१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

१७ दिनपछि पोखरा–जोमसोम उडान

मंगलबार बिहान पोखराबाट उडेर जोमसोम अवतरण गरेको समिट एयरको जहाज। तस्बिरः नागरिक

अघिल्लो महिना भएको तारा एयरको जहाज दुर्घटनापछि रोकिएको पोखरा–जोमसोम हवाई उडान मंगलबारदेखि सुचारु भएको छ। समिट एयरले मंगलबार यो रुटमा चारवटा उडान गरेको छ। ताराको दुर्घटनापछि मौसममा खराबी आएको भन्दै पोखरा–जोमसोम रुटका सबैजसो उडान रोकिँदै आएका थिए।  

समिट एयरलाईन्सका पोखरास्थित स्टेशन म्यानेजर पोषणमणि त्रिपाठीका अनुसार मंगलबार चारवटा उडान भएका छन। यो रुटमा उड्नेमा यतिबेला भारतीय तीर्थयात्री अधिक रहेको उनले बताए। उनका अनुसार यसअघि नियमित उडान नहुनु र मौसम खराब भएको भन्ने सन्देश फैलिँदा उडान प्रभावित भएका थिए। त्यसबाहेक हवाई उडड्यन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि उडान र अवतरण हुने पुरै रुटको मौसम सफा भएको यकिन गरेर मात्र उडान अनुमति दिने भन्दै कडाई गरेपनि पोखरा–जोमसोम रुटका उडान प्रभावित भएका थिए।  

त्रिपाठीका अनुसार यसअघि पनि केही उडान रद्द भएका थिए। ‘१७ दिनपछि बल्ल पोखरा–जोमसोम उडान सुरु भएको हो। जुन ४ पछि यो रुटमा कुनैपनि उडान हुन सकेका थिएनन,’ उनले भने, ‘जुन ४ मा पाँचवटा उडान भएपनि त्यसपछिका सबै उडान रोकिएका थिए।’ उनका अनुसार नियमित उडान हुन नसक्दा यात्रुले पनि बुकिङ रद्द गर्ने गरेका थिए। ‘पोखरा–जोमसोमको रुट असुरक्षित रहेको, मौसमले अप्ठेरो पार्ने गरेको र उडान नियमित नभएको भन्ने सन्देश फैलिँदा तोकिएको उडान पनि हुन सकेको थिएन,’ उनले भने, ‘तर, मंगलबारदेखि नियमित उडान सुरु भएको छ।’

उनका अनुसार यो बीचमा पोखराको मौसममा नियमित रुपमै समस्या हुने गरेको थियो। बिहान ६ बजे नै खुल्ने पोखरा विमानस्थल वर्षाका कारण ९–१० बजेतिर मात्र खुल्ने गरेको थियो। त्यसले गर्दा पनि जोमसोमका उडान हुन सकेको थिएन। ‘यो बेला भारतीय पाहुनाको आगमन राम्रो छ भारतीय पाहुनाका कारण यो बेला पोखरा–जोमसोम रुटमा उडानको माग रहेको पनि उनले बताए। ‘कतिपय भारतीय पाहुना हवाई उडान नहुँदा सकसपूर्ण रुपमा स्थलमार्गबाट मुक्तिनाथसम्म आउजाउ गर्न बाध्य भए,’ उनले भने, ‘अब नियमित उडान गर्न पाएमा ती भारतीय पर्यटकलाई पनि राहत हुनेछ।’  

जेठको १५ गते पोखरा–जोमसोम उडानको क्रममा तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परेको थियो। ताराको यो दुर्घटनापछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा भएको निश्चित नभएसम्म आन्तरिक उडानका लागि अनुमति नदिने भनेर निर्णय समेत गरेको थियो। त्यही निर्णयपछि दुर्गम भेगका उडान प्रभावित हुँदै आएका थिए।  

दुर्घटना अघि निजी क्षेत्रका तारा र समिट एयरले मात्र यो रुटमा हवाई उडान गर्दै आएका थिए। तर, ताराको जहाज दुर्घटनाको कारण मौसम खराबी हुन सक्ने आँकलन गर्दै ‘इनरुट’(विमान उड्ने र अवतरण हुने विमाननस्थल) को मौसम सफा हुनुपर्ने, अन्यथा उडान अनुमति नदिने भन्ने प्राधिकरणले निर्णय गरेको थियो।  

ताराको यो जहाज दुर्घटनाको कारण मौसम खराबी हुनसक्ने प्रारम्भिक आँकलन प्राधिकरणको थियो। त्यसपछि हवाई उडानमा मौसमी समस्या भन्दै ‘इनरुट’ को मौसम सफा हुनुपर्ने भन्दै प्राधिकरणले कडाई गरेको थियो। प्राधिकरणको त्यही कडाईपछि अहिले पोखरा–जोमसोमका सबै उडान दुइसातासम्म रोकिएको हवाई कम्पनिले बताएका छन्।  

प्रकाशित: ७ असार २०७९ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App