५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्णाली प्रदेश: प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर पुग्ने अनुमान

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशको प्रतिव्यक्ति आयमा वृद्धि भएको जनाएको छ।

कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १२ औं बैठकमा पेश भएको आर्थिक सर्वेक्षण २०७८/०७९ मा प्रतिव्यक्ति आयमा ९६४ अमेरिकी डलर पुग्ने अनुमान रहेको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बताए। नेपालको प्रतिव्यक्ति आय कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा एक हजार तीन सय ८१ अमेरिकी डलर रहने अनुमान गर्दै कर्णाली प्रदेशको प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादनको ९६४ अमेरिकी डलर रहने प्रदेश सरकारले अनुमान गरेको छ।

आर्थिक सर्वेक्षण पेश गर्दै मन्त्रालयको सीमित स्रोत साधन र मौजुदा जनशक्तिबाट छोटो समयमा उपलब्ध तथ्याङ्कको अधारमा विवरण तयार भएको मन्त्री विष्टको भनाइ छ। आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीको कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनको वृद्धिदर उपभोक्ताको मूल्यका आधारमा ५.८४ प्रतिशत र आर्थिक वृद्धिदर ५.४९ प्रतिशत रहने अनुमान प्रदेश सरकारको छ। गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.२५ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७८/०७९ मा कुल राष्ट्रिय गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रहने अनुमान प्रदेश सरकारको छ। गत आर्थिक वर्षमा राष्ट्रिय गार्हस्थ्य उत्पादन ४२ खर्ब ७७ अर्ब ३० करोड रहेको थियो। यस्तै चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर ५.४७ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यसको वृद्धिदर ४.३४ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोेक्ता मूल्यका आधारमा १ खर्ब ९७ अर्ब ९९ करोड रहने अनुमान गरिएकोमा गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन एक खर्ब ७५ अर्ब ५५ करोड रहेको थियो। यस्तै आर्थिक वर्ष २०७५/०७६ मा कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको अंश ३.९४ रहेको थियो भने चालु आर्थिक वर्षमा यो अंक बढेर ४.०८ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेशको कृषि क्षेत्रको वृद्धिदर ३.२२ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धि दर ६.५० प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यो वृद्धिदर क्रमशः ३.४४ प्रतिशत र ४.१६ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पानमा कृषि उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१ दशमलव ५ प्रतिशत, ११ दशमलव १ र ५७ दशमलव ४ प्रतिशत रहने अनुमान प्रदेश सरकारको छ।

नेपालको बहुआयामिक राष्ट्रिय गरिबी दर राष्ट्रिय औषतमा १७ दशमलव ४० प्रतिशत रहको छ भने कर्णालीको गरिबी दर ३९ दशमलव ५ प्रतिशत छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेश सरकारको खर्च गत वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ६८ प्रतिशत वृद्धि भई ८ अर्ब चार करोड ११ लाख पुगेको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्म चालुतर्फ चार अर्ब एक करोड पचास लाख खर्च हुँदा पुँजीगततर्फ चार अर्ब दुई करोड ६१ लाख खर्च भएको प्रदेश सरकारले जनाएको छ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीका लागि संघीय सरकारको तर्फबाट समानिकरण, सशर्त, समपूरक र विशेष गरी १४ अर्ब ६४ करोड १४ लाख ८३ हजार अनुदान प्राप्त भएकोमा १२ अर्ब ९५ करोड ७२ लाख ९० हजारबराबर खर्च भएको छ। आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक राजस्वतर्फ २३ करोड ४४ लाख ७४ हजार प्राप्त भएकोमा आर्थिक वर्ष ०७७/०७८ मा ६३ करोड ९४ लाख ९२ हजार राजस्व प्राप्त भएको प्रदेश सरकारले जनाएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सरकारले ४४ करोड ४३ लाख ८२ हजार राजस्व प्राप्त गरेको छ। यो तथ्यांक राजस्व प्राप्ति लक्ष्यको ७४.१ प्रतिशत हो। कर्णालीमा २०७८ फागुन मसान्तसम्म वाणिज्य बैंकको संख्या एक सय ९७, विकास बैंकको संख्या २१, वित्त कम्पनी ३ तथा लघुवित्त विकास संस्था दुई सय ३० गरी कुल चार सय ५१ बैंक र वित्तीय संस्थाका शाखा पुगेका छन्।

गत वर्ष यो संख्या चार सय १२ रहेको थियो। आर्थिक वर्ष २०७८/७९ मा देशभर धानबालीको उत्पादन ५१ लाख ३० हजार ६ सय २५ मेट्रिकटन रहने अनुमान गरिँदा कर्णालीमा एक लाख २५ हजार एक सय ८७ मेट्रिकटन धान उत्पादन हुने अनुमान प्रदेश सरकारको छ।

प्रकाशित: ३० जेष्ठ २०७९ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App