१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

पैसा बगेको बग्यै, २० वर्ष बित्यो पानी बगेन!

कुन्दुरटार सिंचाई आयोजनाको अवरुद्ध नहर।

दरौँदी नदीबाट पानी ल्याएर पाँच सय हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने उद्देश्यले निर्माण सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा सुरु भएको २० वर्ष बित्यो तर अझै नहरमा पानी बगेको छैन।

गोरखा नगरपालिका वडा नं. १०, ११ र १२ मा पर्ने खेतियोग्य जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनाको काम २०६२ मा रोकियो। २०७६ सालदेखि गोरखामा आयोजना कार्यालय स्थापना गरेर काम सुरु भयो।

पालुङ्टार कुन्दुरटार सिंचाई आयोजनाले २०७६ वैशाख १ गतेदेखि टेण्डर गराएर नहर निर्माणको काम थाल्यो। निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा तीन वर्षमा पनि थालेको काम अधुरै छ। मुहानदेखि ३४ सय मिटरसम्मको पहिलो प्याकेज र ३४ सय मिटरदेखि ६३ सय मिटरसम्मको दोस्रो प्याकेजको ठेक्का अन्नपूर्ण कन्ट्रक्सनले लिएको हो।

करिब दुई करोडमा लिइएको ठेक्काको काम अहिलेसम्म सम्पन्न भएको छैन। ‘नहर मर्मतको ठेक्का हो, चार पाँच पटक पत्राचार गरेर छिटो निर्माण सक्न भनेका छौँ’, आयोजना प्रमुख दिनेश आचार्यले भने,‘पहिलो प्याकेजको ४० प्रतिशत भौतिक प्रगति र करिब २५ प्रतिशत वित्तीय प्रगति भएको छ।’ दोस्रो प्याकेजको भौतिक प्रगति करिब २८ प्रतिशत रहेको आचार्यले बताए।

नहरसम्म जाने सडक नभएको, कामदार बस्ने ठाउँ सहज नरहेको, निर्माण सामग्री बोकेर ढुवानी गर्नुपर्ने बाध्यता रहेको कारण देखाउँदै निर्माण ब्यवशायीले काममा ढिलासुस्ती गरेका छन्। ६३ सयदेखि ७८ सयसम्मको रुद्रेश्वर कन्ट्रक्शनले निर्माणको जिम्मा लिएको छ। करिब एक करोडको ठेक्का लागेको उक्त आयोजनामा ६० प्रतिशत काम सकिएको छ।

‘पुस मसान्तसम्म सक्नुपर्ने उक्त प्याकेजको काममा कछुवा गति देखिन्छ’ उनले भने। कुन्दुरटार कुलो सरसफाई गर्ने काम उपभोक्ता समितिले पनि जिम्मा लिएको छ। ६० लाख भन्दाबढिको काममा अहिलेसम्म करिब १६ लाखको मात्र प्रगति रहेको आयोजनाका इन्जिनियर भानुभक्त बरालले बताए। ‘वैशाखमा सम्झौता भएर काम सुरु भएको हो, तर सन्तोषजनक रुपमा काम भएको छैन’ इन्जिनियर बरालले भने ‘अहिले पनि काम भने भइरहेको छ।’

नहरमा बगेको माटो फाल्ने, झाडी पन्छाउने, सरसफाई गर्ने पानी चलेको ठाउँसम्म नियमित पानी चल्ने बनाउने जिम्मा उपभोक्ता समितिले लिएको हो। यसअघि उक्त नहर आठ किलोमिटरसम्म मात्रै निर्माण भएको थियो। १७ किलोमिटर निर्माण गर्नुपर्नेमा अझै नौ किलोमिटर बाँकी छ। अहिले ठेक्का लागेको सातसय ७३ मिटर निर्माण पूरा भएपछि छेवेटारको थप एकसय हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने आयोजना कार्यालयले जनाएको छ।

यसअघि नहर चलेको ठाउँसम्म करिब सय हेक्टरमा नहरले सिंचाई सुविधा दिँदै आएको छ। ‘यो धेरै पुरानो आयोजना थियो, अहिले निर्माण गर्दा पहिले नहरको नक्सा कोरिएको ठाउँमा घर बनेको छ, गोठ बनेको छ’ आयोजना प्रमुख आचार्यले भने। २०५९ सालमा प्राविधिकहरुले करिब पाँच करोड नहर पुरा गर्न सकिने स्टमेट गरेका थिए।

आयोजनाको काम नहुँदा अहिले लागत लागत कयौँ गुणा बढेको छ। निरन्तर काम भएको खण्डमा पनि वर्ष बढ्दै जाँदा लागत थपिँदै जानेछ। सिंचाई आयोजना संचालन नहुँदा अहिले छेवेटार, दशकिलो, कुन्दुरटार लगायत ठाउँका जमिन बाँझो छ।

खेतीयोग्य जमिनलाई इट्टाभट्टा र व्यवसायीक पशुपालन, कुखुरापालनमा प्रयोग गरिएको छ भने केही चउर बनेर बाँझो बसेको छ। आयोजनामा पानी संचालन भएपछि व्यवसायीक तरकारी खेती र कृषि उत्पादन व्यवसायीकता बढ्ने गोरखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष प्रदीप कुँवर बताउँछन्।

प्रकाशित: ४ असार २०७९ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App