२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सातामा नेप्से परिसूचक ११० बिन्दुले घट्यो

लगानीकर्ताले सेयर खरिदमा चासो नदेखाएपछि गत एक सातामा नेप्से परिसूचक करिब ११० बिन्दुले घटेको छ।

यो साताका ६ कार्य दिनमा चार दिन कारोबारमा गिरावट आएको छ भने २ कार्य दिनमा सुधार आएको छ । साताका सुरुका दुई दिन आइतबार र सोमबारमा ८६ बिन्दुले गिरावट आएको नेप्से तेस्रो दिन मंगलबार ३९ बिन्दुले बढेको थियो। गत बुधबार र बिहीबार फेरि ७६ बिन्दुले नेप्से परिसूचक घटेकामा अन्तिम दिन शुक्रबार १३ बिन्दुले बढ्न पुगेको थियो। साताभरको कारोबारलाई हेर्दा नेप्से परिसूचक करिब एक सय १० बिन्दुले घट्न पुगेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन शुक्रबारको कारोबारमा नेप्से परिसूचक १३.७८ बिन्दुले बढेर १८६२.०२ बिन्दुमा पुगेको छ। शुक्रबारको कारोबार ०.७५ प्रतिशतको वृद्धि हो।

एक्सचेञ्जका अनुसार शुक्रबार १८४८ बिन्दुबाट सुरु भएको कारोबारमा दिनभर उतारचढाव आइरहेको थियो। शुक्रबार नेप्से परिसूचक अधिकतम १८७९ र न्यूनतम १८०८ बिन्दुसम्म झरेको थियो। बजार बन्द हुँदा भने नेप्से १८६२ बिन्दुमा रोकिएको हो।

एक्सचेञ्जका अनुसार शुक्रबार नेप्से बाहेक तीन प्रमुख सूचक सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा सुधार आएको छ। सेन्सेटिभ २ र फ्लोट एंव सेन्सेटिभ फ्लोट १ प्रतिशतभन्दा धेरै बिन्दुले बढेका छन्।

सेयर बजारका अन्य १३ उपसूचकमध्ये १२ उपसूचकको कारोबारमा सुधार आएको छ भने एउटा उपसूचकमा गिरावट आएको छ। कारोबारमा सुधार आउने उपसूचकमध्ये २ उपसूचक मात्र एक सयभन्दा धेरै बिन्दुले बढेका छन्।

सबैभन्दा धेरै जीवन बिमा उपसूचक १३१ बिन्दुले बढेको छ भने निर्जीवन बिमा १२८ बिन्दुले बढेको छ। यस्तै धेरै बढ्नेमा तेस्रोमा रहेको विकास बैंक ५७ बिन्दुले बढेको छ। उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, फाइनान्स लगायत उपसूचक ५० बिन्दुभन्दा कमले मात्र बढेका छन्। कारोबारमा सबैभन्दा कम बिन्दुले बढ्नेमा लगानी उपसमूह ०.२६ रहेको छ भने बैंकिङ उपसूचक २.३७ बिन्दुले बढेको छ।

यस्तै सामूहिक लगानी कोष कारोबारमा गिरावट आउने एउटा मात्र उपसूचकमा परेको छ। यो उपसूचक ०.०९ बिन्दुले घटेको हो।

एक्सचेञ्जका अनुसार शुक्रबारको कारोबारमा १५० वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने ४१ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै ३ वटा कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढेको छ। यो कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै सीवाईसी नेपाल लघुवित्तको सेयर ८.२१ प्रतिशतले बढेको छ भने अन्य २ कम्पनीको प्रतिसेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको छ।

यस्तै कारोबार भएका कम्पनीमध्ये प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा आँधीखोला लघुवित्त परेको छ। यसको प्रतिसेयर मूल्य ७.८८ प्रतिशतले घटेको हो। यस्तै मेघा म्युचल फण्ड १ को पनि सेयर मुल्य ६.९२ प्रतिशतले घटेको छ।

एक्सचेञ्जका अनुसार र कमका आधारमा सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ। यसको ८ करोड ६३ लाख १२ हजार रूपैयाँको कारोबार भएको हो। यस्तै न्याग्दी ग्रुप पावरको ६ करोड ३१ लाख र लक्ष्मी बैंकको ४ करोड ७६ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।

सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर कुमारी बैंकको भएको छ। यसका ४ लाख ३८ हजार ८ सय ५१ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै लक्ष्मी बैंकका २ लाख ३६ हजार ६ सय १८ र न्याग्दी ग्रुपका १ लाख २१ हजार ४ सय ८० कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार शुक्रबार २२३ कम्पनीका ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि एक अर्ब १५ करोड १२ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर २६ खर्ब ५४ अर्ब रूपैयाँमा आएको छ।

बजार सुधार्न सम्झौता

यसैबीच पुँजी बजार विस्तार तथा सुधारका लागि गठित संघर्ष समिति र धितोपत्र बोर्डबीच सम्झौता भएको छ।

बोर्ड र समितिबीच भएको १९ बुँदे सहमतिपत्रमा बोर्डका अध्यक्ष रमेशकुमार हमाल र समितिका तर्फबाट अनशनकारी तिलक कोइरालाले हस्ताक्षर गरेका छन्। यससँगै सेयर बजार सुधारको माग राखेर यही असार १ देखि आमरण अनसनमा बसेका कोइरालाले पनि अनशन तोडेका छन्।

यो सम्झौता कार्यान्वयन गर्न बोर्ड र समितिका तर्फबाट संयुक्त समिति बनाइएको बताइएको छ।

कार्यान्वयन समितिमा  बोर्डबाट कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ रहेका छन् भने सघर्ष समितिबाट रोहन कार्की र एसपी चौलागाईंलाई राखिएको छ।

प्रकाशित: १२ असार २०७९ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App