने प्रश्न चिह्न खडा भएको छ।

शुरुमा जग्गा नभेटिएको भन्दै पशु बधशाला निर्माणमा ढिलाई भयो। पछि जग्गा खोज्ने जिम्मा पाएको समितिले पोखरा–२१ मा जग्गा खोजेर ठिक्क पा¥यो तर जग्गा प्राप्ती नभएको भन्दै काम रोकियो। त्यसपछि महानगर त्यो निर्णयबाट पछि हटेर सहारा एकेडेमी र ओशो ध्यान केन्द्रको बीचको खालि जग्गामा बनाउने तयारी ग¥यो। मनव बस्ती पनि नभएकाले बधशाला निर्माणका लागि सो ठाउँ उपयुक्त हुने महानगरको ठम्याई थियो। त्यहाँको जग्गापनि प्राप्ती त भयो तर स्थानीयको अवरोध भनेर निर्माण कार्य अघि बढाइएन। त्यसपछि पोखराकै दक्षिणी क्षेत्रको कुनै वडामा नै बधशाला निर्माण गर्ने तयारी छ तर ठाउँ खुलाउँदा स्थानीय विरोधमा उत्रिने डरले ठाउँको नाम सार्वजनक गरिएको छैन। यद्दपी पशु बधशाला निर्माण कार्य भने अगाडि बढ्न सकेको छैन।

निर्माण गर्ने भनिएको तीनवर्ष बित्दापनि बधशाला निर्माण नहुनुमा महानगर नेतृत्व र कर्मचारीको ईच्छाशक्ति नपुगेको देखिन्छ। उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपीलनाथ कोइराला महानगरपालिकाको उदासिनताका कारण बधशाला निर्माणमा ढिलाई भएको बताउँछन्। ‘बधशाला निर्माणका लागि पैसा पनि छ अनि जग्गा पनि पाइएकै हो, तर जनप्रतिनिधि र कर्मचारीको उदासिनताका कारण अहिलेसम्म बधशाला निर्माण भएन,’ उनले भने। 

जनप्रतिनिधि र कर्मचारीहरु काम गर्नु भन्दा बधशालाको नाममा अध्ययन अवलोकन जाने र घुमघाम गर्ने ध्याउन्नमा लागेको आरोप लगाउँदै उनले थपे, ‘विदेश जाने मस्ती गर्ने काम मात्र गरे। अध्ययनका नाममा कहिले अमेरिका त कहिले यूरोपियन देश, अनि कहिले दिल्ली जाने काम भयो, तर बधशाला बनाउन काम गर्ने ईच्छा न जनप्रतिनिधिले देखाए नत कर्मचारीले नै।’

पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख नवराज अधिकारी भने कर्मचारीले भन्दा पनि जनप्रतिनिधिका कारण काम अघि बढ्न नसकेको बताउँछन्। ‘कर्मचारीको काम निर्णय भएको कुरा कार्यान्वयन गर्ने हो,’ उनले भने, ‘तर निर्णय गर्ने त जनप्रतिनिधिले नै हो। त्यहि निर्णय नहुँदा बधशाला निर्माण कार्य अघि बढ्न सकेन।’ जग्गा प्राप्तीमा होस् वा स्थानियको विरोध आउँदा जनप्रतिनिधिले ‘बोल्ड डिसिजन’ गर्नुपर्ने हो,’ उनले थपे, ‘तर शुरुमा निर्णय नै भएन। त्यसपछि तत्कालीन मेयर मानबहादुर जिसी ज्यू बिरामी हुनु भयो त्यसपछि भने कसैको पनि त्यसतर्फ ध्यान गएन।’ उनले नयाँ मेयर धनराज आचार्यसँग पनि यसबारे छलफल गरि नसकेकाले कहिलेदेखि निर्माण शुरु हुन्छ यसै भन्न नसकिने बताए। तर निर्माण गर्नेमा भने द्विविधा नरहेको उनको प्रष्टोक्ती छ।

ोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि पोखरामा अत्याधुनिक बधशाला निर्माण गर्नुपर्छ भन्नेमा महानगर दृढ रहेको बताउँछन्। तर अहिलेसम्म किन बनेन भन्नेबारमा आफू अनभिज्ञ रहेको उनको भनाई छ।  ‘बधशाला बनाउनुपर्छ भन्नेमा आशंका छैन। तर पहिले किन बनेन ? बनाउनका लागि कसले सहयोग गर्ने भनेका थिए त्यो बारे जानकारी भएन। अब महानगरको बजेट पारित भएपछि यसबारे सरोकारवालाहरुसँग बसेर निर्णय गर्छौ,’ उनले भने।

हाल बनाउन लागिएको बधशाला अत्याधुनिक हुने महानगरले जनाएको छ। एक हजार वटा खसी बोकासम्म एकै दिन बध गर्न मिल्नेगरी बधशाला निर्माण गर्न लागिएको पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार खसी–बोका काट्ने अत्याधुनिक मेसिन ल्याइनेछ। बधशालामा पशुु बध गर्नुअघि त्यसको स्वास्थ्य परीक्षण गरिने उनले बताए। उनका अनुसार पशुु स्वस्थ रहेको प्रमाणित भएपछि मात्रै बध गरिनेछ।  

अस्वस्थ खसी–बोका भने नकाटिने उनले स्पष्ट पारे। बध गरिसकेपछि त्यसको मासु, छाला, आन्द्राभुँडी, खुट्टा, हड्डी लगायत छुट्याइनेछ। काटिएको मासु प्याकेजिङ गरेर टाँचा मारेपछि बजारमा जाने व्यवस्था गरिने उनले जानकारी दिए। बधशाला निर्माण भएपछि बाहिर खुल्ला रुपमा खसीबोका काट्न नपाइने उनले बताए। त्यस्तै, कुखुराको लागि पनि छुट्टै बधशाला निर्माण गरिनेछ। महानगरले राँगा, भैसी र बंगुरका लागि पनि छुट्टाछुट्टै बधशाला निर्माण गर्ने जनाएको छ।

प्रकाशित: १४ असार २०७९ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App