१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा महानगरको बजेट पौने ९ अर्ब

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्दै उप–उपप्रमुख मञ्जुदेवी गुरुङ। तस्बिरः उमेश पुन/नागरिक

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि पौने ९ अर्बको बजेट ल्याएको छ। महानगरपालिकाको ११ औं नगरसभामा शुक्रबार उप–प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो चालु वर्षको भन्दा २ अर्ब ३६ करोड ६५ लाखले बढी हो। चालु वर्षको बजेट ६ अर्ब ४१ करोड ११ लाखको छ।

अपराह्न ४ बजे नै बजेट प्रस्तुत गर्ने भनिएपनि साँझ ६ बजे मात्रै बजेट प्रस्तुत गरिएको थियो। शुरुमा बजेट प्रस्तुत गर्ने समयमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेट वक्तव्य आउनु अघि नै रातो किताव प्रकाशित गरिएको भन्दै बजेट प्रस्तुत गर्न लाग्दा अवरोध गरेका थिए। नाराबाजी र रोष्टम घेराउ गर्नुका साथै बहिस्कारसमेत घोषणा गरेपछि महानगर प्रमुख धनराज आचार्यले नगर सभा केहिबेरका लागि स्थगित गरेका थिए। सभा स्थगित गरेर एमाले जनप्रतिनिधिसँग छलफल गरेर सहमति जुटाएपछि मात्रै बजेट प्रस्तुत गरिएको हो। वार्तामा प्रमुख आचार्यले बजेट वक्तव्य अघि रातो किताव छापिनु गल्ती भएको भन्दै यसलाई सच्याउने प्रतिबद्धता जनाएपछि बजेट प्रस्तुत गर्न एमाले जनप्रतिनिधिहरु सहमत भएका थिए।

महानगरको विहीबार प्रस्तुत बजेटमध्ये सङ्घीय सरकार अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकारको अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आम्दानीबाट ३ अर्ब १ करोडबाट प्राप्त हुने उप–प्रमुख गुरुङले उल्लेख गरिन्। उनले सङ्घीय राजश्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ४२ लाख ५२ हजारबाट प्राप्त हुने बताइन्।

महानगरले २ अर्ब ४० करोड ८१ लाख घाटा बजेट ल्याएको छ। जुन बजेट चालु आर्थिक वर्षको मौज्दातबाट बेहोरिने उप–प्रमुख गुरुङले बताइन्।

महानगरको बजेटमा पूर्वाधार विकासतर्फ ४ अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ ए १ अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा २ अर्ब ६ करोड ९२ लाख, शिक्षामा  १ अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यमा ५० करोड ५ लाख, कृषिमा १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयका लागि ७२ करोड ६० लाख विनियोजन गरिएको छ।

महानगरको बजेटमा पोखरा गौरवका आयोजनाका लागि ६५ करोड, विनियोजन  गरिएको छ। पर्यटनस्थलको पूर्वाधार विकास अन्तर्गत पर्यटकीय केन्द्रहरु, लेकसाइडको सौन्दर्यकरण, सुविधासहितको ल्याण्डफिल साइट निर्माण, अटो भिलेज निर्माणलाई प्राथमिकतामा राखेर बजेट छुट्याईको छ। त्यस्तै पटकपटक बजेटमा परेरपनि निर्माण शुरु नभएको पोखरा चक्रपथका लागिपनि बजेट विनियोजन गरिएको छ। महानगरको बजेटमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखराको पर्यटकीय केन्द्र लेकसाइड सम्मको फास्टट्रयाक निर्माणका लागिपनि बजेट छुट्याइएको छ। उम्मेदवार हुँदा नै घोषणा गरिएको यो फास्टट्रयाक निर्माणका लागि प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हो।

महानगरले चालू वर्ष निर्माण सुरु भएका विभिन्न १५ वटा कनेक्टिङ सडक, १० वटा शहरी सडक तथा १५ वटा ग्रामीण सडकहरुलाई क्रमागत र बहुवर्षीय योजनामा राखेर ५५ करोड बजेट विनियोजन गरेको छ। महानगर भित्रका मुख्यमुख्य सडकहरुमा अस्फाल्ट पिच सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिदै १५ करोड बजेट विनियोजन गरेको छ।  

महानगरको बजेटमा तालचोकदेखि बेगनास तालसम्मको सडक खण्डलाई नमूना सडक बनाउने योजनालाई कार्यान्वयन गर्न बजेट छुट्याएको छ। त्यस्तै सो सडक खण्डमा दुईतर्फी साइकल लेन र हरियाली जोेनसहितको पैदल ट्रयाक निर्माणसमेत गरिने उप–प्रमुख गुरुङले बताइन्।

महानगरले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न पेट्रोल पम्प र आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्ने भन्दै बजेट विनियोजन गरेको छ। बजेटमा महानगरका सबै वडाहरुमा एक वडा, एक स्मार्ट शौचालय बनाउने नीति कार्यान्वयनका लागि ५ करोड विनियोजन गरिएको छ।

प्रकाशित: ११ असार २०७९ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App