४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

सदरमुकामका होटल रेस्टुरेन्टहरुलाई गुणस्तरीय बनाउन खाद्य डिभिजनको आग्रह

होटलका कुक (सेफ)लाई पहिरन लगाउन आग्रह गर्दै डिभिजन प्रमुख दाहाल। तस्विरः महेश्वर/नागरिक

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले सदरमुकामका होटल, रेस्टुरेन्ट र खाजा घरहरुलाई गुणस्तरीय सामग्री मात्र बिक्री बितरण गर्न गराउन आग्रह गरेको छ। केहीदिनयता डिभिजनले अनुगमन थाल्दै मानव स्वास्थ्यसँग सम्बन्धित खानेकुरा गुणस्तरीय नभए निशंकोच कारबाही गर्ने चेतावनी दिएको छ।  

सदरमुकाममै गुणस्तरीय खानेकुराको कमी भएको जनगुनासो आएपछि डिभिजनले यो कदम चालेको हो। गाईघाट, बोक्से, पुरानो गाईघाट, बसपार्कलगायत बिभिन्न बजारका होटल, रेस्टुरेन्ट र खाजा घरहरुमा गुणस्तरहीन खाद्य सामग्री प्रयोग तथा बिक्री बितरण हुने गरेको जनगुनासो आएपछि डिभिजनले अनुगमनलाई कडाई गर्न थालेको जनाएको छ। खाद्य पदार्थ भनेको मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण भएकाले यसमा कसैबाट लापरबाही र हेलचेक्रयाई हुन नहुने भन्दै अव नियमित अनुगमन गर्न डिभिजन कार्यालय प्रमुख रमेश दाहालले बताए।  

प्रमुख दाहालका अनुसार गाईघाट बजारक्षेत्र र सदरमुकामसमेत रहेकाले धेरै मान्छेको आउजाउ र चलखेल बढी हुने हुँदा तयारी खाना (फास्ट फुड)को बिक्री बितरण धेरै हुने गरेको छ। उपभोक्ताहरु कामको हतारोमा हुने भएकाले फास्टफुडको माग बढी हुने गरेको तर, भोक लागेको बेला खाएको खाना, नास्ताले उनीहरुको स्वास्थ्यमा असर गर्न नहुने भएकाले डिभिजन त्यसप्रति सचेत भएको हो।  

‘खाने कुरा भनेको मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण कुरा हो, त्यसैले यसबारे कसैले लापरबाही गर्नु हुन्न’ डिभिजन प्रमुख दाहालले भने ‘खानेकुरामा सामान्य त्रुटी भयो भने पनि स्वास्थ्यमा गम्भीर असर गर्छ, जसले मान्छेलाई बिरामी बनाउने तथा मृत्युको मुखमा पु¥याउन सक्छ, त्यसैले यसलाई ख्याल ठट्टा मान्नु हुँदैन।’ होटल तथा रेस्टुरेन्ट सञ्चालकहरुले उपभोक्ताको हितलाई ध्यानमा राखेर मत्र व्यवसाय सञ्चालन गर्नुपर्ने डिभिजनको मान्यता रहेको उनले बताए।  

यसअघि पनि बेलाबेलामा डिभिजनले होटल तथा रेस्टुरेन्टहरुमा अनुगमन गर्ने गरेको र गल्ती कमजोारी गर्नेहरुलाई तत्काल जरिवाना तिराउनुका साथै थप कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको दाहालले बताए। खाद्य पदार्थमा लापरबाही गर्ने कोही व्यवसायी माफीका लायक नरहने भन्दै उनले जानी जानी गल्ती गर्ने र अन्जानमा गल्ती गर्नेलाई छुट्याएर कारबाही गर्ने गरेको दाहालले बताए।  

होटल, रेस्टुरेन्ट र खाजा घरबाहेक डिभिजनले बेलाबेलामा खाद्यान्न पसल, किराना र अन्य खाद्यसँग सम्बन्धित उद्योग र कलकारखानाको पनि अनुगमन गर्ने गरेको छ। सबैखाले व्यवसायको अनुगमन गर्ने निकाय भने जिल्ला प्रशासन कार्यालय हुने गरेको हुनाले डिभिजनले समन्वयमा संयुक्त अनुगमन गर्ने गरेको दाहालको भनाई छ।  

उदयपुृर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुसम्म ४ जिल्लाको अनुगमन तथा नियमन गर्ने जिम्मा पाएको डिभिजनले आवश्यक जनशक्ति र भौतिक सुविधा अभावमा बढीजसो उदयपुरमा मात्र केन्द्रित हुनु परिरहेको छ। जिल्ला सदरमुकाम गाईघाट, चौदण्डीगढी, बेलका, कटारीका बिभिन्न सहरोन्मुख र बजारोन्मुख स्थानहरुको नियमित अनुगमन गर्ने गरेको उनले बताए। तर, जिल्लाको टाढाका बजार र अन्य जिल्लाहरु जानु परे जनशक्ति, सवारी साधन र उपकरण अभावमा समस्या भईरहेको दाहालको गुनासो छ।  

उनका अनुसार डिभिजनलाई एकातिर दक्ष जनशक्ति अभाव छ भने अर्कातिर यन्त्र उपकरण र सवारी साधन तथा कार्यालय सञ्चालनका लागि आवश्यक बजेट अभाव छ। स्रोत साधन र बजेट सीमित रहेको तर, काम र जिम्मेबारी धेरै भएकाले सोँचेजस्तो काम गर्न नसकेको उनले बताए। आवश्यक जनशक्ति, बजेट र भौतिक यन्त्र उपकरणहरुको माग गर्दै आए पनि सरकारले उपलब्ध नगराएको गुनासो दाहालले गरे।

प्रकाशित: २७ जेष्ठ २०७९ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App